Skip to main content

परदेश, नयाँ काम र पुराना यादहरु

कामदारको पोशाकमा आफैलार्इ कैद गर्दै
परदेशमा ६ महिनासम्म कामविहिन भएर बस्नुको एउटा पिडा थियो, अब त्यो पिडा समाप्त भएको छ । र, नयाँ पिडा शुरु भएको छ – रोजगार हुनुको । हुनु त खुशि हुनु पर्ने हो – बेरोजगारी भएर बस्नुपर्ने दिन – विशेषगरी विश्वविद्यालयमा पठनपाठनको तालिका नभएको दिन र सप्ताहन्तका २ दिनहरुमा समेत बेफुर्सदी बनिने भइयो भनेर । तर, काम पाएर पनि धेरै त्यस्ता कारणहरु हुँदा रहेछन् जसले गर्दा बेखुशी हुनुपर्ने । कारणहरु फरक होलान्, भोगाईहरुमा भिन्नता होलान् तर त्यसबाट उत्पन्न पिडा करिवकरिव उस्तै हुन्छन् । मलाई यस्तो पनि लागेको छ, कतै प्रायः मान्छेहरुका काम पाउँदाका शुरुका दिनका अनुभूतिहरु सायद उस्तै पनि हुन्छन् कि ? 
एकजना प्रिय भाईको नजिकको सम्बन्धमा रहेका एकजना दाईले आफूले काम गर्ने ठाउँमा तीनजना अरु बेकामे मान्छेलाई काममा लगाईदिने अठोट गरेर प्रक्रिया शुरु गरेपछिबाट आरम्भ भएको छ – मेरो रोजगारीको कथा ! मैले अहिलेसम्म नदेखेका ती सज्जनले आफूले काम गर्ने कम्पनीका सुपरभाइजरलाई उनको सम्र्पकमा रहेका भाईसहित म र अर्को साथीको नम्बर उपलब्ध गराईदिएपछि एकै दिन विभिन्न समयमा अन्तरवार्ताका लागि बोलावट भएको थियो । बिहान आठबजे भाईको पालो थियो । सुपरभाइजरसँग एकछिन उसको कार्यालयमा पसेका उनले जागिर पाइएन भनेर निस्किए । पछि बताए – दिउँसोको समयमा पनि काम गर्नु पर्छ भन्दा सक्दिन भनेछन् भाईले र फलतः उसोभए काम दिन नसक्ने बताएछ सुपरभाइजरले । त्यो बिहान निरशमय भो । दिउँसो अन्तरवार्ता भनिएको ममा कुनै उत्साह रहेन । किन्तु, दिउँसो काम गर्न सक्छु भनिदिएपछि मेरो हातमा चाँहि उसले कामको सम्झौता–पत्र थमाईदियो । मपछि अन्तरवार्ताको पालो परेको साथीले चाँहि राहदानी नै बोक्न बिर्सनु भएछ, काम भएन । गएका थियौं तीनजना काम बन्यो मात्र एकजनाको । खासमा खुशिभन्दा धेरै बेखुशी भएर फर्किएका थियौं हामी– त्यो दिन । हेलसिन्कीबाट ४० कि.मी उत्तरपश्चिमको दिशामा रहेको हाम्रो निवासमा फर्कदा त्यो दिन हामीले टिकट नकाटी रेलको यात्रा गर्‍यौं । कामविहिन हामीहरुलाई प्रतिब्यक्ति ३ यूरो २५ सेन्ट खर्चनु चानचुनको कुरो थिएन पनि ।
