Skip to main content

बर्षको अन्तिम बिजुली पत्र

प्रिय मित्र, 

तपाइँको बिजुली पत्र पाउँदा साथ तपाइँलाई पत्रको जवाफ छिट्टै दिनेछु भनि मैले लेखी पठाएको इमेल पनि अब एक महिनाभन्दा बढि पुरानो भैसकेछ । थाहा छैन् मानिस किन कुन परिबन्धमा परिबस्छ? सायद यस्तै केहि परिबन्धमा म पनि परि बसेँ कि ? म पनि त आखिर मानिस न परेँ ! 


ai generated picture of two people hugging eachother

तर आज डिसेम्बर ६ तारिख बडो गज्जपको दिन जुरेछ, तपाइँलाई पत्रको जवाफ लेख्न बसेको दिन, यो सामान्य दिन मात्र हैन् फिनल्याण्डका नागरिकहरूका लागि, आज यिनीहरूको मुक्ति दिवस् । अर्थात रसियनहरूको शासनबाट फिनिसहरूले मुक्ति पाएको दिन ! आज यहि फिनिश स्वतन्त्रता दिवसको अवसरमा अस्तव्यस्तपूर्ण जीवनशैलीबाट अलिकति छुटकारा लिएर यो पत्र लेख्न बस्दैछु ।

करिब एक महिना पहिला म चालिसौं बर्षमा प्रवेश गरेँ । त्यसको हप्ता दिनपछि तपाइँको पनि त्यहि नै अवस्था भो । हामी दामली भएकाले पनि एकै समयमा बडो विचारणीय र उस्तै प्रकृतिका अनुभूतिहरू गरिरहेका हुन्छौं भन्ने मेरो ठनाइ छ । मैले उमेर बढ्दै गएपछि स्वतःस्फूर्त रूपमा परिपक्वता बढ्दै गएको हो कि भन्ने भान हुन थालेको छ । जस्तो उमेरसँगै भावनालाई काबुमा ल्याउन सकिन्छ भन्ने मेरो बुझाई रहेको छ । अलि पहिलेको जस्तो साना सफलताहरूको चर्को हर्सोल्लास् अनि सानै कष्टहरूमा पनि विछट्टैको स्खलन अब कम हुन थालेको हो कि भन्ने भान भएको छ । उमेरसँगै मान्छेले आफूलाई चिन्ने भरमग्दूर प्रयास गर्न थाल्ने कुरो थाहा पाउनलाई अब मैले कुनै पुस्तक त पढ्नु पर्दैन् । तर यस्तै अनुभूति पत्रकार एवं लेखक विजयकुमारले आफ्नो पछिल्लो पुस्तक खुशीमा समेत प्रस्तुत गरेकै छन् । विजयकुमार जस्तै कैयन लेखकहरूले आफ्ना नीजि भोगाइहरूमा तपाइँ हामीले झैं जीवनका नवरसहरूकै रसस्वादन गरेको कुरो उप्काएका छन् । तर, सबभन्दा महत्वपूर्ण हरकोहीले सहजै हरेक दुःख या सुखको प्रमुख कारक आफू स्वंय रहेको कुरो स्वीकार्ने हिम्मत नराख्दा रहेछौं ।

