Skip to main content

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ ...

एउटा खुट्टा फिनल्याण्डलाई गन्तब्य बनाउनै लागेको हवाइजहाजभित्र छिराउन आँटेका प्रिय मानिसहरू हो,

… समयले मानिसलाई के के गराउँछ । कहिले हसाउँछ, कहिले रूवाउँछ । 

यस्तै भाकाको एउटा गीत मलाई कतै सुनेको जस्तो लाग़ेको छ । शब्द यस्तै थिए या अगाडि पछाडी मैले मेसो पाइँन् । तर आज एक्कासी मलाई यो गीतको याद आएको छ जसै मैले एकसाथ अपरिचित तिमीहरू सबै र विशेषतः एकजना चिनजानका मित्रलाई झल्याँस्स सम्झिन पुगेको छु ।

ai generated image of nepali students at airport
तिमीसँग जस्तै मसँग पनि केहि कथाहरू छन् जुन तिम्रा जीवनमा जस्तै मेरा जीवनमा पनि घटेका थिए । त्यस्तै एउटा प्रसंग जिन्दगीको शुरू हुन्छ सन् २०१० को नोभेम्बर महिनामा जहिले हान्ना नामकी एक फिनिश युवतीलाई मैले नर्वेको त्रोम्सोमा भेटेको थिएँ । अँ नोभेम्बर महिनाले मलाई एउटा कुरा याद दिलायो । त्यो मैले तिमीलाई बताउनै पर्ने हुन्छ । यो महिनालाई फिनिश भाषामा 'मारास्कु' भन्छन् । 'कु' भनेको महिना र 'मारास्' भनेको मृत्युलाई जनाउने शब्द हो । भलै, 'मारास्' शब्द आधुनिक फिनिश भाषामा उति प्रचलित छैन् । तिमीलाई थाहा नहुन सक्छ, नोभेम्बर महिनामा सारा फिनल्याण्ड निष्पट्ट अँध्यारोमा बेरिन शुरू हुन्छ । दिनको एकाध घण्टा मात्र उज्यालो हुने समय यहि महिनादेखि शुरू भएर जनवरीको अन्तिम सातासम्म निरन्तर घट्दै जान्छ । पहिले पहिले यी महिनाहरूमा सडक बत्ति अलि छिट्टै नै बल्थे जस्तो लाग्छ, छिमेकी पुटिन बहुलाउन थालेपछि उर्जा बचतको बाध्यकारी आफत फिनल्याण्डलाई पनि आइपरेर होकी अलि ढिला गरी बल्न लागेको छ । खैर, यो कुरा तिम्रा लागि त्यति जरूरी नहुन पनि सक्छ, त्यसैले मूल विषयमा नै लागौं । 

यहि अँध्यारो महिनामा जन्मदिन भएको मलाई वर्षको महिना अधिकांश समय अँध्यारो मैं बेरिने देशकी नागरिक हान्नाले नोभेम्बरकै कुनै एक अँध्यारो दिनमा सोधेकी थिइँन् -  “नर्वेमा स्वंयसेवाको बाँकी महिने बसाइ सक्किएपछि के गर्ने योजनामा छौ?” उनको यस प्रश्नले मलाई आफ्नो भविष्यको अँध्यारो/उज्यालो खोज्नलाई घच्घचाएकै हो । त्यसैकारण त मैले त्रोम्सोको डाउनटाउनबाट म बस्ने रेडक्रसको निवासस्थान जाने युनास् लिस् गाता (Jonas Lies Gate) को उकालोमा उनको सवालको जवाफ दिनुको साटो उनैलाई नै प्रतिप्रश्न गरेथेँ - उच्च शिक्षाका लागि फिनल्याण्ड कस्तो छ बरू? उनको सटिक जवाफ थियो, “राम्रै छ ।”

