Skip to main content

जीवन चलिरहन्छ - अनवरत !

यहि कार्तिक २३ गते अर्थात नोभेम्बर ८ तारिखका दिन म २७ वर्ष पूरा गरी जीवनको २८ औं वर्षमा प्रवेश गर्दैछु । यहाँसम्म आइपुग्ने क्रममा जीवनमा मैले अनेकौं तीतामीठा अनुभवहरू संगालेको पनि छु । ती अनुभवहरू सम्भवतः यहाँहरूका झैं पक्कै छैनन् । किन्तु, हाम्रा भोगाईहरूले हामी सबैलाई एउटै पाठ चाँहि सिकाएको हुनुपर्छ - जीवन जिउने कला ! मेरो विश्वास छ, जीवनको अविरल यात्रामा हामीले सामना गर्नुपर्ने कैयन कठिन चुनौतीहरूले हामीलाई जीवन के हो भनेर बुझ्नलाई अझ प्रेरित गरेका छन् । हामी सधैं सुखभोग मात्र गर्दैनौं, हाम्रा लागि दर्दहरूको पनि आफ्नै महत्व छन् । सायद जीवनमा दर्द, विवशता र लाचारीपन नहुँदा हुन त बाँच्नुको  पनि त महत्व नरहँदो हो । 
मैले आफ्नै जीवनलाई मिहीन पाराले बुझ्ने प्रयास गर्दै गर्दा के पाएको छु भने, जीवन सुन्दर छ र यसका थुप्रै अँध्यारा पाटाहरू पनि छन् । केहि मानिसहरू सधैं जीवनका उज्याला पाटाहरूलाई अङ्गाल्छन्, उनीहरू अँध्यारा पाटाहरू देख्तैदेख्दैनन् वा इन्कार गर्छन् । र, उनीहरू सधैं सुखी अनि खुशी हुन्छन् । खुशि यस अर्थमा कि अँध्यारोले जीवन छोपिरहेका बखत पनि उनीहरू परपर क्षितिजसम्म उज्यालाहरू पर्खिरहेका हुन्छन् । र यहाँ थुप्रै यस्ता मानिसहरू पनि छन् जो जीवनका उज्याला पलहरू बाँच्दै गर्दा खोतलखातल पारी अँध्याराहरू खोजिरहेछन्, फलतः उनीहरू सुखि हुन सकिरहेका छैन, जति उनीहरू हुनुपर्ने हो ! त्यसकारण, मानिसहरूले यो बुझ्नु जरूरी छ कि जीवन भनेको सुख र दुखको संगम हो । 
मलाई याद छ ती कठिन बाल्यकालहरू, जतिखेर राजनैतिक कामका शिलशिलामा पिताजी जिल्लाका विभिन्न गाउँहरूमा गइरहनुहुन्थ्यो (उसो त अझै उहाँ सक्रिय राजनीतिमा क्रियाशिल हुनुहुन्छ, प्रायः घरबाहिरनै हुनुपर्ने हुन्छ) र घरमा मेरी निरूपाय आमा म र मेरो बर्षौटे भाइको रेखदेखमा ब्यस्त हुनुपर्थ्यो । हामीलाई ख्वाउनु पिलाउनु, स्कृल पठाउनु वा गृहकार्य गराउनुका अलावा आमाले घरको सबै काम पनि गर्नुपर्थ्यो । वहाँ यन्त्रमानव झैं रातदिन काममा खटिरहनु हुन्थ्यो । मलाई मेरा पिताजीको तालदेख्दा त्यसैत्यसै रिस उठेर आउथ्यो । तथापी, न हामीले भनेर वहाँले राजनीति छाड्नुहुन्थ्यो न हामी वहाँले भनेर वहाँको ब्यस्त राजनैतिक रूटिनलाई स्वीकार गर्न सक्थ्यौं । अहिले अलि बुझ्ने भएपछि, तनावका बीचमा जीवनका बाल्यकालहरू गुज्रेर गए कि भन्ने लागेको छ । र, अहिले पनि यसो पछाडि पर्खेर हेर्दा मैले पाएको छु, जीवन त चलिनै रहँदो रहेछ आखिर !
