Skip to main content

शक्तिखोर र सहमति-पत्र

शक्तिखोर- खासमा चितवनमा रहेको माओवादी सेनाका लडाकुहरू राखिएको स्थान हो । तर यसको केहि शाब्दिक अर्थ पनि छ भन्ने मेरो ठम्याइ छ । अर्थात शक्तिमा पुगेर आफ्ना बिरोधी वा आफूभन्दा फरक मत भएकाहरूलार्इ खोर (कालकोठरी) मा जाक्ने । अर्थात जसको शक्ति उसैको जीत !  तर कम्तिमा पनि राजनैतिक दलका नेताहरूले यसलार्इ यसरी कहिल्यै नअर्थाउन भन्ने मेरो अपेक्षा छ । किनकी यसमा हाम्रो भविष्यको सवाल छ ।
खैर, अर्थ जे जस्तो भए पनि आज माघ ८ गतेका दिन भब्य समारोह भएछ यहाँ । भन्न त दलहरूले यसलार्इ ऐतिहासिक दिन भन्न छुटाएका छैनन् । तर मेरो आशंका कुन स्वरूपको ऐतिहासिकताको ब्याख्या गरिरहेछन् यिनीहरूले भन्ने नै हो ! इतिहासका सबै तिथि मितिहरू ऐतिहासिक नै हुन्छन् । देशमा राणाशासनको शुरू हुँदाको कोतपर्वको दिन होस् वा १७ सालको राजा महेन्द्रको कू होस् वा २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डको दिन होस् के यी तिथीमितीहरू ऐतिहासिक छैनन् र ? विशिष्ट तर कुरो त्यो ऐतिहासिकताको पक्षको हुनुपर्छ । महत्वपूर्ण त यो छ कि त्यसको ऐतिहासिकता कति डरलाग्दो छ ? सरल भाषामा भन्दा, दलहरूले ब्याख्या गरेको आजको ऐतिहासिक दिनले समग्र देशको राजनीति कता र कुन स्वरूपमा लान्छ भन्ने हो । महत्वपूर्ण कुरा त यो हो कि अब दलहरूले आजको दिनदेखि आफूहरूमा शान्तिप्रक्रियालार्इ टुंगोमा पुर्याइ लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान समयमै लेखिसक्ने जिम्मेवारी अझ घनिभूत भएको कुरा बुझ्न सक्नुपर्छ ।
बुझार्इ मानिसहरूको फरक फरक हुनसक्छ । तर बुझ्नुपर्ने सन्दर्भ र त्यसका निष्कर्षहरू साझा बनाइन सक्नु महत्वपूर्ण कुरा हो । म बिश्वस्त छु, आजको दिनलार्इ माओवादीबाहेकका दलहरूले अब माओवादीलार्इ ठेगानमा ल्याइयो, अब माओवादीका लड्काहरू विशेष समिती मातहत आए, यो जतिसुकै नै ठूलो दल हुम भनेर फुर्इ लाउँदै हिडोस् यसलार्इ देखाइदिने शक्ति त आज शक्तिखोरमा आर्जन गरिम भनेर सोच्ने भूल सायदै गर्नेछन् । प्रचण्डको प्रचण्डतालार्इ स्खलित गराइयो भन्ने भूल अन्य राजनैतिक दलका नेताहरूको ठनाइ रह्यो भने नेपाली राजनैतिक इतिहासमा त्यो भन्दा ठूलो भूल सायदै अर्को कुनै हुनेछ ।
सहमति पत्रमा त केबल माओवादी सेनाका लडाकुहरू बिशेष समिति अन्तरगत आउने कुरा मात्र उल्लेख छ । तर जनताले गरेको अपेक्षा, यो सहमति भनेको दलहरूबीच यथाशिध्र आ-आफ्ना हठहरू त्यागि शान्ति र संविधान निर्माणका लागि अगाडि बढ्न उत्प्रेरित गर्ने साधन बनोस् भन्ने नै हो ! शक्तिखोरबाट नेताहरूले जनताहरूलार्इ शान्ति, सुशासन, संविधान र अग्रगमनको प्रत्याभूति गराउने विषयमा अझ बढी चिन्तन/मनन गर्नुपर्ने आवश्यकता बोध गरेर काठमान्डु फर्केका छौं भन्नेमा विश्वस्त पार्न सके भने सायद अब अर्को देविप्रसाद उनीहरूले भोग्नु पनि नपर्ला !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...