७ मार्चदेखि मेरो समय मैले कम्पनिको चाहनाअनुरुप प्रयोग गर्नेगरी बेचेर आएको थिएँ– त्यो दिन । र, गएको बिहिबारबाट त्यो सम्झौता लागू पनि भयो । काम गर्ने शुरुको दिन म तोकिएको समयभन्दा आधाघण्टा पहिले कार्यस्थलमा पुगेँ । चिनेको एउटा पनि अनुहार थिएन त्यहाँ । केहि नेपालीहरु पनि थिए तर खासै बोलचाल भएन । सायद पहिलो दिन भएर होला दुईजना नेपाली बाहेक कोही पनि खुलेनन् । एकजनाले चाँहि परिचय गरेँ । तीनवर्षजति भएको रैछ उनले त्यहाँ काम गर्न थालेको । अर्को एकजना चाँहि युवती थिईन । जोसँग म आफै गएर परिचय गरेँ । नेपाली युवतीहरु परिचयको शुरुवात हतपत आफैले गर्दैनन्, उनले पनि गरिनन् । त्यसकारण, म आफैले कष्ट गर्नु पर्‍यो । कुरा गर्दै गएपछि थाहा लाग्यो – फिनल्याण्ड आएको ६ महिना भएको रहिछ उनको । र, काम थालेको चाँहि पाँच दिन । एकछिन पछि समूह नाइकेले हाम्रो हातमा कामको जिम्मेवारी थम्याईदिए । मेरो चाँहि शुरुको दिन भएकाले तालिम जस्तो हुँदो रहिछ अनि काम पनि अलि कम । युवतीको जिम्मामा ११ वटा कोठाहरु थिए भने मेरो भागमा ८ वटा ।
 त्यो बिहान, साढे दश हुन दश मिनेट बाँकि हुँदा मलाई मेरो समूह नाइके बंगलादेशी साथीले नौतले पानीजहाजको दोश्रो तल्लामा पुर्याए । जहाज भर्खर स्वीडेनबाट आएको रहिछ । यात्रुहरु निस्कदै थिए । कम्पनीको सरसफाई कर्मचारीले लगाउने पोशाक लगाए जहाजतिर लम्किदै गर्दा मैले झुक्किएर पनि कुनै यात्रुको अनुहार हेरिनँ । मनमा अलिअलि लघुताभाष भएर हुनुपर्छ । ख्वै कति राम्रा युवतीहरुलाई मैले हेरिनँ, कति जोडी हसमुख जोडीहरुमा मेरो आँखा पुगेन त्यो त मलाई थाहा भएन तर उँधो मुन्टो लगाएर पानीजहाजभित्र छिर्ने लामो प्यासेजमा हिड्दै गर्दा मैले एकसाथ शिक्षक भएर पढाएका दिनहरु याद गरेँ । विद्यालयमा कार्यक्रम सञ्चालन गरेको याद गरे । विभिन्न संस्थाहरुमा कार्यक्रम अधिकृत भएर चेकमा हस्ताक्षर गरेको पलहरु याद भए । र याद भए ती दिनहरु जतिखेर म एकसाथ १०–१५ कर्मचारीहरुलाई कामकाबारेमा बुझाइरहेको हुन्थे ! 
र, अन्त्यमा सबै यादहरु स्मृतिमा बिस्मृत गराउन करै लाग्यो । सोही अनुरुप गरेँ । अनि शुरु भयो मैले थालनी गरेको नयाँकामको पहिलो दिन – बंगाली साथीको निरीक्षणमा आठ थान कोठाहरु र आठ थान शौचालयहरु सफा गर्ने, त्यस्तै १८ थान बिस्तरा चिरिच्याट्ट पारेर मिलाउने । ७ मार्चको दिन साढे दशबजे शुरु गरेको काम तीन बजे समाप्त भयो । त्यो काम जुन मसहित ५० भन्दाबढी नेपालीहरुले गर्दै आएका छन् । फरक यत्ति छ – कसैले भर्खरभर्खर शुरु गरेका छन्, कसैले ६–७ वर्षपहिलेदेखि गर्दैआएका छन् ।
3 comments

