फिनल्याण्ड आएको २ वर्षपछि म नेपाल पुगेको थिएँ । त्यसै बेला मलाई भाइले सुनाएको थियो, गाउँका दुई जना अलि बयस्क मानिसहरू जो सहोदर दाजुभाइ थिए, उनीहरूले "भूपेन्द्रले छोरालाई दलितको कोटामा फिनल्याण्ड पठाएको हो ।" भनेर हौवा चलाएका छन् ।
मैले भाइलाई भनेथेँ, "मानिसहरू त्यति नै बोल्छन् जति ति सोच्न सक्छन् !"
भाइले भन्दै थियो, "एकचोटी कुरा गर दाई, नभएको कुरा भन्दै हिड्नेलाई जवाफ दिएनस् भने झन बदनाम गर्दै हिड्छन् ।"
मैले त्यो बेला भाइले भनेको कुरालाई खासै महत्व दिइनँ किनकी यस्तै एक आरोप सन् २०१० मा बेनी बजारको न्यूरोडमा त्यतिबेला मेरा एक मित्रले सञ्चालन गर्ने मझेरी नामको रेष्टुरेन्टका ठीक अगाडि पट्टी एउटा क्रान्तिकारी पार्टीका दलित युवा नेताले मलाई भनेथे, "तपाइँ त नर्बे जाँदै हुनुहँदो रहिछ, बा नेता भएको राम्रै काम लागेछ !"
ती क्रान्तिकारी मित्रले मलाई त्यसरी आत्मसम्मानमा नै चोट पुग्ने गरी भनेको ठीक ४ महिना अगाडि एउटा चिया पसलमा बालाई मैले रेडक्रसले अभिभावकले छनोट भएका खण्डमा नर्बे जान मञ्जुरी दिने व्योहोराको मञ्जुरीनामामा दस्तखत गराउन खोज्दा जिज्ञासाले भरिपूर्ण आवाजमा सोध्नुभएथ्यो, "छनोट हुन्छ्स तँ ?"
मैले भनेथेँ, "पहिला प्रक्रियामा भाग लिन त दिनु !"
मेरो बालाई यस बारे केहि पत्तो खबर थिएन् । होओस् पनि कसरी ?
म आफै बडो असमञ्जयसमा परेको थिएँ, त्यो दिन जब स्कुले विद्यार्थी छँदा त्यसको १० बर्ष पहिले म सक्रिय रहेको जुनियर रेडक्रस सर्कलका रेडक्रस शिक्षक गुरू ध्रुबलाल शर्माले मलाई अचानक फोन गरेर भन्नु भएको थियो, "नीराजन, युवा स्वंयसेवक भए नर्बे जाने अबसर छ, छनोट प्रक्रियामा भाग लिन फाराम भर्न पर्छ, तुरून्तै रेडक्रसमा आउनुस् ।" म कार्यरत गैर्ह सरकारी संस्थाको कामको शिलशिलामा पश्चिम म्याग्दीका गाउँमा जाने हतारोमा थिएँ । मैले फर्केर फाराम भर्छु भन्दा, गुरूले ढिला हुने जवाफ दिएपछि हतार हतार फाराम भरेर म दरबाङ हुँदै ताकमको यात्रामा निस्केको थिएँ, त्यसदिन ।
पछि छनोट प्रकियामा भाग लिएर बेनी फर्कने बसको टिकट लिएर गोङ्गबु बसपार्कमा बस पर्खिएको मलाई रेडक्रसबाट छनोट भएको फोन आयो । टुपुक्क खर्च लिएर काठमाडौं पुगेको मलाई, थप दुई तीन दिनको खर्च अपुग हुने भएपछि बसपार्क छेउमा व्यवसाय गरि बसेका बेनीका मित्र बिनय श्रेष्ठलाई केहि पैसा सापटी मागेर काठमाडौं रोकिएको मलाई, ती क्रान्तिकारी युवा नेताले न्यूरोडको बिच बाटोमा यस्तो होच्याएर जिज्ञासा राख्लान् भन्ने सोचेकै थिइँन् ।
साढे ३ वर्ष पहिले स्नातकोत्तरको विधार्थीका रूपमा, म जन्मनुभन्दा ३ वर्ष पहिले नै देहान्त भएका बेलायती मनोसामाजिक विज्ञ हेनरी ताजफेलले प्रतिपादन गरेको सोसल आइडेन्टेटी थ्योरी पढ्दै गर्दा मेरो मथिङ्गल नराम्ररी हल्लिएकै हो । कि, मानिस आफ्नो सामाजिक पहिचान निर्माणका क्रममा कसरी आफ्नो र अरूको समूहका बीच स्पष्ट भिन्नताका रेखाहरू कोर्न पुग्छन् ! ताजफेलका अनुसार प्रायः हामीहरू आफ्नो समूहको अवस्थिती (या केहि हदसम्म प्रतिष्ठा, गरिमा) बलियो पार्नका लागि अर्को समूहलाई व्यक्तिगत रूपमा नीच र राक्षसीकरण गर्न पुग्दछौं ।
ताजफेलको सिद्वान्त पढ्नुभन्दा तेर्ह चौध वर्ष पहिले नै म राजनैतिक रूपले संलग्न दलबाट मुक्त भएकै थिएँ, यहाँ सम्मकी जातिय समाजको शुरूवात भर्खर शुरू हुँदै गर्दा ताका, क्षत्री समाजको सदस्यताका लागि गरिएको आव्हानलाई विनम्रतापूर्वक अस्वीकार गरेथेँ । तर विभिन्न राजनैतिक आस्था भएकाहरूले मलाई जहिले पनि बाको पार्टीको सदस्यता भिडाउन छाडेनन् जस्तो गैर खसआर्यहरूले मेरा पेटमा हुँदै नभएका दार्हा औल्याउन छाडेनन् !