त्यो बेला अहिलेको जस्तो विश्वको खुशी राष्ट्र घोषणा गर्ने चलन चलेकै थिएन्, म जान्दिनँ तिनताका मानिसहरू यति दुःखी थिए कि सायद कसैले उनीहरू खुशी मापन गर्न आवश्यक नै ठानेन् । सायद त्यतिबेला नै यस्तो ह्याप्पीनेश रिपोर्ट निकाल्ने चलन चलेको हुन्थ्यो र फिनल्याण्ड अहिले जस्तै त्यस्तो सूचीको पहिलो नम्बरमा हुँदो हो त, हान्नाले मलाई भन्दिहुन् “गज्जब छ । बबाल छ, मेरो देश ।” 

हान्नाले “राम्रै छ” भनेको देशको खबर उनीसँग गफगाफ भएको ठीक चारपाँच महिनापछि अन्तर्राष्ट्रिय विद्यार्थी विशेषतः नेपालीका लागि “झुर छ, खत्तम छ” भन्ने भावमा माइसंसार डट कममा एउटा ब्लग पोष्टका रूपमा पढ्न पुगेँ । लेखेका रहिछन् फिनल्याण्डमैं केहि वर्षपहिले आएर पढ्न थालेका एक नेपाली विद्यार्थीले । उनको ब्लगपोष्ट र फिनल्याण्डमा नै आएर पढ्न थाली सकेका अन्यान्यको प्रतिक्रिया पढ्दै गएपछि मेरो मन निकै विचलित भयो । र, मैले निष्कर्ष निकालेँ, पढाई जस्तो सुकै होस्, काम बरू होम ट्युशन पढाउने भए पनि गर्ने हो, पढ्ने त मैले अब त्रिभुवन विश्वविद्यालय नै हो !

नर्वेको स्वंयसेवा सकेर २०११ को मध्य जूनमा म नेपाल फर्के, त्यसै वर्षको अन्त्यतिरबाट मैले त्रिचन्द्र कलेजमा ग्रामिण विकासमा स्नातकोत्तर (मास्टर्स) मा भर्ना गरेँ । साँझमा कलेज गयो, राती डेरा फर्क्यो अनि दिनभर काम न काज धुम्धुम्ती डेरामा बस्यो । मेरा ती पट्यारलाग्दा दिनहरूको अनुभवले बताउँछ कि हरकोही मानिस झिंजालाग्दा दिनहरूको प्रताडनाबाट छिट्टै बाहिर निस्किने प्रयत्न गरिरहेको हुन्छ । मेरा यस्ता दिनहरू बित्दै थिए, कसो कसो रेडक्रसको सम्मेलनमा बर्दियामा भेटिएका एक गोर्खाली साथी क्षितिजसँग एकदिन फेसबुकमा भेट भो । उनी काठमाडौंमा नै बस्दा रहिछन् । डेरामा लगे, खानासाना बनाएर खुवाए र त्यस रात म त्यतै बसेँ । 

“फिनल्याण्ड, स्वीडेन विद्यार्थीका लागि एकदम ठीक छन् । मेरो साथी नलराज पनि स्वीडेन पुगेको छ ।” त्यो साँझ क्षितिजले आफैले बनाएको मीठो गोलभेँडाको चट्नी मेरा थालमा राख्तै गर्दा कुरैकुरामा सुनाएथे । 

“तिमी सुतेको त्यो लक्की खाटमा एकदिन जो सुतेथ्यो त्यो स्वीडेन छ । अब तिम्रो पालो ।” गोलभेँडाको चट्नीको रमरम मेरो मुखबाट नहराउँदै, उनको कुराले म कता कता हराएको अनुभूत गरेथेँ ।

त्यहि रात त हो त्रिचन्द्र क्याम्पसमा पढिरहेको मलाई गफैगफमा फिनल्याण्डको कुनै नाम नखुलेको विश्वविद्यालमा मेरा मित्र क्षितिजले भर्ना गर्दिएको!

अनि तिमी चाँहि किन नेपालै छौ त? लक्की खाटका मालिक क्षितिजलाई मैले सोधेको । 

“ह्या मलाई विदेश जानै मन छैन् ।” दुइवटा बोर्डिङ् स्कुलको सेकेन्डरी लेभलको साइन्स टिचर क्षितिजले सप्रसंग ब्याख्या गर्दै भनेको “दुईटा स्कुल, एउटा होम ट्युशन मेरो यहि आधा लाखजति बचत छ महिनाको । किन जानु म विदेश?”

