Skip to main content

जग्गु दाईको नेपाल (न)डायरी

यो डायरी हैन् ।
यो नडायरी हो ।

थाहा छैन्, जग्गु दाईले सपनामा कहिल्यै फिनल्याण्डको भूभाग नदेखेर मैले जस्तै सधैं त्यहि ढोडेनी, घैयारा, बुढोचौर, मैले पढाएका स्कुल र मैले पौडी खेलेको च्यान्टेको ताल जस्तै चुहाडेको बन, बोक्सेको शितलो हावा, गाइघाटको उखुम गर्मी अनि बगुवा खोलाको बर्खे भेल मात्रै देख्नु हुन्थ्यो वा हुन्थेन् तर सधैं जसो हुने भेटमा वहाँले नेपालै फर्किने हो भन्न कहिल्यै छुटाउनु भएन् ।

चार पाँच बर्ष पहिलेसम्म हेलसिन्की शहरको व्यस्त चोकतिर अरू केहि साथीहरूसँग मिलेर दाईले एउटा नेपाली पसल चलाउनु हुन्थ्यो । दक्षिण युरोपका देशबाट आउने ताजा तरकारी देखि नेपाली मरमसलासम्म, लाटभियाबाट आउने बोकाको मासुदेखि भियतनाम, पाकिस्तानबाट आउने चामलका बोरासम्म वहाँको पसलमा पाइन्थे । ब्यापार राम्रै चलेको थियो, सबै साझेदारले यसै भन्थे । राम्रै नचलेको भए फिनल्याण्डजस्तो महंगो सञ्चालन खर्च भएको देशमा कुनै पनि पसल एक दशकसम्म कसरी चल्न सक्थ्यो ?  तर अचानक वहाँहरूले राम्रै चलिरहेको पसल बेच्नुभो । र, हाम्रो जग्गु दाईले आर्थिक भूगोल (Economic Geography) मा विद्यावारिधी गर्ने सोच्नु भो । दाईकै शब्दमा बुढेसकालको संघारमा फेरि एकपटक दिमागलाई खुब दुःख दिन मन लागेर आयो । 

उसो त दाईले फिनल्याण्ड आएर स्नातकोत्तर अध्ययन सक्काइसकेपछि उहिल्यै नै नेपाल फिर्ति अभियान पनि शुरू गर्नु भएथ्यो रे । उता गएर, फेरि यतै नै फर्किनु भएछ । त्यसैले पनि हुन सक्छ जग्गु दाई र म दुबैसँग बरोबर कुरा हुने राजन दाईले 'जग्गु दाई यो पाली पनि त्यति लामो नेपाल टिक्नुहुन्छ' भन्नेमा विश्वास गर्नु हुँदैन् । 

मसँग फोन वार्तामा राजन दाई भनिरहनु हुन्छ, 'दाईलाई यतै बानी पर्यो, त्यहाँ टिक्नु हुन्न, र तिमी पनि नेपाल घुम्न मात्र जान्छौ, सधैं बस्ने गरि जान्नौ ।'

मैले ढिपी कसेरै भन्दै आएको छु, 'दाई म र जग्गु दाई मात्र हैन्, तपाइँ पनि फर्केर जाने उतै हो । भिमादले तपाइँलाई तानेरै छाड्छ, पख्नुस् केहि वर्ष ।'

