Skip to main content

परदेश, नयाँ काम र पुराना यादहरु

कामदारको पोशाकमा आफैलाई कैद गर्दै
परदेशमा महिनासम्म कामविहिन भएर बस्नुको एउटा पिडा थियो, अब त्यो पिडा समाप्त भएको छ । र, नयाँ पिडा शुरु भएको छ – रोजगार हुनुको । हुनु त खुशि हुनु पर्ने हो – बेरोजगारी भएर बस्नुपर्ने दिन – विशेषगरी विश्वविद्यालयमा पठनपाठनको तालिका नभएको दिन र सप्ताहन्तका दिनहरुमा समेत बेफुर्सदी बनिने भइयो भनेर । तर, काम पाएर पनि धेरै त्यस्ता कारणहरु हुँदा रहेछन् जसले गर्दा बेखुशी हुनुपर्ने । कारणहरु फरक होलान्, भोगाईहरुमा भिन्नता होलान् तर त्यसबाट उत्पन्न पिडा करिवकरिव उस्तै हुन्छन् । मलाई यस्तो पनि लागेको छ, कतै प्रायः मान्छेहरुका काम पाउँदाका शुरुका दिनका अनुभूतिहरु सायद उस्तै पनि हुन्छन् कि ? 

एकजना भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले (काममा लागेको केहि महिनापछि वहाँसँग मेरो भेट भएको थियो) आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्पर्कमा रहेका भाइसहित म र अर्को साथीको नम्बर उपलब्ध गराईदिएपछि एकै दिन विभिन्न समयमा अन्तरवार्ताका लागि बोलावट भएको थियो । बिहान आठबजे ती भाइको पालो थियो । सुपरभाइजरसँग एकछिन उसको कार्यालयमा पसेका उनले जागिर पाइएन भनेर निस्किए । पछि बताए – दिउँसोको समयमा पनि काम गर्नु पर्छ भन्दा सक्दिन भनेछन् भाईले र फलतः उसोभए काम दिन नसक्ने बताएछ सुपरभाइजरले । त्यो बिहान निरशमय भो । दिउँसो अन्तरवार्ता भनिएको ममा कुनै उत्साह रहेन । किन्तु, दिउँसो काम गर्न सक्छु भनिदिएपछि मेरो हातमा चाँहि उसले कामको सम्झौता–पत्र थमाईदियो । मपछि अन्तरवार्ताको पालो परेको साथीले चाँहि राहदानी नै बोक्न बिर्सनु भएछ, काम भएन । गएका थियौं तीनजना काम बन्यो मात्र एकजनाको । खासमा खुशिभन्दा धेरै बेखुशी भएर फर्किएका थियौं हामी– त्यो दिन । हेलसिन्कीबाट ४० कि.मी उत्तरपश्चिमको दिशामा रहेको हाम्रो निवासमा फर्कदा त्यो दिन हामीले टिकट नकाटी रेलको यात्रा गर्‍यौं । कामविहिन हामीहरुलाई प्रतिब्यक्ति यूरो २५ सेन्ट खर्चनु चानचुनको कुरो थिएन पनि ।