उनीसँगको भेटेपछि मैले फिनल्याण्डमा पढ्न जानेबारे सोच्न थालेँ । आइएलटिएस गरेँ । अनि कन्सलटेन्सी गएँ । फिनल्याण्ड पठाउने गज्जप नाम चलेको कन्सलटेन्सी हो भनेर पुतलीसडकको एउटा कन्सलटेन्सीमा मलाई पुर्याउने उनै गोर्खाली मित्र क्षितिज थिए । गोर्खाका बाबुराम भट्टराइहरूले हतियार बिसाएर शान्तिपूर्ण राजनीति शुरू गरिसकेको वर्ष भैसकेको थियो तरपनि देशको अवस्था त उस्तै नै थियो । सायद त्यहि भएर गोर्खाकै निवासी मेरा मित्र क्षितिजले मलाई त्यो कन्सलटेन्सीमा पुर्याएथे जसका भित्तामा टाँसिएका थिए त्यही कन्सलटेन्सीका माध्यम भएर युरोप, अमेरिका अनि अष्ट्रेलिया पुगेका चार पाँचसय भन्दा बढी मजस्तै नेपाली बिद्यार्थीका पासपोर्ट साइजका नाम र फोटाहरू । 

केहि महिनापछि सायद त्यो भित्तामा पासपोर्ट साइजको मेरै फोटो मुनि मेरो नाम निराजन थापा, फिनल्याण्ड लेखेर कन्सलटेन्सीको मान्छेले टाँस्यो होला । किनकी २०१२ को अगस्ट महिनाको मसान्तकै दिनमा त हो म फिनल्याण्ड आइपुगेको 

म किन आएँ यहाँ ? मैले बेलाबेला आफैलाई प्रश्न गर्छु ।

कहिले कसो म आफ्नो मनलाई थुम्थुमाउँछु जवाफ दिएर, पढ्न आ’को !

खासमा म पढ्न मात्र यहाँ आएको थिइँन् । कमाउन पनि आएको थिएँ । जो जो यता आउने तर्खरमा छन् ती मध्य कति प्रतिशत यहाँ पढ्न मात्र आउँदै होलान् ? उतिबेलै आफूलाई धनी परिवारको छोरो बताउने एक साथीलाई मैले नै पढ्ने कलेजमा भेटेथेँ । ऊ पनि पढ्ने मात्र काम गर्न सक्ने अवस्थामा थिएन् । उसको युरोपेली जीवनशैली नेपालमा भएका उसका धनी बाआमाले भरथेग गर्न सक्थेनन् ।

त्यसैकारण त नेपालबाट आउने हरकोहीले यहाँ 'केही' न 'केही' गरेकै थियो । हामी मात्र केही केटाहरू थियौं जसले 'केही' गर्न पाएको थिएनौं । त्यो 'केही' ठूलो पानीजहाजको क्याबिन सफा गर्ने हुन सक्थ्यो, ग्रोसरी स्टोर्स् सफा गर्ने हुन सक्थ्यो, मध्यरातमा पत्रपत्रिका ग्राहकका घरसम्म पुर्याउने हुन सक्थ्यो । वा हिउँ सोहोर्ने, बिस्तारा मिलाउने, भाडा माझ्ने, झाडुपोछा गर्ने । त्यो 'केही' जे पनि हुन सक्थ्यो । तर त्यो 'केही' भैरहेको थिएन् । पूरा छ महिना हामीले त्यो 'केही' पनि गर्न पाएनौं । 

त्योभन्दा विकराल स्थिती अहिले छ फिनल्याण्डमा । 

विश्वकै खुशी राष्ट्रको सूचीमा लगातार वर्षसम्म फिनल्याण्ड पर्यो भन्दैमा यहाँ बस्ने (वा आउन चाहने तिमीसहित अरूपनि) मान्छेहरू सबै त्यो सूचीमा नअटाउन सक्छन् । 