यो लेख्न बसेको अस्ति हो, आज पूरै २ दिन बित्यो । प्रायः जसो ब्लगपोस्टहरू मैले एकै बसाइमा नै लेखेर सकेको छु । तर यो ब्लग कहिले सक्किने हो मैले मेसो पाएको छैन् । सायद यो मेरै बारे हुन्थ्यो भने एकै बसाइमा लेखि पनि सक्थेँ होला । वा, यो फिनल्याण्डमा बितिरहेको समयका बारे हुन्थ्यो भने झनै छिटो समयमा लेखिसक्थे होला । तर यो मुटुभरी देशको माया बोकेर नेपाल फर्किसक्नु भएको व्यक्तिका बारे छ । एकै छिन बसेको ठाउँबाट जुरूक्क उठेर हिड्न त सानोतिनो भएपनि साहस चाहिन्छ हामी कतिलाई, जग्गु दाई त करिब २ दशक उर्जाशिल जिन्दगी बिताएको ठाउँ छाडेर परिचयको पुनः तार्जगी गर्नु पर्ने अवस्थामा पुगिसकेको ठाउँ फर्किनुभएको छ । 

क्राइम प्याट्रोल हेर्दै मेरी बुढीले एउटा नयाँ स्वीटर बुन्दैछिन् । उनलाई मैले यो ब्लग लेख्न थालेको बारे थाहा छ, त्यसैले मजाक मै सहि सोधीहालिन्, 'जग्गु दाई कहाँ पुग्नु भो ?'

मैले कुरो बुझिनँ ! उनैले प्रष्ट पारेर भनिन्, 'तपाइँले लेख्दै गरेको ब्लग दाईको बारे हैन र ? अस्ति के सपना, चुहाडेको बन के भन्दै हुनुहुन्थ्यो त, दाई सपना मैं हुनुहुन्छ कि पुग्नुभो त नेपाल ?'

'पुग्दै हुनुहुन्छ ! अझै यतै अल्झिरहनु भएको छ ।' मैले मजाक गरेर यस्तो भन्न पनि सक्थेँ ।

तर मैले बुढीलाई फिस्स हाँसो पनि दिन सकिनँ, जिस्किने मुडमा म छैन् । त्यो जो कोही होस्, जसले सधैंका लागि देश फर्किएर फेरि हिम चुचुराहरूलाई चुमेर आउने बतासले फोक्सो भर्न चाहने कुरा मजाक हुन सक्दैन् । कहिलेकाही विवशताका कारण ती मजाक जस्ता बन्न पुग्छन् जस्तो मेरो जीवनमा एकपटक घटित भैसक्यो । 

यो ब्लग लेख्नेबारे सोच आएपछि मैले दुई पटक जति जग्गु दाईसँग ह्रवाट्सएपमा फोन संवाद गरेको थिएँ । दाईलाई 'नेपाल फिर्तीका अनुभव समेटेर अपेक्षा र वास्तविकताबीच के असमाञ्जयसता छन् खुलाएर बेलाबेला दैनिकी लेख्नुपर्यो दाई' भनिकन अनुरोध गरेथेँ । वहाँले 'हस, कोशिस गर्छु' भन्नुभएथ्यो । सम्भवतः लेख्नुहुन्न होला । वहाँले नाइँ भन्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन् । त्यसैकारण, मेलै नै यो नडायरी लेख्दैछु, ताकी जग्गु दाईलाई आफ्नै डायरी लेख्न प्रेरणा मिलोस् ।

डेढ महिनाजति बित्दैछ दाई नेपाल फर्किनुभएको । वहाँले डायरी लेखेको भए कम्तिमा चालिस पैतालिस पाना त भरिसकिएका पनि हुँदा हुन अहिलेसम्म । वहाँसँग कुरा गर्दा त उत्साह मात्रै भेटिन्छ । सबै राम्रो नै राम्रो भएको छ भन्नुहुन्छ । भन्नुहुन्छ, 'सरकारी कार्यालयमा सेवा प्रवाह राम्रो बनेको छ । विचौलियाहरूको भागाभाग छ । पहिलेका सांसद, मन्त्रीजस्ता भोज भतेर, रामरमिता, शिलन्यास, उद्घाटन जतापनि जाने,  जहाँ पनि लम्बेतान भाषणबाजी गर्ने अहिलेकाले गरेका छैनन्' । तर अहँ भन्नुहुन्न, संसदमा जे चलिरहेछ, त्यो गलत भैरहेछ । विपक्षी दललाई विश्वासमा नलिइकन संसदिय अंकगणितका आधारमा संसद सञ्चालन गर्दा यो भन्दा पहिलेका राजनैतिक शक्तिहरूले मार खाएको कुरा हामी जस्तो सचेत नागरिकले नजर अन्दाज गर्नु मिल्ला र? प्रिय दाई, के यसरी देशमा लोकतान्त्रिक प्रणाली विस्फारीत हुन सक्ला र ?

