"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।
वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।
पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"
भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।
तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन केसी सरको डायलग पछि यति तीतो भो मैले दुई काँटापछि थप खाना सकिनँ ।
त्यसदिन यता खाना पाए भन्दैमा हसुर्ने बानी मेरो एकदम सँग बन्द भो । धन्यबाद मेयर साहब !
तर म एउटा बबुरोको बानी सुध्रेर सबै नेपालीको बानी सुध्रिजाला भन्न कसरी सकियो र ? त्यो त सकिने कुरा पनि भएन । तर केसी सरले मलाई उसबेला एउटै डायलग मारेर मेरो एउटा खराब बानी सुधार गर्न सके भने मैले पनि एउटा ब्लग लेखेर कतै केहि हन्तकालीहरूको बानीमा सुधार पो आइहाल्छ कि भन्ठानेर आज यो ब्लग लेख्तै छु ।
प्रिय हन्तकालीहरू,
फिनल्याण्डका विभिन्न शहरमा बसाइँ सरी आएका मेरा प्यारा हन्तकालीहरू हो, कुनै दिन सम्म म पनि तिमीहरू जस्तै हन्तकाली नै थिएँ भन्ने कुरो त तिमीहरूले यो ब्लगपोष्टको शुरूमैं पत्तो पाइसकेको कुरो भो । फलतः मेरो सम्बोधनले तिमी झस्किनु पर्ने, सन्किनु या रन्किनु पर्ने कुनै ठोस कारण रहेन ।
फिनल्याण्ड मात्र नभै स्विडेन, जर्मनी, अमेरिकाका केहि राज्यहरू, क्यानडा र अन्य केहि देशहरूमा नगरपालिकाहरूले सार्वजनिक जग्गामा आम मानिसहरूको समान पहुँच पुगोस्, सबैले पोषणयुक्त फलफूल तथा तरकारीहरू उपभोग गर्न पाउन भन्ने हेतूले शहरी खेतीको प्रवर्द्वन गर्दै ठाउँ अनुसार केराउ, स्याउ, स्ट्रबेरी, आरू लगायतका फलफूल एवं तरकारीहरू फलाउने गर्दछन् ।
सामान्यतयाः सधैं पसलबाट किनेर खाने नगरबासीहरूले सार्वजनिक बारीमा पुगेरै खेतीबारे नजिकबाट बुझुन्, गएका बेला पेटभरी ती भोजन गरून् भन्ने हेतूले यस्ता बारीहरूमा फलफूल एवं तरकारीहरू उत्पादन गरिन्छन् । एउटै ब्यक्तिले दशौं दिनसम्म पुग्ने गरी सार्वजनिक बारीबाट यसरी फसल लिने कुरा कम्तिमा पनि फिनिश विज्ञहरूको परिकल्पनामा छैन्, हुँदो हो त सार्वजनिक बारीमा पुग्ने हर कोही फिनिश नागरीक ठूलै झोला बोकेर त्यता कुद्दो हो । हुँदो हो त सार्वजनिक बारीका सूचनापाटीमा त्यहाँ फलेका फलफूलहरू सबैको पहुँचका लागि हो भनेर लेखिदो किन हो ?
दक्षिण एशिया मै कमजोर बौद्विक स्तरमा गनिने देशका नागरिक भए पनि हामीले सामान्य जानकारीका पनि अति सामान्य विषयहरूमा समेत ध्यान नपुर्याउने गोर्खे शैली किन त्याग्न नसकेको ?
बोराका बोरा केराउ टिपिएका घटना यो आज मात्र भएको हैन्, केहि वर्षपहिले देखि हुँदै आएको छ । यहि विषयलाई लिएर पाँच सातवर्ष पहिले पनि सामाजिक सञ्जालहरूमा विशेषतः फेसबुकमा केहि यस्तै हन्तकालीहरूको खुलेरै व्यंग्य गरिएको थियो, त्यसपछिको केहि वर्ष त्यो व्यंग्यले राम्रै काम गरेकाले हुनुपर्छ, त्यस्तो हर्कत देखिएन् । तर फेरि यो वर्ष अचानक यस्तो घटना दोहोरिन पुगेको छ । जुन निन्दनीय छ । तर यो ब्लगपोष्ट मैले निन्दा गर्नका लागि हैन्, हन्तकाली नै भएपनि तिनको र मेरो मुल थलो एउटै हो, उसँग मेरो रगतको नाता नहोला तर नेपाली भन्ने नाता त बाँकी छ नी भावनाको भन्ठानेर यो लेखेको हुँ । त्यसैले मेरा प्यारा हन्तकालीहरूलाई प्रेमपूर्ण मैले अनुरोध गर्न चाहेको छु, चारपाँच किलो केराउका कोसामा आफ्नो देशको प्रतिष्ठा दाउमा नराखिदेऊ !