कलेज फि तिर्न नपर्ने जमानामा आएका हामीहरू प्याक प्याक परेथ्यौं त्यो बेला जहिले हामीसँग सबै थियो, थिएन त केवल गोडाएक हजार युरो दाम मिल्ने काम । 

ए, प्रिय मानिसहरू, हामी यता आइपुगेको अर्को वर्ष कर्म ब्याण्डले भर्खरभर्खर बजारमा एउटा गीत ल्याएथ्यो । गीतको बोल थियो, नयाँ सपना नयाँ शहर... । यो रहरका कुरा गर्ने, घरपरिवार, साथी भाइ आफन्त सारा छाडेर धेरै टाढा आएको कुरा गर्ने गीत उनीहरूले हामीहरूकै लागि भनेर ल्याइदिएका हुन् जस्तो लागेथ्यो । 

त्यही समयको वरिपरी फिनल्याण्ड आएका मेरा साथीसर्कलका हरेकले यो गीतको लिंक आफ्ना फेसबुकको वालमा साझा गरेथे । गीत मात्र हैन कतिले त गीत साझा गर्दै गर्दा आफ्ना पीडा, मर्म र वेदनाहरू पनि साझा गरेथ्यौं । पीडामा पिल्सिएको गरिप मान्छेका लागि मूल्य तिर्नुनपर्ने औषधीको नाम गीत हुँदोरहेछ । त्यही गीतले हामीलाई केहि महिना कस्तो भरथेग गरेथ्यो । के तिमीहरूका लागि पनि यस्तो कुनै गीत बनेको छ ? हाम्रो गीत त सायद तिम्रा लागि डेट एक्सपायर्ड ओखती सरह न हो । 

तर ए! कलेज फि तिर्न पर्ने जमानामा यता बसाइँ आउन लागेका प्यारा भाइबैनीहरू बर्षदिनसम्म समेत काम नपाउँदा तिम्रो हालत के होला ? – खराब हुन्छ नि, अरु के हुनु!? 

हो तिमीले ठीक सोच्यौ!

नयाँ सपना त होलान् पनि तर के तिनले कुनै आकार लिन पाउलान् ? – ख्वै यस्तो तालले त कहाँबाट पाउनु? 

हो, तिमीले ठीक सोच्यौ!

नयाँ शहर त तिमी आइपुग्ने नै छौ, तर बार्ह वर्षसम्म म अनि म जस्ताहरूले आफ्नो बनाउन नसकेको यो बिरानो शहर के सजिलै तिमीले आफ्नो बनाउन सकौला ? – कोसिस गर्ने हो, भोलि के हुन्छ कसलाई के थाहा?

हो, यहिँ नेर म तिमीलाई ठीक तरिकाले जबाफ दिन सक्दिनँ, कि तिमीले ठीकै सोच्यौ या के सोच्यौ!

ए, प्रिय मान्छेहरू, तर मैले यत्ति चाँहि भन्नुपर्ने हुन्छ –

आएको सात आठ महिना भो ‘काम पाइया छैन्’ भन्दै ओठतालु सुकाएका थुप्रै भाइबैनीहरूलाई मैले खुद भेट्टाएको छु । 

फेसबुक, टिकटक चलाउनेहरू सुनाउँछन् – केहि महिना अघी यता आएकाहरूको विरहले पूरै सामाजिक सञ्जाल भरिएको छ । 

मितव्ययी (इकोनोमिक) ग्राहकहरू माझ अलि सुलभ मानिने लिडल् पसलमा भियतनाम, कम्बोडियाबाट आउने रातो खोलको प्याकेजमा हुने चामल जुन ८५ सेन्टमा एक किलो पाइन्छ, अब प्रायः भेट्नै मुश्किल भएको सुनाउँछन् नयाँ विद्यार्थी भाइबैनीहरू । 

“मेरा लागि नेपाल मैं छ विदेश, म किन जानुपर्यो विदेश?” भन्ने मेरो साथी अहिले देशमा छैन् । ऊ पनि विदेश हिडिसकेको वर्ष पुगेर यतै आयो ।

