"चुनावमा मेरो टिकट भो बाबु, त्यो भएर यहाँ साथीभाईको बधाईको फोन आएको आयै छ ।" फोनमा बाको आवाजबाटै म वहाँको भावभंगिमाको अनुमान गर्न सक्थेँ ।
पक्कै पनि अत्यन्तै धेरै खुशीले बाको मुहार धपक्कै बलेको हुनुपर्छ । दुई मिनेट चौतिस सेकेण्डको कुराकानीमा मैले अन्तिम प्रश्न गरेँ, "बा, जितिन्छ त चुनाव?"
बाले एक क्षण पनि नसोची उत्साह अनि थोरै आशङ्का भरिएको आवाजमा भन्नुभएथ्यो,” जितिएला नी!”
चुनाव भो, बाले चुनाव पनि जित्नुभो । दुई चरणमा भएको त्यस निर्वाचनको समयमा पहिलो चरणमा निर्वाचन सम्पन्न भएको आफ्नै पिताजी उम्मेदवार भएको निर्वाचन क्षेत्रको मतगणना पनि अर्को चरणमा निर्वाचन हुने अन्य निर्वाचन क्षेत्रको मतदान सम्पन्न भैसकेपछि मात्र सँगै हुने भएकाले म छिट्टै फिनल्याण्ड फर्किएथेँ । म फर्किनुको अघिल्लो साँझ, बाले मलाई, “अब ३ हप्ताको कुरो न हो बाबु, नतिजा आएपछि गए हुँदैन् र?” भनेर आग्रहमिश्रित जिज्ञासा राख्नु भएथ्यो । म धेरैबेर केहि बोलिनँ । हामी कोही पनि धेरै बेर केही बोलेनौं ।
बा मलाई थाहा थियो, तपाइँले त्यो चुनाव जित्दै हुनुहुन्थ्यो । मलाई यो पनि थाहा थियो कि बाम गठबन्धन भएका कारण जुन मतान्तरका साथ हामीले चुनाव जित्दैछौं भनेर तपाइँका कामरेडहरू विभिन्न दाबी प्रस्तुत गर्थे, ती मध्य एकसँग मैले झण्डै बाजी नै थापेथेँ । उनी भन्दै थिए, हामी ८ हजारभन्दा बढी मतले जित्दैछौं । मैले भनेथेँ ३ हजारभन्दा बढिको मतान्तर हुँदैन् । थापेको भए बाजी म नै जित्दोरहिछु । तर चुनाव हामी सबैले जित्यौं ।
राजनैतिक यात्रामा थुप्रै चुनावहरू हुन्छन् । ती मध्य धेरैमा बाले चुनाव जित्नुभो । केहि नगन्यमा मात्र पनि वास्तविक रूपमा चुनाव तपाइँले हार्नुभएको थिएन् । रणनीतिक रूपमा हराइएको थियो । नत्र पार्टीको आन्तरिक निर्वाचनमा तपाइँले चुनाव हार्दा चिया पसलमा तपाइँले भन्दा धेरै आँशु बगाएर रूने तपाइँका वरिपरी कोही पनि साथीहरू हुन्थेनन् । साक्षी भावका साथ एक पुत्रका नाताले मैले हेर्दा मेरो बाले कुनै चुनाव हार्नु भएको छैन् ।
जसले जीवनमा आर्थिक रूपमा त्यस्तो कुनै छलाङ मार्न सकेन् । त्यो नेता जसले आफ्ना कार्यकर्तालाई एक कप चिया किनेर कहिल्यै पिलाउन सकेन् । त्यो नेता जसले रकमी कार्यकर्ताहरूलाई खास खास अवस्थामा सन्दुकबाट झिकेर केहि हजार नोटका बिटाले झटारो हान्न सकेन्, त्यस्तो नेताले अहिलेको परिप्रेक्ष्यको नेपालको चुनाव त्यो पनि संसदिय निर्वाचनमा जित्न सक्नु चानचुने कुरो थिएन । बिजय जुलुशमा नहिडेकै भएपनि पिताको त्यस प्रकारको बिजयमा एक पुत्र हुनुको नाताले मलाई सदा गर्व हुनेछ ।
तर जीवनमा बाले राजनैतिक हिसाबले विजयको झण्डा गाड्दै अगाडि बढिरहेकै भएपनि, पारिवारीक रूपमा हामीहरू दयनीय स्थितिमा पुगिरहेको यथार्थ हामीलाई बाहेक अरूलाई कसरी थाहा हुन सक्थ्यो ?