मार्चदेखि मेरो समय मैले कम्पनिको चाहनाअनुरुप प्रयोग गर्नेगरी बेचेर आएको थिएँ– त्यो दिन । र, गएको बिहिबारबाट त्यो सम्झौता लागू पनि भयो । काम गर्ने शुरुको दिन म तोकिएको समयभन्दा आधाघण्टा पहिले कार्यस्थलमा पुगेँ । चिनेको एउटा पनि अनुहार थिएन त्यहाँ । केहि नेपालीहरु पनि थिए तर खासै बोलचाल भएन । सायद पहिलो दिन भएर होला दुईजना नेपाली बाहेक कोही पनि खुलेनन् । एकजनाले चाँहि परिचय गरेँ । तीनवर्षजति भएको रैछ उनले त्यहाँ काम गर्न थालेको । अर्को एकजना चाँहि युवती थिईन । जोसँग म आफै गएर परिचय गरेँ । नेपाली युवतीहरु परिचयको शुरुवात हतपत आफैले गर्दैनन्, उनले पनि गरिनन् । त्यसकारण, म आफैले कष्ट गर्नु पर्‍यो । कुरा गर्दै गएपछि थाहा लाग्यो – फिनल्याण्ड आएको महिना भएको रहिछ उनको । र, काम थालेको चाँहि पाँच दिन । एकछिन पछि समूह नाइकेले हाम्रो हातमा कामको जिम्मेवारी थम्याईदिए । मेरो चाँहि शुरुको दिन भएकाले तालिम जस्तो हुँदो रहिछ अनि काम पनि अलि कम । युवतीको जिम्मामा ११ वटा कोठाहरु थिए भने मेरो भागमा वटा ।

त्यो बिहान, साढे दश हुन दश मिनेट बाँकि हुँदा मलाई मेरो समूह नाइके बंगलादेशी साथीले नौतले पानीजहाजको दोश्रो तल्लामा पुर्याए । जहाज भर्खर स्वीडेनबाट आएको रहिछ । यात्रुहरु निस्कदै थिए । कम्पनीको सरसफाई कर्मचारीले लगाउने पोशाक लगाए जहाजतिर लम्किदै गर्दा मैले झुक्किएर पनि कुनै यात्रुको अनुहार हेरिनँ । मनमा अलिअलि लघुताभाष भएर हुनुपर्छ । ख्वै कति राम्रा युवतीहरुलाई मैले हेरिनँ, कति जोडी हसमुख जोडीहरुमा मेरो आँखा पुगेन त्यो त मलाई थाहा भएन तर उँधो मुन्टो लगाएर पानीजहाजभित्र छिर्ने लामो प्यासेजमा हिड्दै गर्दा मैले एकसाथ शिक्षक भएर पढाएका दिनहरु याद गरेँ । विद्यालयमा कार्यक्रम सञ्चालन गरेको याद गरे । विभिन्न संस्थाहरुमा कार्यक्रम अधिकृत भएर चेकमा हस्ताक्षर गरेको पलहरु याद भए । र याद भए ती दिनहरु जतिखेर म एकसाथ १०–१५ कर्मचारीहरुलाई कामकाबारेमा बुझाइरहेको हुन्थे ! 

र, अन्त्यमा सबै यादहरु स्मृतिमा बिस्मृत गराउन करै लाग्यो । सोही अनुरुप गरेँ । अनि शुरु भयो मैले थालनी गरेको नयाँकामको पहिलो दिन – बंगाली साथीको निरीक्षणमा आठ थान कोठाहरु र आठ थान शौचालयहरु सफा गर्ने, त्यस्तै १८ थान बिस्तरा चिरिच्याट्ट पारेर मिलाउने । मार्चको दिन साढे दशबजे शुरु गरेको काम तीन बजे समाप्त भयो । त्यो काम जुन मसहित ५० भन्दाबढी नेपालीहरुले गर्दै आएका छन् । फरक यत्ति छ – कसैले भर्खरभर्खर शुरु गरेका छन्, कसैले ६–७ वर्षपहिलेदेखि गर्दैआएका छन् ।

पहेंलो पृष्ठभूमीमा लेखिएका वाक्य पछि अद्यावधिक गरेको हुँ ।

Comments

  1. लेख साह्रो मन छुने छ । अव केहि पाउन केहि गुमाउनै पर्छ निराजन सर । तपाईको लेखले हामीजस्ता लाई प्रेरणा दिन्छ ।

    ReplyDelete
  2. sarai gajab ko article rahaecha sir ko maan nai choyo aasa cha aru pani auto biography padhna paeeyaela ....

    ReplyDelete
  3. Nice.its better not to compare with your past.thats make you happy

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...