थोरैमोरैले नहुने भए त्यस्ता प्रशस्तै ठाउँहरू छन्, जहाँ तिमी गएर आफूले टिपेको फलफूलको निर्दिष्ट शुल्क तिरेर मन लाए जति घर लैजान पाउँछौ, त्यता जाऊ न बरू ! फिनल्याण्डका कतिपय संरक्षित क्षेत्रबाहेकका जंगलहरूमा निःशुल्क रूपमा चाहेजति यस्ता फलफूलहरू टिप्न पाइन्छ, जाऊ न बरू त्यता जहाँ तिमीलाई कसैले टोकसो गर्दैन्, अलि अलि टोक्ने त्यहि मरन्च्याँसे लामखुट्टेहरूले हो, तीनको पनि बरू उद्दार हुने थियो ।
त्यो दिन सायद मैले अलि चर्को आवाजमा सोधखोज गरेको भए, केसी सरले हरियो टेबलको चोसोबाट तनक्क तन्केर भन्ने थिए होला, "सर, त्यो पिलेट यता पास गर्नुस् त!"
म अघाइसकेको थिएँ । उनको पनि भोक मेटिदो हो । अनि मेरो चाउमिनले भरिएको पेटसँगै केसी सरको तीतो व्यंग्यले मेरो मन भर्नुपर्ने थिएन ।
प्रिय हन्तकालीहरू हो, तिमीले पनि सात आठ किलो केराउले टमक्क भरेर प्लाष्टिक झोला घर पुर्याउने थिएनौ भने, घर पुर्याएर खोल्साएका केराउका गेडा गलैंचाभरी सुकाएर 'वर्षदिनको दालको जोहो भो कान्छा', भनिकन टिकटकमा छरप्रष्टै पार्ने थिएनौ भने भर्खरै मात्र शुरू भएको नेपाली भाषाको अनलाइन पत्रिका नेपालीलाइनेनका प्रधान सम्पादक,प्रकाशक एवं मेरा मित्र मनोजजीलाई त्यसरी मानिसहरूले फोन गरी गरी 'लौन् पत्रकारज्यू सम्चार बनाइदिनु पर्ने भो' भन्थेनन् होला ।
यो सब नभएका भए सायद भँगेरे टाउके अक्षरमा समाचार छापिने पनि थिएन होला कि - फिनल्याण्डका नेपालीले सार्वजनिक बारीबाट कुम्लाउनु सम्म कुम्लाए केराउका कोसा ! न मैले पनि यो ब्लग लेख्नुपर्ने थियो । न त कतिपय तिमीले नेपाली नयाँ शब्द नै थाहा पाउनुपर्ने थियो । यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू ?