यो राजनीतिका विषयमा धेरै नअल्झिने विचारमा हुन्छु, तर पनि कहि कतै नठोक्किन सुखै नमिल्ने ! 

जग्गु दाईलाई मैले चिनेदेखि वहाँ सुसंस्कृत राजनीतिका पक्षमा हुनुहुन्छ । हाम्रो थोरबहुत राजनैतिक पृष्ठभूमि मिल्छ पनि । कुनै जमाना हामी एउटै राजनैतिक विचारमा रहेछौं, विरासतमा प्राप्त त्यो विचारबाट शनैशनै हामी सँगसँगै जसो मुक्त हुन पुग्यौं । जसै अमेरिका पढेर फर्किएका उज्ज्वल थापाले विवेकशिल नेपाली नामको दल खोलेर फरक तरिकाको राजनैतिक चेत लिएर नेपाली राजनीतिको अभियान शुरू गरेथे, पुराना दलका दलाली राजनीतिबाट वाक्क दिक्क भएका जग्गु दाईले फिनल्याण्डमा त्यसको सहयोगी प्रवासी संगठनका लागि नेतृत्व लिनु भो, मैले समर्थन नगर्ने कुरै थिएन् । म पनि सामेल भए । दुई चार बैठक गरिए, देशका चिन्ता लिने काम भो । आफ्नै पीरले प्रवासमा पछारिएका हामी प्रायः आफ्नै सुसेधन्दामा लाग्यौं । पछि, विवेकशील र साझा जोडिएर विवेकशील साझा भो, जग्गु दाईले त्यसको श्रीवृद्विका लागि कम्मरै कसेर लाग्नुभो । मलाई त्यसमा जोडिन मन लागेन । साझाका मुखिया राजा नभै देश नबन्ने ठोकुवा गर्दै राप्रपामा कुलेलम ठोके, दाई यता चुपचाप रहनु भो । हाम्रो छिटफुट भेट भै नै रह्यो । देशको अविकास, भ्रष्टचार, वेथिति, दण्डहिनताका बारे दलफसल भै नै रह्यो । 

प्रिय दाजु, लामो समय विदेशमा बिताएर स्वदेश फर्किने हामीहरूले दशकौं पछि फर्केर हामी हुर्केको समाजमा  कसरी पुनस्थार्पित हुन सकिएला?  हाम्रा विचार, आचरण, जीवनशैली र कतिपय संस्कारजन्य व्यवहारहरू सजिलै स्विकृत होलान् कि नाइँ ? जन्मभूमिमा पाइला टेकेपछि हजुरका मनमा यी र यस्तै प्रकारका प्रश्नहरू उब्जिएका छन् कि नाइँ ? कम्तिमा पनि आफ्नो मौलिक भोगाई बाड्न नबिर्सनु होला है । 

अहिले दाजु, नेपाल फिर्तीको हनिमुन पिरियडमा हुनुहुन्छ । सायद, मसँगको फोन वार्तामा त्यसैकारण वहाँ बढ्ता उत्साहित हुनुहुन्छ । मलाई पनि दुई चार महिना नेपाल बसाइका क्रममा कहिल्यै पनि दुःखी हुनु परेको छैन् । उसो त यताबाट लगेको बचतको पैसाले राम्रै भरथेग हुन्जेल खुशी नहुनुपर्ने कारण पनि त हुँदैन् । जब गोजी रित्तिदै जान्छ, मन त्यसै त्यसै खोक्रिदै जान्छ । के उसोभए नेपाल फिर्ती पश्चातः सदाबहार खुशिका लागि कुनै उपाय छैन त ? प्रश्न स्वभाविक रूपमा नै उठ्छ ! 