“के जातिका भर परेर फिनल्याण्ड नआउनु है” भनिकन् ब्लगपोष्ट लेख्ने मित्र देश मैं बस्ने हो भनिकन् फर्केको पनि वर्ष त काटिसक्यो क्यार, उनी अहिले यता आउन खोजेकाहरूलाई उतै नेपालमैं फिनिश भाषा सिकाउँछन् अरे भन्ने सुन्छु ।

तर जे भएपनि मैले निर्धक्क यत्ति चाँहि भन्न सक्छु कि लाखौं शुल्क तिरेर पढ्न आउने देश यो हुँदै हैन् ।

अब नआई नछाड्ने तिम्रो विचार हो, फिनल्याण्ड तिम्रो निशाना हो भने मैले यत्ति चाँहि भन्नैपर्छ, ए फिनल्याण्ड ताकेका शिकारी राजा, फिनल्याण्ड ताकेका तिम्रा दुईटा आँखा मध्य एउटा आँखामा मैले देखेको फिनल्याण्डको चित्र पनि राख । दुईटै आँखा खुला राखेर अहिलेसम्म मैले कुनै पनि सिकारीले सिकारको निशाना लगाएको देखेको छैन् । सुनेको छैन् । तिम्रा दुइटा आँखामा मध्य कुन चाँहि खोल्ने र कुन चाँहि बन्द गर्ने त्यो तिम्रो जिम्मामा भो । 

अरू त म तिमीलाई के नै दिन सक्छु र ? आखिर म पनि त तिमीजस्तै गरिप देशको हरिप न परेँ । त्यसैले तिमीलाई दिपक खरेलको उहि कालजयी गीत, .... प्रतिक्षा गर मेरी मायालु .. समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ .... अर्पण गर्न चाहेँ । अँ साँच्ची यता आउँदा यो गीत आफ्नी प्रियतमालाई एकफेर जसरी पनि सुनाउनु है ! किनकी यो कालजयी गीत हो, जसको सक्किने मिति हुँदैन्। 

नयाँ पोष्ट

Comments

  1. निकै राम्रो लेखाई । एक भकारी सपना बोकेर आएको ठाउ अझैपनि सपनामै बाच्नूको पिडा छूट्टै नै हूनेरहेछ ।

    ReplyDelete
  2. It's too late for me to consider your advice. Why did you not write this post in 2024? Why ? Why?

    ReplyDelete
    Replies
    1. It's never too late to reconsider if the initial plan doesn't seem to be working.

      Delete
  3. सपनाको शहरमा रमाउन खोज्ने र बास्तविकतामा रुमलिन परेको बास्तबिक जिवनको मार्ग चित्र प्रस्तुत लेख सार्है राम्रो लाग्यो। लेखक नीराजन लाइ मुरिका मुरि धन्यवाद। परदेशलाइ जति नै गरेपनि आफ्नो बनाउन नसकिने यो बिडम्बना भित्र मलाई पनि अर्को कालजयी गीत गुनगुनाउन मन लाग्यो, जे गर जसो गर ,जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपालि हो। यो मन मेरो नेपालि हो ।। ह्टस् अप टु यु।

    ReplyDelete
    Replies
    1. मिठो प्रतिक्रियाका लागि हजुरलाई न्यानो माया अनि धन्यबाद। हजुरको छनोटको कालजयी गीत मलाई पनि निकै मनपर्छ। भिनाजुलाई मेरो पनि what's up छ है त!

      Delete
  4. I just had to take a moment to express how impressed I am with this blog! It's clear that a lot of effort and consistency has gone into making it such a valuable resource. With every update, the quality keeps getting better, and I can’t help but feel amazed at how much it has evolved. The attention to detail, the relevance of the content, and the overall presentation have truly set it apart from other blogs. I just want to say this is one of the best examples of what dedication and regular updates can do. Keep up the great work – it's inspiring to see such growth! :)

    ReplyDelete
    Replies
    1. I am so glad to read such an inspiring comment in this thread. Guru, I hearty appreciate for your kind words and hope to read them under other posts as well.