आज यहि ब्लगपोष्ट पढिरहनुभएका कतिलाई के थाहा कि गाउँकै स्कुल पढ्दै गरेको एक ७ बर्षिय बालकमाथि उसको पिता बिद्यालयका शिक्षकहरू, व्यवस्थापन समितिका मान्छेहरूको जत्थाको भन्दा फरक विचारको राजनीतिमा जिल्ला स्तरिय नेता भएको तुष एक थान गरिब विद्यार्थीको छात्रवृत्रि दिएर बाल मनोविज्ञानमा खलल पुर्याउन चाहेको कुरा? जिल्लाको नेता बनिसकेको मेरो बालाई यो विषयको गम्भिरता थाहा नहुने कुरे थिएन् । मलाई मेरो बा हिरो हो भन्ने त्यहि दिन लागेको हो जुनदिन मेरो सामुन्ने मेरा मास्टरहरूलाई फलाना फलानाको त जग्गाजमिन पनि छैन्, यस्तो आर्थिक अवस्था छ विपन्न छात्रवृत्रि कसलाई चाहिने हो ? भनेर कडा आवाजमा प्रश्न गर्नुभएथ्यो । आफूमाथि हुने हरकुनै ज्यादतिकाबारे निर्भिक भएर प्रश्न गर्न सक्ने मेरो बाको शैलीको म सदा प्रशंसक हुँ ।
उसो त पार्टी राजनीतिमा जिल्लातिरै व्यस्त हुने बासँग हामीले त्यति धेरे सानिध्यता पाएनौं । स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिनुभएका मेरा बाले, मलाई याद छैन्, कहिले कहिले कुन गृहकार्य हामीलाई सिकाउनुभो । मलाई यो चाँहि याद छ, बाले कुनै पनि चैते दशैं मेलामा हामीलाई बागलुङ लानुभएन् । राम रमिता, बासँगको हाँसखेल आदि इत्यादि म र भाइले गर्नै पाएनौं । बाले आफ्नो वैंश जति सबै पार्टीलाई दिनुभो । हामीलाई त त्यहिँ दशैंमा नयाँ स्कुल ड्रेस, नयाँ शैक्षिक सत्र शुरू हुँदा टिलिक्क परेका नयाँ किताब । अहँ, बाले किताबमा गाता चाँहि गज्जपको हाल्नुहुन्थ्यो । मेरो दश कक्षाको किताबको गाता पनि बाले नै राख्दिनु भएथ्यो ।
सक्रिय पार्टी राजनीतिबाट बाले निस्क्रिय रहने निर्णय सानो साहसले निस्केको विषय हुँदै होइन् । यसमा धेरै हदसम्म मेरो एकोहोरो अनुनय विनयले पनि काम गरेको छ, मलाई थाहा छ । बा स्वंयलाई पनि यो निर्णयको भारीले धेरै लामो समयसम्म थिचिरहनेछ । मलाई थाहा छ, कतिपयका लागि यो खिसिटिउरीको विषय पनि बन्न सक्ला । मलाई यो पनि थाहा छ, कतिले विदेशमा बसिरहेको, कमाइरहेको छोराले आड भरोसा दिएर बालाई अझै सक्रिय राजनीति गर्न दिनुपर्नेमा यस्तो नचाहिँदो सल्लाह दिएर मरेछ पनि भन्नेछन् ।
एक पुत्रका नाताले मलाई अरूले के सोच्छन्, भन्छन् भन्ने कुराले कुनै फरक पार्ने छैन् । मलाई त अविश्वसनिय रूपमा बाले गरेको घोषणा मेरा लागि पिताका हिसाबले मेरो बाले मलाई अहिले सम्मकै सबभन्दा ठूलो उपाहार दिनुभएको महशुस गरेको छु । मलाई बाले “बा” उपाहारमा दिनुभएको महशुस भएको छ । मैले मेरो बालाई फिर्ता पाएको महशुस गरेको छु । त्यो बा जो पार्टीका लागि परिवारबाट टाढा हुनुहुन्थ्यो, त्यो बा मैले फिर्ता पाएको छु । नढाँटेर भन्नुपर्दा, बाले सांसदमा चुनाव जित्दाभन्दा बढि खुशी बाले सक्रिय राजनीति छोडेको घोषणाले भएको छु ।