के त्यो प्रश्नको सटिक जवाफ छ ? 

छ, पक्कै पनि । नेपाल फिर्तीपछि मेरो जीवनशैली न्यूनतमवादी रहनेछ । त्यो एकदम साधारण तर आकर्षक रहनेछ । जस्तो, जग्गु दाई पनि केहि पहिलेदेखि अभ्यासरत हुनुहुन्छ । काठमाडौंमा जग्गा किन्नुभो, घर एकदम साधारण बनाउनु भो । करेसाबारीमा काम गर्दै गरेको तस्बीर केहि समय पहिले फेसबुकमा साझा गर्नुभएथ्यो । तर फेसबुकमा साझा नगर्नुभएको अर्को गुथि कुरो के छ भने वहाँले केहि समय पहिले आफ्नै गाउँ नजिकै खेती गर्न मिल्ने ठूलो पाखोबारी किन्नुभएको छ । कृषि र पर्यटनलाई जोडेर केहि न केहि गर्ने वहाँको सपनाले आकार लिन समय पक्कै लिने नै छ, तर त्यो समयसम्म दाईको मन त्यतै अल्झिराख्न सक्ला त ? वहाँ नेपाल फर्किनु ठीक ३ दिन पहिले भेट्दा मैले सोधेको थिएँ । 

'म उमेरको त्यो बिन्दुमा छु, अब धेरै चञ्चल बन्ने सुविस्ता मसँग छैन् ।' दाईले जवाफमा भन्नु भएको थियो । 

अर्को बर्ष त म पनि उतै हुनेछु । नेपालको मोबाइलबाट दाईलाई कल गरेर एकपटक रत्नेचौर बोलाउनुपर्ला, मैले सोचेको छु । मेरा गाउँले साथीभाइहरूसँग पनि भेट गराउने विचार त छ । तर थाहा छैन्, त्यतिन्जेलसम्म मेरा कतिपय साथीहरू चालिस कटेकै भएपनि विदेशिएका हुनेछन् । को कोसँग दाईको भेट होला या नहोला?

अर्को वर्षसम्म दाई त्यतै हुनुहोला र ? यो पढ्दै गर्नुभएका राजन दाईले मुसुमुसु गर्दै यो सोच्न भ्याइसक्नु भएको छ । 

हाम्रो केटो नेपाल फर्किने भन्छ, यताका सबै विदेश जाने भन्छन् । मेरा बाआमाले पनि यस्तै सोच्नु भए होला । 

नेपाल फर्किन्छु फर्किन्छु भनेर मैले बुढीलाई तनाव दिएको छु भन्ने महशुस नभएको हैन् । बुढीले बुन्दै गरेको स्वीटर पनि सक्किन लाग्यो । त्यहि स्वीटर लाएर अर्को वर्ष नेपाल लग्ने हवाइजहाजको सिटमा बस्दा म दुखी पक्कै हुनेछु । मेरो सीटको छेऊमा मेरो बुढी हुनेछैनिन् । जस्तै जग्गु दाई पनि त एक्लै हुनुभएथ्यो । 

कति यात्राहरू एक्लै शुरू हुन्छन् । कति यात्रुहरूलाई एक्लै हुनुपर्छ ! के तपाइँसँग पनि जग्गु दाईसँग जस्तै एक्लै यात्रा गर्ने साहस अझै बाँकी छ ? मैले त्यो साहस अझै जोगाएर राख्ने कोशिस गरेको छु ।

२५ मे - २८ मे २०२६, Rasinrinne को डेराको भान्छाकोठाको टेबल !

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...