मैले पछिल्ला समय करिब वर्षदिनदेखि यता नेपाली राजनीतिका समाचारहरूमा उत्ति रूची दिएको छैन् । पछिल्लो जेनजी आन्दोलनका समयमा चाँहि देशको अवस्था देखेर म पनि विचलित नहुने कुरै भएन । अत्यन्तै छोटो तयारीमा हामीहरूले पनि यहाँ आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति एउटा श्रद्वान्जली सभा गर्यौ । केहि दर्जन मानिसहरू भेला भए । ऐक्यबद्दता जनाए । दुईचार दिन सबै जना विचलित भए । म पनि भएँ । जस्तो तपाइँले उल्लेख गरे झैं विस्मृतिको रोग हामी नेपालीहरूमा एकदमै धेरे छ, जुनबाट अछुतो म पनि छैन् । तर फरक यत्ति हो, कुनै संकल्पमा म दृढ रहेँ भने हत्तपत्त म त्यसबाट तलमाथि हुने गर्दिनँ । अपवादहरू त नहुने हैनन् , जस्तो धुमधडाक शैलीमा ७९ को स्थानीय निर्वाचनमा उम्मेदवारी घोषणा गरिगरी चुनाव नउठ्ने म नै हुँ । तर त्यसमा मलाई त्यतिधेरे लज्जाबोध छैन्, सायद मलाई जति लज्जाबोध नेपालका कुनै पनि नेतालाई कहिल्यै भएको पनि छैन् होला जुन उनीहरूले कबोल गरेर पनि पूरा गर्न चाहेनन् । खैर यो विषयलाई यहि नेर रोकौं । अलिकति पारिवारीक र केहि भावनात्मक विचारहरू साटफेर गर्ने कोशिस गरौं ।

नेपाल छाडेर चटक्कै यतै हराउने साहस मैले अझै जुटाउन सकेको छैन् । हुन् त यहाँका जाडो यामका उराठ, निराशा अनि अँध्यारा दिनहरूले प्रत्येक पल मलाई ऐंठन नपारेका पनि हैनन् । कतै पढेको थिएँ पानीमा बसिरहेको भ्यागुतालाई पानीको तापक्रम बढाउँदै जाँदा समेत खासै प्रवाह हुँदैन् रे ऊ बढ्दो तापक्रमसँगै आफूलाई सोही अनुरूप सम्मिलन गर्दै जान्छ रे । आफू बस्दै गरेको पानीको तापक्रममा अब खतरा छ भन्ने थाहा नपाएर भ्यागुताले ज्यान गुमाउँछ रे । यो खासमा एउटा बलियो मिथक मात्र हो । वैज्ञानिकहरूको परिक्षणमा भ्यागुतामा त्यस्तो गुण देखिएन । भलै भ्यागुताहरूले आफू बाँचिरहेको वातावरणमा विद्यमान तापक्रमसँग आफ्नो शरिरको तापक्रम सन्तुलनमा राख्दै चाँहि जान्छन् । तर वास्तवमा भ्यागुताहरूले साँच्चिकै खतराजन्य स्थिति उत्पन्न हुनुपूर्व नै आफूलाई सुरक्षित पार्न सक्षम रहेको वैज्ञानिक परिक्षणले पुष्टि गरेको पढ्न पाइन्छ । तर म त मान्छे हुँ । थाहा छैन् भ्यागुताको जत्तिको प्रतिक्रियात्मक क्षमता म राख्दछु या राख्दिनँ । तर यत्ति चाँहि थाहा छ, मान्छे खासमा मान्छेहरूले नै दाबी गरे जस्तो सबै जीवजन्तुभन्दा तिक्ष्ण प्राणी चाँहि होइन् । हुँदो हो त, मान्छेले यो सब व्यथा किन बेसाउँदो हो ? '

