Skip to main content

मेरो एउटा छिमेकी दाई

उहाँ अर्थात मेरो छिमेकी दाई, हामी गोपाल दाई भन्थ्यौं । पछि उहाँको स्कुल भर्नाहुँदाको नामले बोलाउन थाल्यौं – प्रदिप दाई ! म भन्दा तीन÷चार कक्षा सिनियर दाई । विद्यालयका मेधावी छात्रहरु मध्ये एक । मलाई राम्ररी सम्झना छ–  उहाँले प्रायः प्रथम वा द्धितिय स्थान हासील गर्नुहुन्थ्यो । कितावी ज्ञान मात्र हैन बाहिरी ज्ञान पनि राम्रो थियो उहाँको ! उहाँ मेरो सदनको टोली नेता पनि हुनुहुन्थ्यो । र, हामीहरु हाजिरीजवाफ प्रतियोगितामा सधैं पहिलो हुन्थ्यौं । 

म प्रायः उहाँकोमा गैरहन्थेँ । मेरो घरबाट एक मिनेट भन्दापनि कमको दुरीमा उहाँको घर अवस्थित छ । यसकारण पनि मलाई उहाँको घरमा आउजाउ गर्न सजिलो हुन्थ्यो । म भन्दा पाका उमेरकाहरुमध्ये प्रदिप दाईले नै हो मलाई पहिलो पटक “तिमी” भनेर सम्बोधन गरेको । सामन्यतयाः हाम्रो गाउँघरतिर आफूभन्दा सानोलाई तँ भनेर होच्याएर बोलाउने चलन थियो त्यतिखेर । एकदिन प्रदिप दाईलाई मैले प्रस्ताव राखेको थिएँ – “ल दाई अबदेखि म तँलाई तपाइँ भन्छु, तपाइँ मलाई तिमी भन्नुस ल !” र, उहाँले सहर्ष मेरो प्रस्तावलाई स्वीकार गर्नुभयो । त्यसदिनदेखि उहाँले मलाई ‘तिमी’को सम्बोधन गर्न थाल्नुभयो, अनि मैले चाँहि उहाँलाई तँपाई भनेर बोलाउन थालेँ । प्रदिप दाई आफूभन्दा ठूला सबैलाई “तपाइँ”को सम्बोधन गर्नुहुन्थ्यो । जबकी केहि अपवादबाहेक गाउँमा साना मान्छेहरुपनि ठूलाहरुलाई तिमी भनेर सम्बोधन गर्ने गर्दथे ! अझ झन दलितहरुलाई त जति नै बुढा हुन क्षत्री मगरका बच्चाहरू तँ भनेरै सम्बोधन गर्ने गर्थे ! प्रदिप दाईले मानिसहरुलाई सम्मानपूर्वक गरेको सम्बोधनले मलाई पनि एउटा चेतना प्राप्त भो, जसकारण मैले बिस्तारै उहाँलाई पछ्याउन थाले । आफूभन्दा ठूलो उमेरकाहरुलाई ‘तँपाइ’ र आफ्नो उमेरका वा सानाहरुलाई ‘तिमी’ भनेर सम्बोधन गर्न थालेँ !

प्रदिप दाईको छुट्टै सुत्ने कोठा थियो । जसलाई दाई कोठी भन्नुहुन्थ्यो । त्यो सानो र एउटा मान्छेका लागि पर्याप्त ठाउँ भएको कोठा थियो । कोठीलाई दाई चिटिक्क पारेर राख्नुहुन्थ्यो । रामकृष्ण ढकालको विशेष प्रशंसक उहाँले ढकालका सबै गितीसंग्रहहरु संकलन गरेर राख्नुभएको थियो । उहाँ ढकालको बाहेक अरुको गीत मुश्किलले सुन्नुहुन्थ्यो ! उहाँबाट प्रभावित भएपछि मैले पनि मलाई मन पर्ने गायक नविन के भट्टराईका गितीसंग्रहहरु संकलन गर्न थालेको थिएँ । प्रदिप दाईले नवयुवा र युवामञ्च खुबै पढ्नुहुन्थ्यो उसबेला । जसको लत ममा पनि सर्न पुग्यो । र, मैले पनि उहाँबाट नवयुवा र युवामञ्च लिएर पढ्न थालेँ । यसरी किताबी ज्ञानबाहेक बाहिरी संसारका खासखास गतिविधीहरूप्रति जिज्ञासा राख्ने बानीको विकास ममा उहाँको संगतले नै मिलेको हो । 

