परदेश, नयाँ काम र पुराना यादहरु
कामदारको पोशाकमा आफैलाई कैद गर्दै |
एकजना भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले (काममा लागेको केहि महिनापछि वहाँसँग मेरो भेट भएको थियो) आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्पर्कमा रहेका भाइसहित म र अर्को साथीको नम्बर उपलब्ध गराईदिएपछि एकै दिन विभिन्न समयमा अन्तरवार्ताका लागि बोलावट भएको थियो । बिहान आठबजे ती भाइको पालो थियो । सुपरभाइजरसँग एकछिन उसको कार्यालयमा पसेका उनले जागिर पाइएन भनेर निस्किए । पछि बताए – दिउँसोको समयमा पनि काम गर्नु पर्छ भन्दा सक्दिन भनेछन् भाईले र फलतः उसोभए काम दिन नसक्ने बताएछ सुपरभाइजरले । त्यो बिहान निरशमय भो । दिउँसो अन्तरवार्ता भनिएको ममा कुनै उत्साह रहेन । किन्तु, दिउँसो काम गर्न सक्छु भनिदिएपछि मेरो हातमा चाँहि उसले कामको सम्झौता–पत्र थमाईदियो । मपछि अन्तरवार्ताको पालो परेको साथीले चाँहि राहदानी नै बोक्न बिर्सनु भएछ, काम भएन । गएका थियौं तीनजना काम बन्यो मात्र एकजनाको । खासमा खुशिभन्दा धेरै बेखुशी भएर फर्किएका थियौं हामी– त्यो दिन । हेलसिन्कीबाट ४० कि.मी उत्तरपश्चिमको दिशामा रहेको हाम्रो निवासमा फर्कदा त्यो दिन हामीले टिकट नकाटी रेलको यात्रा गर्यौं । कामविहिन हामीहरुलाई प्रतिब्यक्ति ३ यूरो २५ सेन्ट खर्चनु चानचुनको कुरो थिएन पनि ।
७ मार्चदेखि मेरो समय मैले कम्पनिको चाहनाअनुरुप प्रयोग गर्नेगरी बेचेर आएको थिएँ– त्यो दिन । र, गएको बिहिबारबाट त्यो सम्झौता लागू पनि भयो । काम गर्ने शुरुको दिन म तोकिएको समयभन्दा आधाघण्टा पहिले कार्यस्थलमा पुगेँ । चिनेको एउटा पनि अनुहार थिएन त्यहाँ । केहि नेपालीहरु पनि थिए तर खासै बोलचाल भएन । सायद पहिलो दिन भएर होला दुईजना नेपाली बाहेक कोही पनि खुलेनन् । एकजनाले चाँहि परिचय गरेँ । तीनवर्षजति भएको रैछ उनले त्यहाँ काम गर्न थालेको । अर्को एकजना चाँहि युवती थिईन । जोसँग म आफै गएर परिचय गरेँ । नेपाली युवतीहरु परिचयको शुरुवात हतपत आफैले गर्दैनन्, उनले पनि गरिनन् । त्यसकारण, म आफैले कष्ट गर्नु पर्यो । कुरा गर्दै गएपछि थाहा लाग्यो – फिनल्याण्ड आएको ६ महिना भएको रहिछ उनको । र, काम थालेको चाँहि पाँच दिन । एकछिन पछि समूह नाइकेले हाम्रो हातमा कामको जिम्मेवारी थम्याईदिए । मेरो चाँहि शुरुको दिन भएकाले तालिम जस्तो हुँदो रहिछ अनि काम पनि अलि कम । युवतीको जिम्मामा ११ वटा कोठाहरु थिए भने मेरो भागमा ८ वटा ।
त्यो बिहान, साढे दश हुन दश मिनेट बाँकि हुँदा मलाई मेरो समूह नाइके बंगलादेशी साथीले नौतले पानीजहाजको दोश्रो तल्लामा पुर्याए । जहाज भर्खर स्वीडेनबाट आएको रहिछ । यात्रुहरु निस्कदै थिए । कम्पनीको सरसफाई कर्मचारीले लगाउने पोशाक लगाए जहाजतिर लम्किदै गर्दा मैले झुक्किएर पनि कुनै यात्रुको अनुहार हेरिनँ । मनमा अलिअलि लघुताभाष भएर हुनुपर्छ । ख्वै कति राम्रा युवतीहरुलाई मैले हेरिनँ, कति जोडी हसमुख जोडीहरुमा मेरो आँखा पुगेन त्यो त मलाई थाहा भएन तर उँधो मुन्टो लगाएर पानीजहाजभित्र छिर्ने लामो प्यासेजमा हिड्दै गर्दा मैले एकसाथ शिक्षक भएर पढाएका दिनहरु याद गरेँ । विद्यालयमा कार्यक्रम सञ्चालन गरेको याद गरे । विभिन्न संस्थाहरुमा कार्यक्रम अधिकृत भएर चेकमा हस्ताक्षर गरेको पलहरु याद भए । र याद भए ती दिनहरु जतिखेर म एकसाथ १०–१५ कर्मचारीहरुलाई कामकाबारेमा बुझाइरहेको हुन्थे !
र, अन्त्यमा सबै यादहरु स्मृतिमा बिस्मृत गराउन करै लाग्यो । सोही अनुरुप गरेँ । अनि शुरु भयो मैले थालनी गरेको नयाँकामको पहिलो दिन – बंगाली साथीको निरीक्षणमा आठ थान कोठाहरु र आठ थान शौचालयहरु सफा गर्ने, त्यस्तै १८ थान बिस्तरा चिरिच्याट्ट पारेर मिलाउने । ७ मार्चको दिन साढे दशबजे शुरु गरेको काम तीन बजे समाप्त भयो । त्यो काम जुन मसहित ५० भन्दाबढी नेपालीहरुले गर्दै आएका छन् । फरक यत्ति छ – कसैले भर्खरभर्खर शुरु गरेका छन्, कसैले ६–७ वर्षपहिलेदेखि गर्दैआएका छन् ।
पहेंलो पृष्ठभूमीमा लेखिएका वाक्य पछि अद्यावधिक गरेको हुँ ।
Comments