      Delete
  5. मैले कुनै कमेन्ट लेखेँ भने पनि नराम्रो भन्ने लाग्दैन सायद "मन परेको फूल सुकेपनि रसिलो" । चञ्चलता अस्थिरता र असन्तोषी भाव त मान्छेका विशेषता नै हुन् क्यार ! त्यहिँ भएर यत्रो प्रगति (?) गर्न सकेको । हामी नेपालीमा विदेश भनेपछि आउने आकर्षण अरु देशका मान्छेलाई आउँछ कि आउन्न थाहा भएन तर हाम्रो दिमागमा यसको भूत यस्तरी पसाईयो कि त्यसको निर्मूलीकरणको लागि सानोतिनो प्रयासले सकिदैन । तर शीर्षक "समयले मानिसलाई कहाँ पुर्‍याउछ" भन्नुभन्दा समयसँगै मानिस कहाँ पुग्दछ भन्ने भएको भए अझै राम्रो हुन्थ्यो ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...

नांगो नाच, यौनधन्दा र राजधानी

मैले मेरो देशका बारेमा गर्व गर्दा अब गौतम बुद्ध, सगरमाथा, एकसिंगे गैंडा, जैविक विविधताले भरिपूर्ण देश वा जिउँदी देवी कुमारीको नाम लिनुपर्छ जस्तो मलाई लाग्दैन् । हामी अराजकता र उच्छृङ्खलताको सगरमाथा चढिसकेका छौं अब किन फोकटमा अरु अरु बहानामा नेपाली भएकोमा गर्व गर्नु ?! मैले यहाँ उल्लेख गर्न चाहेको सन्दर्भ मेरो पछिल्लो पटकको काठमाडौं भ्रमणको हो । यहाँले बुझिसक्नु भयो होला, काडमाडौं फगत हाम्रो देशको प्रशासनिक वा राजनैतिक राजधानी मात्र रहेन् । त्यो गुण्डाहरुको राजधानी हो, त्यो आन्दोलनकारीको राजधानी हो, हत्या, हिंसा र लुटपाटमा निमग्न अपराधीहरुको राजधानी हो । अनि राजधानी हो त्यो डान्स बारका नाममा नांगै नाच्ने तरुनी र उनीहरुका स्तन, नितम्ब वा हातको एक पटकको स्पर्शका लागि कामातुर बृद्ध सेठ र साहुहरुको पनि । मैले यसपटक यस्ता चार पाँच डान्सबारको भ्रमण गर्न पाएँ कि न जसको कुनै पत्रिका, रेडियो वा टेलिभिजनमा विज्ञापन नै देखिन्छन् न त त्यहाँ हुने कर्तुतका बारेमा तिनै पत्रिका, रेडियो वा टेलिभिजनका हेडलाइनहरु लेखिन्छन वा वाचिन्छन् ! न त ती ठाउँहरुमा समाजमा शान्ति, अमनचयन र सुव्यवस्थाको ठेक्का पाएका ...

एउटा सग्लो रात(कथा)

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ । आडैमा एउटी युवती आई । मतिर पुलुक्क हेर्दै मुसुक्क मुस्कुराई । मैले पनि मुस्कुराएरै उसको आगमनको स्वागत गरेँ । सोधी – “दाई ट्याक्सी कुर्नुभएको ?” “हजुर ।” मैले जवाफ दिएँ । “म पनि ट्याक्सी वेट गरिराखेको हेर्नु न अहिलेसम्म एउटा भेटेको छैन ।” युवतीले दुखेसो पोखी । मैले प्रश्न गरेँ – “कहाँ जानुपर्ने ?” “धेरै टाढा त हैन, मुस्ताङचोकसम्म पुग्नुपर्ने थियो ।” जवाफमा उसले भनी ।  उसको मुखबाट मुस्ताङचोक फुत्कदाँसाथ ममा नजानिदो उत्साह बढेर आयो । भनेँ – “ए, हो र ? म पनि त मुस्ताङचोक नै जान लागेको नी !” “ला हो र ? उसो भए त मज्जा भो नी, हजुर अनि मेरो दुवैको फिप्टी प्रसेन्टेज पैसा सेभ हुने भो नी त । एक्लै जाँदा त ४०० लिन्छ । अब दुई सयमै पुगिने भईयो ।” उसले खुशी ब्यक्त गरी । मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्...