Popular posts from this blog

नेताको छोरा १ - समाज, विकास र चुनाव

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)
“यहाँ के छैन?” रेलगाडीभित्रबाट बाहिर चियाउँदै मैले आफैलाई प्रश्न गर्ने गर्दछु । शिशाबाहिर चिल्ला सडकहरु देखिन्छन । सफा पानी पोखरीहरु देखिन्छन । अनि देखिन्छन्, ससाना नानीबाबुहरुको किताबमा कोरिएका चित्रहरुमा जस्तै आँखाभरी बस्ने खेल मैदान, बगैंचा र घरहरु पनि । बिगत ५ बर्षदेखि म काममा जाँदै गर्दा या बिद्यालय जाँदै गर्दा अनि कहिलेकाही साथीभाईहरु भेट्न जाँदा उहि बाटो त्यहि नामको रेलगाडीे चढेर मैले गर्ने रेलयात्रा तीनै ५ वटा बिसौनी पार गरेर १५ मिनेटमा अन्तिम बिसौनीमा पुगेर रोकिन्छ तर मेरा मनभरी उब्जने तर्कनाहरु रेलगाडीसँगै रोकिदैनन् । ती अझै बढ्दै जान्छन । 
सडकमा मान्छेहरु हतारिदै आ…

नेताको छोरा २ - टिकट, उत्साह र यात्रा

(यो बि.सं. २०७४ मा नयाँ संविधानको कार्यान्वयनको कठीन खुडकिलो मानिएको तीन तहको निर्वाचन सम्पन्न गरेर समृद्द नेपालको सपना साकार पार्ने लक्ष्यमा अगाडि बढेको जिकिर गरिएको हाम्नो सुन्दर हिमाली राज्य नेपालको चुनावमा म स्वंय प्रतक्ष्य सहभागी भएर अनुभूत गरेका अनुभवहरूको श्रृङ्खला हो । जसलाई मैले नेताको छोरा नाम दिएको छु । यस श्रृङ्खलामा म चुनावका अँध्यारा र उज्याला पक्षहरूलाई अधिकतम इमान्दारीताका साथ प्रस्तुत गर्नेछु ।)"दाई, बधाई छ । अंकलको टिकट भएजस्तो छ ।" एकजना गाउँले भाईले फेसबुक म्यासेन्जरमा खबर गरेको रहिछन् । मैले आश्चर्यतापूर्वक उनलाई प्रतिप्रश्न गरेँ – "को अंकल ?" मेरो प्रश्नले ती भाई झन छक्क परे । भने, "को अंकल हुनु ? हजुरको बाबा के!" "कहाँ अंकल भन्या त ? तिमीले मेरो बाबालाई पुसाजु भन्नुपर्छ ।" मैले उनलाई हाम्रो नाता सम्झाउनु आफ्नो कर्तव्य ठानेँ । फेरि चुनावको पारो ह्वात्तै बढ्दै थियो । बाबाले टिकट पाएको अपुष्ट समाचार जसले सुनाएको छ, प्रचार उही ब्यक्तिबाट थाल्नु पनि चुनावी रणनीतिको एउटा पाटो त छँदै थियो ।
यसरी, एउटा गाउँले भाईबाट बाले संसदीय निर…

सामाजिक संजाल, म अनि मेरा साथीहरू

अचानक १६ डिसेम्बरको दिन, अभूतपूर्व साहसका साथ मैले एउटा निर्णय लिएँ । विद्यमान सामाजिक संजालहरूबाट बाहिरिने । उसो त बेलाबेलामा म सामाजिक संजालहरू विशेष गरी फेसबुकबाट दुईचार दिनका लागि विश्राम लिने गर्दथेँ । त्यसरी विश्राम लिदा एकाध साथीभाईहरूले बडो प्रेमपूर्वक मसँग संचार सम्पर्क स्थापित गर्थे। फेसबुकमा निकै नै सक्रिय हुने मलाई छिट्टै फर्किनलाई आग्रह पनि गर्थे । उनीहरूको आग्रह सँगसँगै म फेरि त्यहि भर्चुअल दुनियाँमा सामाजिक सम्बन्धहरूको नविकरण गर्ने कामलाई निरन्तरता दिने गर्दथे । ट्विटरमा खासै सक्रिय नहुने मलाई इन्स्टाग्राममा बेलाबेलामा तरह तरहका तस्बीरहरू पोस्टिनु मन पर्थ्यो । तर, फेसबुकमा चाँहि म अचाक्ली नै सक्रिय थिएँ । तर ८ बर्षदेखिको फेसबुकको खातालाई सदाका लागि निष्क्रिय पारेपछि मसँग चल्तिका सामाजिक संजालमा प्रोफाइल रहेन ।  अतः बितेका आधा महिनादेखि म साँच्चिकै सामाजिक जीवन बाँच्ने प्रयत्नमा लागेको छु ।
उसो त सामाजिक संजालबाट बाहिरिनुलाई कतिपयले साथीभाईहरूको विशाल संजालबाट आफूलाई विमूख पार्नु हो भनेर बुझ्ने गर्दछन् । यहिँ नेर म फेसबुकमा मसँग जोडिएका करिब १२०० जना साथीहरू र मसँग जोड…