किशोरावस्था देखि नै म मेरो आफ्नो खुदको परिचय निर्माणमा अविचलित लागेकै छु । तर कतिपय मानिसहरूले मेरो परिचयमा म स्वंयको अस्तित्व नकार्न पुग्दछन् । अरे यार मानिसहरू हो, तिमीले तिम्रो खुदको परिचय बनाउन असमर्थ रह्यौ भन्दैमा हर कोही कसरी तिमी जस्तै बन्नु पर्ने हुन्छ ?
थाहा छैन्, के कति म समर्थ रहेँ आफ्नो परिचय निर्माणमा । तर लगानी पैसाको मात्र हैन्, समय र जवानीको राम्रै गरेको छु चाहे त्यो केहि युवा साथीहरू जम्मा गरेर ६३ जिल्ला पुग्ने गरि हामीले प्रकाशित गरेको रत्न साहित्यिक मासिक पत्रिका सम्पादन/प्रकाशन गरेर होस्, या सरकारी बन्दुकको नालको डर नमानी जिल्लाबाट प्रकाशित हुने पत्रपत्रिकाहरूमा निडर भएर स्तम्भ लेखेर होस् ! कसरी म छक्क नपरूँ तिम्रा बकम्फुसहरू पढेर कि तिमी मेरा सामाजिक सञ्जालका एक, दुई सम्प्रेषण पढेर सपाट लेख्दिन्छौ, "अँ निराजनलाई चिनियो!" म भन्दछु, कुनै अमुक विचार बोकेर हिडेको मान्छेले म जस्तो फुक्काफाल मानिसलाई चिन्न सक्दैन् ।दिमागमा आग्रह/पूर्वाग्रह पालेर स्वतन्त्र विचार निर्माण हुँदैन् ।
थाहा छैन्, कहाँ पुगे ती पेस्तोलमा झोला राखेर आफ्नो आधार इलाकाको सिमानामा मलाई "कसको अनुमतिले यहाँ आएको ?" भनी प्रश्न सोध्ने ती बिद्रोही योद्वा जसलाई मैले मेरो गाउँमा आइपुग्दा निडर भै सोधेथेँ, "अनुमति कसको लिएर आउनुभो, हाम्रो गाउँ ?" जवाफमा मुसुक्क मुस्कुराएथे । तर उनी बुद्द थिएनन् । उनी लाचार थिए । किनकी, उनीसँग अब पेस्तोल थिएन् ।
आज फेरि एक गाउँलेले मैले साझा गरेको एक सम्प्रेषणमा आएर टिप्पणी लेखिदिए, दलित कोटा!
त्यसपछि मैले यो ब्लग लेख्न थालेको हुँ ।
म सोच्दैछु, मेरो गोर्खाली मित्र रामहरी के सोच्दै होलान् जसले यस्तो भद्दा मजाक पढे भने ! रामहरी मेरा तिनै मित्र हुन् जसले मलाई उच्च शिक्षाका लागि फिनल्याण्डमा जान सुझाएका थिए । आज गाउलेको टिप्पणी पढेपछि बिचरा मेरो बा, आमा, श्रीमती र भाइ के सोची बसे होलान् जसलाई भिषा हातमा नपरून्जेल मैले फिनल्याण्ड जान आवेदन गरेको समेत थाहा थिएन ।
ती क्रान्तिकारी युवा नेता मेरा बाले द्वन्द्वकालमा जोगाएर राखिदिएको पार्टीमा छन् अहिले ! सायद मेरो नर्बे यात्राबारे उनको धारणा अहिले फेरियो होला किनभने ताजफेलको सिद्दान्तले भन्दछ, कुनै व्यक्ति या समूहले आफ्नो व्यक्तिगत या सामूहिक सफलताका हेतू कम शक्तिशाली समूहमा भएको ब्यक्ति या झुण्डले आफ्नो वर्तमान समूहलाई लात हानेर विपरित समूहको सदस्य हुन जान्छ । यसको मतलब उसले आफ्ना पूर्व धारणाहरू फेर्दछ ।
तर यी आज नीलो क्रान्तिको नारामा मैमत्त हिडेका गाउँलेले जुन नीच आक्षेपले छेप्ने काम गरेका छन्, के त्यो मेरो मनमा कहिल्यै हटेर जाला ?
सायदै!
Comments
Post a Comment
प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।