एक, दुई, तीन गर्दै जीवनका खुड्किलाहरू चढ्दै आउँदा २८ औ‌ खुड्किलामा आइपुगेछु । म हिजोको जन्मोत्सवहरूमा झैं आज पनि झसङ्ग भएको छु - ओहो, कति चाँडो यत्रो उमेरको भएछु ? हिजो झैं लाग्छ, फुलबारीमा अम्चुर (आँप) झार्न हिडेको, साथीहरूसँग च्यान्टेको तालमा पौडिन गएको, बेलाबखत पाइने दुईचार दाम जम्मा पारेर बाग्लुङबजारको पुजा चलचित्र मन्दिरमा फिलिम हेर्न गएको, हाडेचक्कु र छुर्पी बनाएर बेचेको, पिताजीको पार्टी जिन्दावाद र मावलीहरूको पार्टी मुर्दावाद भन्दै नारा लगाएको । भावनामा बग्दैबग्दै जाँदा फेरि व्यवहारिक हुन करै लाग्ने, त्यसैले भन्न करै लाग्दछ मलाई - मैले जे जति बाँचेको छु, एकदम अर्थवान जीवन बाँच्ने प्रयास गरेको छु । इमान्दारीताका साथ भन्नुपर्छ, जानेर मैले आजपर्यन्त कसैलाई चोट पुर्याएको छैन । कसैलाई ढाँटेर फाइदा लिएको छैन । के मैले यो साँच्चीकै सार्थक जीवन बाँचेको हैन त ? आज प्रश्न गर्न मन लाग्यो, मलाई - आफैसँग ।
मेरा पछिल्ला केहि जन्मोत्सवहरू मनाउँदै आउँदा मलाई लागेको छ, अब म अझ अरू जिम्मेवार र परिपक्व हुनु जरूरी छ । म मेरालागि मात्र हैन, अरू धेरैका लागि बाँच्नु जरूरी छ । म आफ्ना लागि जति सहयोगी छु अरूहरूका लागि पनि मैले बराबर सहयोगी हुने प्रयत्न गर्नु जरूरी छ । एउटा वर्षगाँठ थियो जैले मैले कृति विमोचन गरेर मनाएँ, अर्को एउटा चाँहि अनलाइन काब्य गोष्ठी गरेर । र, यो वर्ष मैले विचार गरेको छु कि मेरो जन्मदिन अझ अरू सृजनात्मक तरिकाले मनाउने छु । पहिलो तरिका, विदेशमा रहेका मेरा सहपाठीहरूसँग आधा घण्टा विदेशमा आएर पढ्दाका चुनौती र अवसरहरुका बारेमा छलफल गर्ने र यूट्युब मार्फत त्यो छलफल संप्रेषण गर्ने । र, दोश्रो मेरा एक मित्र केपी अधिकारीले चाहेको बहिरा स्कृल निर्माणका लागि १०० यूरो सहयोग गर्ने । दोश्रो त म स्वयं आफैले एक्लै सम्पन्न गर्न सक्छु । तर पहिलो काम फत्ते गर्नका लागि मलाई मेरा साथीहरूको सहयोग आवश्यक छ । त्यसकारण यो इच्छुक मित्रहरूलाई यो फर्म भरी मलाई सहयोग गर्नुहुन सविनय अनुरोध गर्दछु ।

र, अन्त्यमा चर्चीत अंग्रेजी कवि रोबर्ट फ्रस्ट को यो भनाई पनि  -
 “In three words I can sum up everything I've learned about life: it goes on.” 


Comments

  1. ekdam ramro xa.....balykal ko sandharva alik badi nai lekheko vaye rochok hunthyo vanne lagxa !!

    ReplyDelete
  2. प्रतिक्रियाका लागि अभिषेकजी यहाँलार्इ धेरै धेरै धन्यवाद । कुनै दिन विस्तारमा बाल्यकालसम्बन्धी पनि संस्मरण लेख्ने नै छु । यसैगरी नियमित ब्लग हेर्ने र पृष्ठपोषण राखिदिनु होला ।

    ReplyDelete
  3. निराजन जि, धेरै धेरै धन्यवाद । तपाइको अभियान सफल वनोस । म मेरो ठाउ बाट सहयोगको प्रयत्न गरीरहने छु ।
    र सुदुर पश्रिममा बहिरा बिद्यालयकालागी यहाँको मात्रै नभै यहाँको तर्फबाट समेत सहयोगको अपेक्षा गरेको छु ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...