२०१४ मा पहिलोपटक र अन्तिम पटक केराउ टिप्न जाँदा एउटा पोलिथिन झोला त मैले पनि लिएर हन्तकालि हुन गएको हो । तर वरिपरि भएका मान्छेहरु कसैले पनि झोला बोकेको नदेखे पछि केराउ बारीमै खाएर फर्किएको आज यो ब्लग पढे पछि याद आयो। उतिबेला भनी दिने कोही थिएन । अनि म सँग त इन्टरनेट पनि चल्दैन थियो उति बेला फोनमा । प्रिपेड फोन मात्र पाइन्थ्यो विद्यार्थीले
ReplyDelete।
२०४६ को बहुदलीय व्यवस्था आए पछि नेपालीले अँगालेको एउटा सँस्कार हो जस्तो लाग्दछ मलाई यो हन्ताकाली रोग। जसले पेट भरी खान दुर्लभ हुन्छ र अलि लज्जाशरणम् हुन्छन् उनीहरुलाई हान्तकाली मान्ने हो भने , फिनल्यान्डको केराउ खास कुनै ठूलो कुरा भएन।
केही समय अघि भूकम्पले देश थलिएको बेलामा केही महोदयहरुलाई ५ तले आलिसान घर माथि राहतको पाल हालेको देखेको केही सडकमा पसारिएका ज्यानहरुले रसिला आँखा सहित हेरिरहे रे भन्ने कुरा सुन्नमा आएको थियो।
हामीले सडकको कालोपत्रे देखि धरहराको इटा सम्म खाएका हौं। खरदारले करोड र हाकिमले अरब खाने देशमा हाम्रा उत्कृष्ट नेताज्यूहरुले के -कति खाए भन्नी कुरा त उनलाई बाहेक सबैलाई थाहा छ । त्यस्ता सँस्कार भएको देशको जनता हामी नयाँ - नयाँ हुँदा एक झोला केराउ अनि पुरानो भए पछि दूई -चार झोला लिएर हाम्रो सँस्कार जोगाएका मात्र हौं ।
अब सिक्न त हामीले सक्ने भएनम। फिनल्याण्ड बसेको २० वर्ष भइसक्दा ४ बजेको कार्यक्रम ६ बजे गरेर समय खाइदिने अर्को हनतकाली रोग पनि गको छैन नि हाम्रो ।
जे होस् फोकटमा पायो भन्दैमा झोला भरी नलिएको राम्रो अनि हंतकाली भए पनि हान्तकालि भएको प्रमाण चाहिँ त्यसरी सामाजिक नगरे राम्रो ।
सितै पाइयो भने अलकत्रा पनि पिउँछन् भन्ने उखान सायद नेपालीहरु लाई मज्जाले सुहाउने भएर होला झोले प्रवृत्ति बाट नेपालीहरु प्रभावित छन्। सायद यसैको उत्पादकात्व होला । नुुन को सोझो गर्नु पर्छ भने कहावत बाट होला झोले प्रवृत्तिले नेपालको विकासको नक्सा बदलिन नसकेको किनकि जुन देशमा लाउडा, वाइड बडी, एनसेल जस्ता अनगिन्ति यस्तै काण्ड बाट प्रभावित हाम्रो संस्कार जबो एक दुई झोलामा केराउँ मा पनि यी लेखक बाबुरालाई किन ठाउँको दुखेको होला । जान दिनुहोस महोदय यहाँ कसले कहा के कति कसरी ठूलो हात लगाएका छन् त्यो प्रवृत्तिको मापन गर्ने तराजु मा तेस्को ताैल नाप्नै सकिँदैन।बबुराहरुले के नै गरे र ? टिक-टक बनाउन कन्टेन्ट को खडेरी भएको बेला एउटा तेत्रो भिउज ओइरो लागेको छ किन नहेर्सिएको होला । अब नयाँ गीत बजारमा नकोर्नु छ ।
ReplyDeleteफिनल्याण्डको सार्वजनिक बारीमा केराउको छ तात्ती
आऊ माया कमर भाचौ टिक-टकमा हामी साथि
पोहोर सालमा म पनि गएकै हो केराउ टिपन
यसपाली त नमिल्ने भो मनमा मेरो चिन्टअन
कसले भन्छ के ? तिमी पिर नगर हे माया
केराउ खाँदै बिताउला हाम्रा यी दिन हे माया। यतिकै मा फोनको किरिङ किरिङले मा झल्यस बिउँझन पुग्छ। काममा जान उठने बेलापो भएछ । हिजो यो लेख पढेपछि को मेरो सपना लाई झक झकाउने यो लेख लागि सलाम। मानिसले गल्ती गर्छन् र त सिक्दै जान्छन् तर सोही गल्ती बारम्बार दोराउछ छन् भने ती मानिस साधारण पक्कै होइनन् । यो वर्ष त सकियो होला अर्को वर्ष हेर्नु छ कि मलाई यस विषयमा अर्को लेख पढ्न मन छैन अनि लेखकहरु पनि यही टपिकमा लेख लेखन मन छैन अनि टिक टकर लागि पनि यही कन्टेन्ट मा टिक टक बनाउन मन छैन ।भन्दै मेरा छिमेकीले सुधारिएको नेपालीको चित्र प्रस्तुत गरे। जय नेपाली ।। जय फिनल्याण्ड।। लेख को लागि धन्यवाद निराजन अनि nepalilainen पत्रीका लाई।