Skip to main content

अट्टिच्युड अर्थात मनोबृतिका बारेमा केहि कुराहरू

केहि दिन पहिले फेसबुकमा एउटा भित्तेलेखन देखेको थिएँ, र त्यो भित्तेलेखन चर्चित गितकार भूपेन्द्र खड्काको थियो । हरेक विषयबस्तुका सम्बन्धमा मानिसहरुका आफ्नै आग्रह वा पूर्वाग्रहहरु हुन्छन् । अर्थात मनोवृतिहरु हुन्छन् । र, गितकार खड्काले मनोवृतिका बारेमा यस्तो लेखेका थिए – "मनोवृति भनेको भित्री बस्त्र हो, जुन तिमीले लगाउनु आवश्यक छ, तर प्रदर्शन गर्नु स्वभाविक हुँदैन ।" मनोवृति सम्बन्धि उनको यो बुझाईपछि मैले गहन भएर यसको विश्लेषण गरेँ । र, आफ्नो स्वः मूल्याङ्कन पनि ! कतिपय अवस्थाहरुमा मैले आफ्ना मनोवृतिहरु विशेष गरि गलत बुझाईहरु उदांगो रुपमा प्रदर्शन गरेको र त्यसले निकै हदसम्म मेरो स्वयंकै ब्यक्तित्व विकाशमा अवरोध गरेको पनि पाएँ । परन्तु, यसलाई सच्चाउने प्रयत्न गर्छु भन्ने प्रतिज्ञा गर्नु सिवाय खास प्रगति गर्न नसकेको परिस्थिती म आफैमा विद्यमान रहेको बोध पनि गरेँ । अनविज्ञ छु म कति यस्तै थुप्रै मानिसहरु होलान मेरै वरिपरी ।

केहि दिन पहिले यस्तै भयो मैले अध्ययन गर्ने विश्वविद्यालयमा पनि । हाम्रो कक्षाका विद्यार्थीहरुलाई आफ्ना अनुभूतिहरुका बारेमा केहि बताउन दुई जना पूर्व महिला विद्यार्थीहरुलाई आमन्त्रित गरिएको थियो । उनीहरु दुवैजना मैले अध्ययन गरिरहेको विश्वविद्यालयबाट आफ्नो अध्ययन पूरा गरि सामाजिक सेवाका क्षेत्रमा सफल कार्यकर्ताका रुपमा क्यारियर बनाईरहेका युवतीहरु थिए । उनीहरुमा समानता के थियो भने दुवै जना महिला थिए । अनि दुवैजना मैले अध्ययन गरेको विद्यालयको पूर्व विधार्थीहरु पनि । उचाई, मोटाई, गोलाई लगभग समान थियो उनीहरुको । उमेरमा अलिकति घटबढ थियो सायद । वर्ण उनीहरुको फरक थियो – एउटी गोरी, अर्कि काली ! राष्ट्रियता उनीहरुको फरक थियो – एउटी फिनिस, अर्की चाँहि केन्याली ! र, सबभन्दा ठूलो भिन्नता मैले के पाएँ भने – उनीहरुको सोच वा मनोवृतिमा आकाश पातालको फरक थियो । हुन त दुई फरक मानिसहरु अलग अलग प्रकृतिका हुनु अस्वभाविक नहोला । तथापि, एकै विश्वविद्यालयबाट डिग्री हासिल गरि सामाजिक सेवाकै क्षेत्रमा क्रियाशिल जीवन बाँचिरहेका उनीहरुको सोचमा अलिकति सामन्जस्यता हुनु आवश्यक थियो सायद । 

मैले जोड्न चाहेको खास प्रसङ्ग के हो भने, आफ्ना अनुभूतिहरु बाड्ने क्रममा एउटीले हामीहरुलाई ‘प्रिय विद्यार्थीहरु’ र अर्कीले चाँहि ‘भविष्यका मेरा प्रिय सहकर्मीहरु’ भनेर सम्बोधन गरिन । पहिलो वाला सम्बोधन केन्याली युवतीको थियो भने दोश्रोवाला चाँहि फिनिस युवतीको । हुन त सर्सती हेर्दा यी सम्बोधनमा कतिपय हामीले केहि तात्विक भिन्नता नदेखउँला, किन्तु गहन तरिकाले यसको विश्लेषण गर्ने हो भने हामी के पाउँछौ भने पहिलो सम्बोधनले ‘अग्रज’ र ‘अनुज’ को मान्यतालाई बढावा दिन्छ, ‘ठूलो’ र ‘सानो’ को दृष्ट्रिकोण राख्दछ । तर दोश्रो सम्बोधनले चाँहि यी मान्यताहरुलाई अस्विकार गर्दछ । यी मान्यताबाट अलिकति माथि उठेर हरेक मानिसहरुलाई योग्य र सबल देख्दछ । यहि हो मानिसमा निहित मनोवृति ! यसैबाट पुष्टि हुन्छ – मानिसको सोच्ने शैली, विश्लेषणात्मक क्षमता, सकारात्मक उर्जा र सम्मानयोग्य विचारका हरेक पक्षहरुको !

उनीहरुको सम्बोधन जस्तै छलफलमा सरिक हुने शैलीमा पनि फरक थियो । हामीलाई विद्यार्थी भन्दै छलफल अगाडि बढाउने ‘पूर्व विद्यार्थी’ चाँहि अलि बढि जान्ने सुन्ने झैं गरि प्रस्तुत गरिहेथिन, बोल्दा पनि समय बढि लिने, प्रश्नको सटिक जवाफ नदिने बढि भूमिका बाँध्ने गर्ने गर्थिन भने फिनिस युवती चाँहि अत्यन्तै सटिक थिईन । कुनैपनि प्रश्नको भूमिका हुनेथिएन जवाफमा । एकदम सिधा र प्रष्ट बुझाई थियो उनको । अनावश्यक रुपमा धेरै बोल्ने र आफूसँग रहेकी अर्की पूर्व विद्यार्थी बोलिरहँदा बिचैमा रोकेर बोल्ने दुस्साहस नै गरिननँ । 

हुन त मनोबृति ब्यक्तिमा स्वतःस्फूर्त उत्पन्न हुने विषय होइन् । यो ब्यक्तिले उसको वरिपरीको वातावरणबाट सिक्ने विषय हो । ब्यक्तिको पृष्ठभूमि र उसको वातावरणले सिकाउने र निर्माण गर्ने विषय हो । यसमा उसको वरिपरीको वातावरणले ठूलो प्रभाव पार्दछ । परन्तु, ब्यक्तिले आफ्नो चरित्र निर्माणमा प्रवाभ पार्ने यस मनोवृतिलाई परिष्कृत र सकारात्मक बनाउन सक्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु । 

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...