Skip to main content

अन्तिम लडाई, प्रचण्डहरू र सपनाहरू

केहि दिनदेखि सामाजिक सञ्जालहरूमा निकै नै बाँडिएको एउटा भिडियो रहेछ – “जित्नै पर्छ यो अन्तिम लडाई तिमीले लडेर...” बोलको जनवादी गीतको प्रस्तुती । सायद दशक अगाडिको हुनुपर्छ यो । क्रान्तिकारी कलाकारहरूले जिवन्त अभिनय रहेको भिडियो हेर्दाहेर्दै मेरो पनि आँशु झरे । मेरा केहि साथीहरू बताउँदै थिए – उनीहरू पनि उस्तै भावविभोर भएछन् । 

गीत त मार्मिक छदैँछ त्यसमाथि कलाकारहरूले कथात्मक तरिकाको प्रस्तुतीले जोकोहीलाई पनि छुन्छ । यसैकारण पनि कम्युनिष्ट आन्दोलनमा सांस्कृतिक विभागको महत्वपूर्ण जिम्मेवारी हुन्छ । किनभने, गीतले योद्धाहरूलाई लडाइँ लड्न प्रेरित गर्दछ, किनभने गीतले जनताहरूलाई आन्दोलनको महत्व बुझाउँछ र सबभन्दा विशेष कारण किनभने गीतले अधिकांशलाई छुन्छ । मैले हेर्ने सौभाग्य प्राप्त गरेको उक्त भिडियोमा अर्को एउटा दुर्लभ दृश्य पनि देखेँ जसमा माओवादी जनयुद्धका सुप्रिमो प्रचण्डका साथमा वर्तमान प्रधानमन्त्री एवं सशस्त्र विद्रोहका अर्का महत्वपूर्ण नेता डा. बाबुराम भट्टराई पनि सांस्कृतिक कार्यक्रममा यहि गीत माथि गरिएको प्रस्तुती हेरेर भक्कानिएर रोएका छन् । सारांशमा भन्दा, कार्यक्रम हेर्नलाई उपस्थित अधिकांश मान्छेहरू रोएका छन् । गीतले छोएको छ उनीहरूलाई ।

आज समयले कोल्टे फेरेको छ । सिमान्तकृत र गरिव जनताहरूबाट धेरै पर शहरमा छन् । महलमा बस्दछन् प्रचण्ड र बाबुरामहरू । क्रान्तिको बाटोबाट पूर्ण विचलित छन् । न हिजो थियो न आज नै छ, खासमा परिवर्तनको सपना उनीहरूले कहिल्यै साँचेनन् । आज यस्तो लागिरहेछ, उनीहरूसँग फगत बाड्नलाई सपनाहरू थिए । जहाँ जतिखेर जुनजुन स्वरूपमा उनीहरूलाई सपनाको खरिदविक्रीमा लाभ हुने स्थिती रह्यो तहाँतहाँ त्यसैगरी सपनाको खरिदविक्री गरे । अहिलेपनि त गरिहेछन् ! हिजो जंगलमा गरिपगुरूवाहरूको मुक्तिका लागि देखिएका सपनाहरू ती केवल देखिनका लागि देखिएका थिए । किनकी, त्यसको कारण एकदम राजनैतिक थियो । उनीहरूले त नौटंकी नै गरेका थिए तर सबभन्दा दुःखलाग्दो कुरो उनीहरूले आफैले देख्न सिकाएको सपनालाई आत्मासाथिकरण गरी सपनालाई विपनामा परिणत गर्ने पवित्र अठोटका साथ युद्ध मैदानमा रातोतातो रगत बगाउन तत्परभएका निर्दोष र विवश जनताहरूले क्रान्तिमा समर्पित भएर लाग्नुलाई पनि नौटंकीको एक पक्ष भनेर आँकलन गरे । र, अहिले यस्तो विडम्बनापूर्ण स्थिती निर्माण हुन गयो कि उनीहरू आफैले सृजना गरेको स्वयंयको परिचय गुमाउन पुगे । ती परिचयहिन मानिसहरू भएका छन् । र, बनेका छन् गन्तब्यहिन यात्रीहरू । उनीहरूसँग कहाँ पुग्ने ? कसरी पुग्ने ? कुनै योजना छैन ।

अब त उनीहरूका प्राथमिकताका क्षेत्रहरू समेत परिवर्तन भएका छन् । हिजो उनीहरूको केन्द्रिय महत्वमा जनता थिए । जनतासँग गाँसिएका गाँस, बास र कपासका सवालहरू थिए । तर अहिले यी विषयहरू उनीहरूको छनौटका परिधीभित्र पर्दैनन् । केवल एउटै खास स्वार्थ छ उनीहरूको कि सत्ताको बागडोर चलाउने र “विदेशी प्रभु”को सेवामा इमान्दारितापूर्वक लागिपर्ने अनि उनीहरूका आँखामा सदा प्रिय बनिरहने । त्यसैले त उनीहरूलाई देशको सिमासम्बन्धी महत्वपूर्ण विषय समेत हावादारी लाग्यो । देशमा राजनैतिक व्यवस्था परिवर्तन एवं अन्य आन्तरिक विषयहरूमा जनताको मत बुझ्न गरिने जनमत सङ्ग्रहलाई उनीहरूले सिमाना निर्धारण गर्नका लागि प्रयोग गरिने उत्तम पद्धति हो भनेर मात्र बुझेनन् – नीतिका रूपमा समेत झण्डै पारित गरेनन । हिजो जंगलमा हुँदा उनीहरू सत्यको नजिक थिए । को देश र जनताको हितमा छन् वा हुन् भन्नेमा स्पष्ट थिए । अहिले एकाएक उनीहरू परिवर्तन भएका छन् । उनीहरूलाई विश्वास गर्ने हो भने नेपालमा भारतीय विस्तारवादको रबैयाले कुनै असर गरेको छैन । देशको राजनैतिक एवं प्रशासनिक क्षेत्रमा देखापरेको साम्राज्यवादी हस्तक्षेप उनीहरूका लागि स्वीकार्य छ । समग्रमा भन्नुपर्दा – हिजो जे उनीहरूलाई बेठिक लाग्थ्यो, अहिले त्यो सब ठिक र दुरूस्त लाग्न थालेको छ । 

हिजो उनीहरूलाई परिवर्तनका नायक सम्झने जनताहरू आज तिनैको कामकारवाहीको तौरतरिका देखेर तीनछक परेका छन् । खासमा उनीहरू जनताका लागि कहिल्यै लडेका रहेनछन् भन्ने आज छर्लङ्गै भएको छ । घामजस्तै छर्लङ्गै भएको छ – प्रचण्डहरू गफ चुटनमा मात्र “प्रचण्ड” छन । भाषण गर्नमा मात्र माहिर छन् । तर यी साँच्चीकै अयोग्य छन् – जनतासँग मिलेर जनताको लडाइँ लड्न । किनकी, यिनीहरूसँग जनताको मुक्तिको सपना बाँकी छैन !

Comments

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...