प्रिय मित्र, जेठी छोरी हुर्किदै गइँन्, उनी अब आफ्नो हेरचाहमा अलि बढि ध्यान दिने हुन थालेकीछिन् । बेलाबेलामा मेरा व्यक्तित्व निर्माणमा समेत उनको महत्वपूर्ण सरसल्लाह पाउने गर्छु । खुशि लाग्दो रहेछ एक पिता भएका नाताले कि मेरो बच्चा पनि अब कस्तो बुद्दिमान हुँदै आएको भनेर । कान्छी छोरी अझै तिक्ष्ण छिन् । फिनिश शिक्षा प्रणालीको सकारात्मक प्रभाव म मेरी कान्छी छोरीमा परावर्तन भएको देख्दछु । विशेषतः तर्क गर्ने क्षमता निकै विकसित हुँदै जाँदो रहेछ, जब एक बच्चाले उचित शैक्षिक वातावरण पाउँदछ । फिनिश शिक्षा प्रणालीको सबभन्दा राम्रो पक्ष नै शिक्षकले बिद्यार्थीलाई सिकाउँदैछु भन्ने थाहै नदिई सिक्न सक्षम बनाउने । जस्तो, एकदिन छोरी र उनकि एक साथीबिच झगडा भएछ । शिक्षकले दुबै जनालाई सँगै राखेर साथी बिच के गर्नुहुन्छ ? के गर्नुहुन्न ? भन्ने विषयमा १५, २० मिनेट छलफल गरेछिन् । अन्तमा अंगालो मारेर दुई जना साथीहरू छुट्टिएछन् । तपाइँलाई यो सुन्दा अचम्म लाग्ला कि अहिले यी दुबैजना सँगै स्कुल जान्छन् । छुट्टीका दिन खेलमैदानमा गएर सँगै खेल्छन् । कक्षाका सहपाठी थिए, अहिले यी मिल्ने साथी भएका छन् । 

फिनल्याण्डबाट धेरै केहि सिक्न नसकिएला तर हर साधारण विषयभित्र कति असाधारण अर्थ हुन्छ भन्ने चाँहि बुझ्न सकिन्छ । मैले यहि असाधारण ज्ञानलाई साधारण तरिकाले शिरोपर गरी बाँकी जीवन एकदम साधारण तरिकाले असाधारण मातृभूमीमा बिताउने निधो गरेको छु । प्रिय मित्र, तपाइँको प्रार्थनामा मेरो पनि सम्झना गरिदिनु होला । 

उहि तपाइँको मित्र

नीराजन शिरीष



Comments

  1. तपाईँको लेखाइ अलिकति फरकधारका हुन्छन्। सुरुको टाइटल बिजुली पत्र आफैँमा पृथक थियो । त्यसपछि साथी मुक्ति -अलङ्कारीक ।

    आफ्नो घरको उदाहरण दिएर अरु केही नभनिकन सारा कुरा भनिदिए जस्तो ।
    धर्तीमा फैलिएर कसैले आकाशको उचाइ छुन सक्ला कि नसक्ला त्यो म जान्दिन तर भुई छोएर आकाशमा राज गर्न सकिन्छ । निराजन सायद त्यही उदारहण होला।

    अमेरिकी पूर्व राष्ट्रपति एल्गोर को An inconvinent truth को भिडियो हेरेको मैले त्यो भ्यागुतो साँच्चिकै थियो अथवा कुनै नक्कली ? थाहा पाउन सकिन। तर त्यही भ्यागुतोलाई बदलिदो वातावरणबाट आफ्नो व्यक्तिगत परिवेशमा ढाल्नु चाहिँ तपाईंको लेखकीय बठ्याई हो जस्तो लाग्यो।

    तपाईँले आफ्नो ब्लग टुङ्गाउँदै गर्दा एकातिर हर्ष र अर्कोतर्फ विस्मात दिनुभएको छ।
    तपाईँ जस्ता होनहार मान्छे आफ्नो मातृभूमि फर्किने भन्ने समाचार एकदमै सुखद र उल्लासमय हो। त्यसो भएमा म शुभकामना दिन चाहन्छु हाम्रो मातृभूमिलाई कि एक योग्य पुत्र फर्केर आउँछ। तर तपाईँको मातृभूमिप्रतिको फिर्तीले हामीलाई यहाँ एक साथीको अभाव खड्कने छ । तर तपाईँ नेपालमा भएपनि हामी यसैगरी विद्युतीय कुराकानी जारी राखौँला । शुभकामना ।

    ReplyDelete
    Replies
    1. यसरी ब्लगलाई ध्यानपूर्वक पढेर मननीय टिप्पणी लेख्ने पाठक मित्र प्राप्त गर्नु मेरो लागि अहोभाग्यको कुरा हो।
      यस्तो खालको प्रेम निरन्तर रहिरहोस्। हार्दिक आभार मित्र।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...