गुराँसे क्रान्ति, पूर्वराजा र जनता
फेरि आज ज्ञानेन्द्र शाहका तस्बीर र खबर पढ्ने औसर प्राप्त भयो । राजगद्दी त्याग्न वाध्य भएपछि उनी केहि समय चुप लागेर नै बसेका थिए । सायद उनलाई लाग्यो पनि होला, जनताले राजा चुनेका हैनन् त्यसका कारण जनताहरु के भन्छन् उनले जनमत लिन चाहेनन् । सुरुक्क गद्दी त्यागी लुरुक्क नागार्जुन छाडेर गए । हुन त एक जमानामा आफ्ना पुर्खाहरुको बल र विवेकको प्रयोगबाट प्राप्त औसर थियो– राजगद्दी । तसर्थः आफूभन्दा शक्तिशाली शक्तिको उदयपछि उनले गद्दी त्याग्नुपर्ने प्राकृतिक पद्दती हो उनले सिकेको संस्कारमा । त्यसकारणः पनि अत्यन्तै लाचारीता पूर्वक उनले गद्दी त्याग्नु पर्यो । र, आजभोली हामीहरुले पत्रपत्रिकामा पढ्दै आएका ज्ञानेन्द्र शाहको नामका अगाडि एउटा उपमा अर्थात पूर्वराजा यसैको परिणती हो ।
मन्दिर र शक्तिपीठ डुल्ने आफ्नो सनातनको परम्परा अनुरुप ‘पूर्वराजा’ पनि मन्दिरहरु डुलेको हुनुपर्छ सायद । मन्दिर डुल्नुको पछाडि धार्मीक उद्देश्यबाहेक उनी अरु कुनै उद्देश्यले प्रेरित छन् भन्ने कुरो कम्तिमा पनि मलाई चाँहि विश्वास छैन । किनकी उनलाई राम्ररी थाहा हुनुपर्छ, आफ्ना प्रत्येक राजकीय सम्बोधनको अन्तिम छ शब्दहरु ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ बोलिरहँदा पनि पशुपतिनाथको अनुकम्पा रहेन । ५८ को जेष्ठ १९ को रातले प्रमाणित गरिसकेको छ – हरेक दुर्गन्धित षडयन्त्रका अगाडि ईश्वरीय प्रभाव निश्क्रियप्रायः रहन्छ । तथापी, मानिस लाचार छ । जवजव आफ्नो क्षमतामाथि मानिसलाई विश्वास लाग्दैन, ऊ भगवानको शरणमा पुग्दछ । सायद यहि मनोदशाको शिकार भएको हुनुपर्छ ज्ञानेन्द्र शाह । तर अचम्मको विषय यो छ कि उनी मन्दिरहरुमा भगवानको आशिर्वाद थाप्न हिडिरहेका बेला मानिसहरु उनलाई साक्षात विष्णुको अवतार मान्दै उनकै पछि लाम लागेको देखिन थालेको छ । त्यहाँ देखिने थुप्रै मानिसहरु ती पनि हुन जो गुराँशे क्रान्ति (६२/६३) को आन्दोलनताका सडकमा उर्लेर चिच्याइरहेका हुन्थे –“ज्ञाने चोर, देश छोड” । आज तिनै मानिसहरु सडकमा धनुष्टङ्कार आसनमा लामबद्ध भएर उस्तै स्वरमा नारा लगाउँदै छन् –“राजा आऊ, देश बचाऊ !”
गणतन्त्रको मीठो सपना देखाएर नेताहरुले हामीलाई भूलभूलैयामा पारे । पछिल्ला राजनैतिक घटनाक्रमले यहि कुराको पुष्टि गरेका छन् । हामी जति नै अविश्वास गरौं – जनताहरुको मनोविज्ञान परिवर्तन भैरहेको छ । नेताहरु राजनेतामा परिवर्तन हुन सकिरहेका छैनन् । वा, उनीहरुलाई राजनेता बन्नु नै छैन । उनीहरु फगत हामीहरुलाई मीठा आश्वासन बाँडिरहेछन्, र हामीले पछिल्ला केहि वर्षदेखि उनीहरुलाई पत्याउँदै आईरहेका पनि छौं । उनीहरुले भने – संविधानसभाले जनताको सार्वभौमताको सुनिश्चित गर्दछ । संविधानसभाले जनताको सर्वोच्चता कायम गर्दछ । परन्तु, इमान्दारीताका साथ भन्ने हो भने नेपाली राजनीतिमा हामीले कहिल्यै भोग्नु नपरेको कठिन दिनहरु अहिले भोगिरहेछौं । नेताहरु आफूआफूमै विश्वासको वातावरण कायम गर्न सकिरहेका छैनन् । जनताको सर्वोच्चताको कुरा गर्दै उनीहरु आफू र आफू इतरका मानिसहरुको सर्वोच्चता स्थापनाका लागि कम्मर कसेर लागेका छन् । हिजो एउटाको निरङ्कुश शासन ब्यवस्थाका लागि लडेका र लड्न प्रेरित गरेकाहरुले आज जब आफ्नै निरङ्कुशता लाद्नका लागि जुन छिनाझप्टीमा लागेका छन् त्यसले जनताहरुलाई सशंकित बन्न प्रेरित गरेको छ । आम नागरिकहरुलाई लाग्न थालेको छ, यी छोटे राजाहरुले देशको मुहार फेर्न सक्दैनन् । बस्तीहरुमा गाँइगुँइ सुनिन लागेको छ, अब जंगलमा धेरै सिंहहरुको एकैपटक राज चल्न असम्भव छ । परिणामतः जो हिजो जसका बिरुद्ध गगनभेदी नारा लगाउँदै सडकमा उर्लेका थिए आज उनै सडकमा जयजयकार गर्न लाम लागेका छन् किन ?
मेरो बुझाई यो हो कि, समय निकै घर्किसकेको छ । अब शिशु गणतन्त्रलाई संस्थागत गर्ने वा पुनः राजतन्त्रमा जाने ? यसको फैसला सडकबाट नहोला भन्न सकिदैन । डेट एक्सापायर्ड नेताहरुले एउटा इतिहासलाई मनन गरुन – कम्बोडियामा राजगद्दीबाट गलत्याइएका राजा सिंहानुकलाई जनताहरुले फेरि गद्दीमा पुर्याएका थिए ! संसारमा सबभन्दा ठूलो शक्ति केहि छ त त्यो जनता हो ! नेता हैन !
Comments
एकदम जायज कुरा । देशले उदार अधिनायकवादी व्यवस्था पो खोजेको हो कि ?