प्रदिप दाईले मलाई निकै नै माया गर्नुहुन्थ्यो । खासगरीकन आफूभन्दा सानाहरुलाई अत्यन्तै माया गर्ने र मायालु नामले सम्बोधन गर्ने बानी थियो उहाँमा । त्यसकारण केहि मान्छेहरुले उहाँलाई काउलो पार्न जानेको छ भनेर कुरा पनि काट्थे । तर मलाई उहाँले मेरो नामको छोटो मायालु नाम बनाएर सम्बोधन “निरु” भनेर गर्दा, सुन्दा केटीको जस्तो लागेपनि उहाँले यसरी बोलाउँदा मलाई अपार खुशी लाग्थ्यो । उहाँ नै पहिलो ब्यक्ति हो जसले मलाई त्यो प्रिय उपनामले बोलाउनु भो ।

नश्लवादीहरुको आरोप छ लिम्बु अनि मगरहरुको रिस कडा हुन्छ । रिसाए भने मान्छे मारेको थाहा पाउँदैनन् ! तर मेरो प्रदिप दाई पनि मगरै हो, उहाँले रिसाएको, मान्छे कुटेको वा झगडा गरेको कहिल्यै थाहा पाइँन मैले । बरु छिमेकमै कसैको घरमा झगडा हुँदा छुट्याउन जानेमा उहाँ अगाडि सर्नुहुन्थ्यो । मलाई राम्ररी सम्झना छ – एकदिन यस्तै एउटा पारिवारीक झगडा छुट्याउन जाँदा उहाँलाई एक झगडालु बाजेले थप्पड हानेका थिए तर उहाँ थप्पड खाँदा पनि फेरि छुट्याउन जोर गर्दै हुनुहुन्थ्यो । अन्ततः उहाँले त्यो झगडा साम्य पारेरै छाड्नुभएको थियो । पछि मलाई मेरी आमाले पनि भन्नुभएको थियो – प्रदिप साँच्चीकै क्षमाशील मान्छे हुन !

समग्रमा भन्दा मैले प्रदिप दाइको संगतबाट दुईवटा महत्वपूर्ण पाठ सिकेको छु – पहिलो, सबैसँग मिलेर बस । शान्तपूर्वक बाँच र अरुलाई पनि शान्तपूर्वक बाँच्न प्रोत्साहन देऊ । दोश्रो, आफूभन्दा साना मान्छेहरुको भावनालाई कदर गर । उमेरले आफूभन्दा सानो मान्छे भन्दैमा उसको विचार तिम्रो भन्दा तुच्छ भन्ने हुँदैन !

Comments

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

यो के गर्यौ तिमीले मेरा प्यारा हन्तकालीहरू हो?

"सर, चाउमिन बाँकी रह्यो । एक प्लेट थपिदिऊँ ?" स्कुलको क्यान्टिनका मुख्य कुक पाण्डे दाईले मलाई कान मैं आएर भनेपछि मैले नाइँ भन्नुपर्ने कारण देखिनँ ।  वाइवाइ चाउचाउको चाउमिन यस्तो मीठो थियो कि एक प्लेट खाँदा पनि मेरो जिब्रोको भोक मेटिएकै थिएन् । मैले अर्को प्लेट हसुरेँ ।  पाण्डे दाईले थपिदिएको त्यो उभ्रेको एक प्लेटबाट दोस्रो चोटी काँटामा बेरेर मैले मुखमा पुर्याउनै आँटेको के थिएँ, टेबलटेनिसको पुरानो हरियो टेबलमाथि बसेर भर्खर सकिएको दोस्रो त्रैमासिक परीक्षाको कापि जाँच्दै गरेका जनसंख्या शिक्षक एवं म अध्यापनरत विद्यालयका संस्थापक नराम्ररी बिच्किए । भन्दै थिए, "यहाँ आफूले एक प्लेट पाइया छैन्, सरले दुइ प्लेट नै उठाइदिने ?"  भोकले रन्थनिएका केसी सरले अहिले मैले मिलाएर लेखेको भन्दा तिखा शब्दहरू उनेर केहि भनेका थिए । सायद उनको ठाउँमा म र मेरो ठाउँमा उनी भएका भए त्यसबखत उनले मलाई मारेभन्दा बड्ता पेचिलो डायलग म मार्ने थिएँ होला । डायलग मार्न म बच्चैदेखि खप्पिस हुँ ।  तर त्यो वखत डायलग बेहोर्नेमा म थिएँ, मार्ने अर्को कोही । एकैछिन अघिसम्म मीठो भएको त्यो वाइवाइ चाउचाउको चाउमिन के...