लेखक स्वयंले घोषणा गरेर मैले मेरो बुवा फिर्ता पाएँ भनिसके पछाडि लेखकलाई धन्यवाद नदिरहन सकिएन। धेरै वर्ष लामो अर्थात् दशकौं लामो सहयात्रा भनौ या सम्बन्धहरूका बीचमा मैले चिनेको निराजन थापा एक यस्तो पात्र हो जसले व्यक्तिगत स्वतन्त्रताको मसँग ५० औँ पटक बहस गरेको छ। घन्टौं कुरा भएको छ। तर त्यही पात्र आफ्नो बुवाको राजनीतिक स्वतन्त्रता मा भने पटकपटक सामाजिक सञ्जालबाट हस्तक्षेप गरेको कुरा सगर्भ यसै ब्लगमा लेख्नुभएको छ। राजनीतिक रूपमा निष्क्रिय जीवन रोज्नु भएको लेखकका बुवाप्रति मेरो हिजो पनि सम्मान छ। आज पनि हुन्छ र भोलि पनि हुने नै छ। तर लेखक स्वयंले गर्ने स्वतन्त्रताका आगामी वकालतहरुमा भने अब केही सन्देह पैदा हुन्छ भन्ने कुरामा कुनै दुईमत रहेन लेखक उहाँ स्वतन्त्र र स्वतन्त्रताको पक्षपाती हुँ भनेर हरेक फोरुमहरूमा आफूलाई चिनाउनुहुन्छ तर आफ्नो जीवनका अमूल्य समय हरू त्यही पार्टीको निम्ति बिताएको आफ्नो बुवालाई भने त्यो पार्टी छोड्नको लागि सामाजिक सञ्जालहरूमै एउटा सानो बच्चाले मलाई त्यही चाहिन्छ भने जसरी आह्वान गर्नुहुन्छ !भलै त्यो नितान्त बाबुछोरा बीचको सम्बन्धको कुरा हुन सक्छ तर जब सामाजिक सञ्जालमा आउँछ त्यो परिवारभित्रको मात्र कुरा रहन्छ भन्ने कुरा कम्तीमा म मान्दिन | खासगरी नेपालमा भएको जेन जेड आन्दोलन पछाडि लेखकले आफ्नो बुबाको राजनीतिक आस्थाको बारेमा सामाजिक सञ्जालमा धेरै कुरा लेखेको कुरामा म अवगत नै छु। हुनसक्छ लेखको बुवाको झुकाव भएको पार्टी खराब होला तर लेखकको बुवा स्वयं खराब हुनुहुन्न भन्ने कुरामा कम्तिमा म पनि सहमत छु। पारिवारिक सम्बन्ध टिकाउनको लागि बुबाले राजीनामा दिनुभएको हो भने यसमा दोष बुबालाई होइन स्वयं लेखकलाई जान्छ र मेरो बुवा पनि सायद निराजन कै बुवाले राजनीति गर्ने पार्टीमा संलग्न हुनुहुन्छ र उहाँ जीवनको उत्तरार्धतिर पुगिसक्नुभएको छ। सायद निराजनलाई जस्तै मलाई पनि बुबाले छोडिदिनुभए हुन्थ्यो भन्ने लाग्छ तर त्यति भन्दै गर्दा मैले मेरो बुवाको राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्छ भन्ने कुरामा कम्तीमा पनि म अडिक छु। सबै बुबाहरू प्रति सम्मान र आदर सहित धन्यवाद।
ReplyDeleteतपाईँको यो ब्लग पढेपछि एकछिन त के कमेन्ट गर्ने भनेर सोच्न नै बाध्य बनायो।
ReplyDeleteप्रत्येक व्यक्तिको आफ्नै आफ्नै राजनीतिक झुकाव हुन्छ। प्रत्येक व्यक्तिको आआफ्नो स्वतन्त्रता पनि हुन्छ।
मलाई थाहा छैन लेखकले आफ्नो बुवाको व्यक्तिगत स्वतन्त्रता हनन गरेको हुन् वा होइनन्?
