Skip to main content

अन्तिम लडाई, प्रचण्डहरू र सपनाहरू

केहि दिनदेखि सामाजिक सञ्जालहरूमा निकै नै बाँडिएको एउटा भिडियो रहेछ – “जित्नै पर्छ यो अन्तिम लडाई तिमीले लडेर...” बोलको जनवादी गीतको प्रस्तुती । सायद दशक अगाडिको हुनुपर्छ यो । क्रान्तिकारी कलाकारहरूले जिवन्त अभिनय रहेको भिडियो हेर्दाहेर्दै मेरो पनि आँशु झरे । मेरा केहि साथीहरू बताउँदै थिए – उनीहरू पनि उस्तै भावविभोर भएछन् । 

गीत त मार्मिक छदैँछ त्यसमाथि कलाकारहरूले कथात्मक तरिकाको प्रस्तुतीले जोकोहीलाई पनि छुन्छ । यसैकारण पनि कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक विभागको महत्वपूर्ण जिम्मेवारी हुन्छ । किनभने, गीतले योद्धाहरूलाई लडाइँ लड्न प्रेरित गर्दछ, किनभने गीतले जनताहरूलाई आन्दोलनको महत्व बुझाउँछ र सबभन्दा विशेष कारण किनभने गीतले अधिकांशलाई छुन्छ । मैले हेर्ने सौभाग्य प्राप्त गरेको उक्त भिडियोमा अर्को एउटा दुर्लभ दृश्य पनि देखेँ जसमा माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डका साथमा वर्तमान प्रधानमन्त्री एवं सशस्त्र विद्रोहका अर्का महत्वपूर्ण नेता डा. बाबुराम भट्टराई पनि सांस्कृतिक कार्यक्रममा यहि गीत माथि गरिएको प्रस्तुती हेरेर भक्कानिएर रोएका छन् । सारांशमा भन्दा, कार्यक्रम हेर्नलाई उपस्थित अधिकांश मान्छेहरू रोएका छन् । गीतले छोएको छ उनीहरूलाई ।

आज समयले कोल्टे फेरेको छ । सिमान्तकृत र गरिव जनताहरूबाट धेरै पर शहरमा छन् । महलमा बस्दछन् प्रचण्ड र बाबुरामहरू । क्रान्तिको बाटोबाट पूर्ण विचलित छन् । न हिजो थियो न आज नै छ, खासमा परिवर्तनको सपना उनीहरूले कहिल्यै साँचेनन् । आज यस्तो लागिरहेछ, उनीहरूसँग फगत बाड्नलाई सपनाहरू थिए । जहाँ जतिखेर जुनजुन स्वरूपमा उनीहरूलाई सपनाको खरिदविक्रीमा लाभ हुने स्थिती रह्यो तहाँतहाँ त्यसैगरी सपनाको खरिदविक्री गरे । अहिलेपनि त गरिहेछन् ! हिजो जंगलमा गरिपगुरूवाहरूको मुक्तिका लागि देखिएका सपनाहरू ती केवल देखिनका लागि देखिएका थिए । किनकी, त्यसको कारण एकदम राजनैतिक थियो । उनीहरूले त नौटंकी नै गरेका थिए तर सबभन्दा दुःखलाग्दो कुरो उनीहरूले आफैले देख्न सिकाएको सपनालाई आत्मासाथिकरण गरी सपनालाई विपनामा परिणत गर्ने पवित्र अठोटका साथ युद्ध मैदानमा रातोतातो रगत बगाउन तत्परभएका निर्दोष र विवश जनताहरूले क्रान्तिमा समर्पित भएर लाग्नुलाई पनि नौटंकीको एक पक्ष भनेर आँकलन गरे । र, अहिले यस्तो विडम्बनापूर्ण स्थिती निर्माण हुन गयो कि उनीहरू आफैले सृजना गरेको स्वयंयको परिचय गुमाउन पुगे । ती परिचयहिन मानिसहरू भएका छन् । र, बनेका छन् गन्तब्यहिन यात्रीहरू । उनीहरूसँग कहाँ पुग्ने ? कसरी पुग्ने ? कुनै योजना छैन ।

अब त उनीहरूका प्राथमिकताका क्षेत्रहरू समेत परिवर्तन भएका छन् । हिजो उनीहरूको केन्द्रिय महत्वमा जनता थिए । जनतासँग गाँसिएका गाँस, बास र कपासका सवालहरू थिए । तर अहिले यी विषयहरू उनीहरूको छनौटका परिधीभित्र पर्दैनन् । केवल एउटै खास स्वार्थ छ उनीहरूको कि सत्ताको बागडोर चलाउने र “विदेशी प्रभु”को सेवामा इमान्दारितापूर्वक लागिपर्ने अनि उनीहरूका आँखामा सदा प्रिय बनिरहने । त्यसैले त उनीहरूलाई देशको सिमासम्बन्धी महत्वपूर्ण विषय समेत हावादारी लाग्यो । देशमा राजनैतिक व्यवस्था परिवर्तन एवं अन्य आन्तरिक विषयहरूमा जनताको मत बुझ्न गरिने जनमत सङ्ग्रहलाई उनीहरूले सिमाना निर्धारण गर्नका लागि प्रयोग गरिने उत्तम पद्धति हो भनेर मात्र बुझेनन् – नीतिका रूपमा समेत झण्डै पारित गरेनन । हिजो जंगलमा हुँदा उनीहरू सत्यको नजिक थिए । को देश र जनताको हितमा छन् वा हुन् भन्नेमा स्पष्ट थिए । अहिले एकाएक उनीहरू परिवर्तन भएका छन् । उनीहरूलाई विश्वास गर्ने हो भने नेपालमा भारतीय विस्तारवादको रबैयाले कुनै असर गरेको छैन । देशको राजनैतिक एवं प्रशासनिक क्षेत्रमा देखापरेको साम्राज्यवादी हस्तक्षेप उनीहरूका लागि स्वीकार्य छ । समग्रमा भन्नुपर्दा – हिजो जे उनीहरूलाई बेठिक लाग्थ्यो, अहिले त्यो सब ठिक र दुरूस्त लाग्न थालेको छ । 

हिजो उनीहरूलाई परिवर्तनका नायक सम्झने जनताहरू आज तिनैको कामकारवाहीको तौरतरिका देखेर तीनछक परेका छन् । खासमा उनीहरू जनताका लागि कहिल्यै लडेका रहेनछन् भन्ने आज छर्लङ्गै भएको छ । घामजस्तै छर्लङ्गै भएको छ – प्रचण्डहरू गफ चुटनमा मात्र “प्रचण्ड” छन । भाषण गर्नमा मात्र माहिर छन् । तर यी साँच्चीकै अयोग्य छन् – जनतासँग मिलेर जनताको लडाइँ लड्न । किनकी, यिनीहरूसँग जनताको मुक्तिको सपना बाँकी छैन !

Comments

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...