गेष्टहाउस, यौन ब्यवसाय र कानुन

फोटो गुगल बाट सर्च गरि राखिएको हो । मेरो ख्यालमा हाम्रो नेपाली समाजमा सबभन्दा बढि गलत ढंगले ब्याख्या गरिने विषय केहि छ त, त्यो यौन सम्बन्धि सन्दर्भ नै हुनुपर्छ । मानिसहरू यौनका विषयमा यति गम्भिर देखिन्छन् कि कोही व्यक्तिको कोही युवतीसँग उठबस बढ्न थाल्यो भने मान्छेहरू उनीहरूका विषयमा टिकाटिप्पणी गर्न एकदमै लालयित हुन्छन् । राम्रा/नराम्रा, जायज/नाजायत हरेक किसिमका टिप्पणीहरू हुन पुग्दछन् । अझ कुनै पनि व्यक्ति यौनका मामलामा कमजोर देखियो भने त झन उसको दीनदशा बिग्रयो भन्ने जाने हुन्छ । मानौं उसले यति ठूलो अपराध गरेको छ कि जिन्दगीभर उ क्षमायोग्य मान्छे हुनै  सक्तैन । भन्न त मान्छेहरू भन्छन्, यौन प्राकृतिक कुरा हो । जैविक आवश्यकता हो । र, यसको आवश्यकतालाई कसैले पनि नकार्न सक्तैन । तर मान्छेहरू जब कोहीला ई  यौनका विषयमा खुल्न थालेको पाउँछन् अनि फेरि फरक बन्न पुग्छ, उनीहरूको दृष्टिकोण । अब यौन न त प्राकृतिक कुरा नै हुन्छ न त जैविक आवश्यकता नै । मान्छेहरू यसला ई  सामाजिक संस्कार अनि मूल्य र मान्यतासित जोडेर हेरिदिन्छन् । अरू त अरू एक बलात्कृत नारीको विवशताको समेत खिल्ली उडाउन ...

प्रचण्ड, निशानी, र हामीहरू

' राती दश बजेको आलर्म सेट गर्नु, ठ्याक्कै टाइममा हस्तमैथुन गर्नुपर्छ । '  ब्यक्तिको नाम ट्याग गरेर उनले फेसबुकमा भित्तेलेखन सम्प्रेषण गर्ने गर्थे । उनको भित्तेलेखनमा अंकित ब्यक्ति उनका हितैषी मित्र हुन होइनन् त्यो मेरो सरोकारको कुरो रहेन् । किन्तु, धवलागिरिका पत्रिकाहरूमा स्तम्भकारको परिचय स्थापित गरिसकेका उनको स्तरको ब्यक्तिले फेसबुकमा यस्ता भित्तेलेखनहरू सम्प्रेषण गर्नु कत्तिको उचीत थियो भन्ने मेरो प्रश्न हो ।   पछिल्ला दिनहरूमा एउटा राम्रै चर्चा बटुल्न सफल अनलाइन पत्रिकाहरूमा प्रचण्ड लक्षित लेखहरू मार्फत स्थापित लेखकको परिचय बनाएका उनलाई माथि उल्लेखित उट्पट्याङ यौनजन्य खुराक फेसबुकमा पस्केका कारण केहि फेसबुके साहित्यकारहरूले यौन कविको उपनाम पनि भिरा ई दिए । र, उनी जबरजस्त यौन कविको छवि निर्माणको दिशामा अग्रसर हुन थाले । धन्य अनलाइन पत्रिकाले उनला ई  यौन कवि हुनबाट बचाए, र एउटा परिचय बनाइ दिए- दिल निशानी मगर । निशानीको लेखन शैली विशिष्ट छ । त्यो एकदम जबरजस्त छ । सुन्दर बान्की परेका वाक्य गठन र उस्तै वाचनप्रिय शब्दको छनौटमा उनको शिल्पमाथि डा. गोविन्द भट्टरा ई ...