जुन जुत्ता मैले लगाउन सक्दिन त्यो जुत्ता लगाउनुको पीडा पनि बुझ्न सक्दिन। सायद यसभित्रका पीडा ,यसभित्रका समस्या लेखकका आफ्ना हुन्।
कमसेकम लेखकको ब्लक पढिसकेपछि एउटा कुरा इमानदारिता साथ मान्न सकिन्छ कि लेखक र लेखकको बुवा दुवै जनाले आफ्नो छातीमा हात राखेर समाजको अगाडि गर्व गरेर हिँड्न सक्ने वातावरण थियो र अबको कयौं वर्षसम्म पनि हुनेछ। यो नेपाली राजनीतिको दुर्लभ परिदृश्य हो। त्यसका लागि लेखकका बुवा विशेषगरी सम्मानका पात्र हुनुहुन्छ।
लेखकको कर कापले नै गर्दा लेखकको बुवाले राजनैतिक यात्रा टुङ्ग्याएको सुन्दा एकातर्फ नरमाइलो लाग्छ तर वास्तवमा म यसमा अलिकति सकारात्मक भएर हेर्न चाहन्छु। लेखक जत्तिकै सम्पूर्ण सन्तानहरु आफ्ना बाबुलाई प्रश्न गर्न सक्ने हैसियतमा भइदिएका भए आज नेपालको एक तिहाई जनसङ्ख्या देशभन्दा बाहिर हुँदैन थियो। हुनसक्छ लेखकका बुवा कुनै एक सानो पात्र भएका हुनाले ठूलो हलचल ल्याउन सक्नुहुन्नथ्यो होला। तर आजको राजनीतिक परिदृश्यको यो पनि एउटा टड्कारो आवश्यकता हो कि प्रमुख नेतृत्वमा रहेका व्यक्तिहरुलाई प्रश्न गर्ने र औंला तेर्साउने मान्छे चाहिन्छ र मलाई लाग्दछ लेखकको बुवाको यो कदमले एउटा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ।
धेरै ठूलो समस्याको समाधान नगर्ला तर कमसेकम यो कदमले नेपाली राजनीतिक वृद्धमा एउटा नयाँ बहस सुरु गर्न सक्छ। हामीले हिँडिरहेको बाटोमा हामीभन्दा पछाडिको जेनेरेसनको स्वीकार्यता छ कि छैन त्यसलाई घोत्लिने एउटा जबरजस्त मौका चाहिँ प्रदान गरेको छ।
तर एउटा यथार्थ के हो भने , नेपालको बदलिदो परिस्थितिको परिचित्र हो यो र म यसलाई समर्थन गर्छु। मलाई आशा छ लेखक र लेखकको बुवाको सम्बन्ध अझ सुमधुर रहोस्। लेखकको बुवाको सामाजिक योगदानलाई समाजले सम्मान गरिनै रहनेछ र उहाँले सम्मानपूर्वक जीवन बाँचिरहनुहोस् !लेखकले जुन सपना आफ्नो बुवाको लागि देख्नुभएको छ त्यो यथार्थमा परिणत होस् !शुभकामना