Skip to main content

सरकारी साहबहरू, राज्यप्रणाली अनि झिंगाहरू

यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन । अतः तीनले मात्र हैन आम मान्छेहरूले पनि बुझ्नु जरूरी छ, नागरिकको सेवामा राज्यप्रणाली जिम्मेवार हुन्छ, कोही कसैको लहड होईन ।

उसो त देशभर यो विषय सामान्य अभ्यासमा नै छ । तर म्याग्दीमा यो अति सामान्यकृत गरिएको छ । मानिसहरूलाई न राज्यको भूमिकाका बारे ज्ञात छ, न उनीहरूले आफ्ना दायित्वका बारे बोध नै गरेका छन । यसो किन पनि भो भने पछिल्ला बर्षहरूमा बेनी खाल्डोको साँघुरो घेराभन्दा फराकिलो सोंच निर्माणमा समाजमा चिनिएका (फेसबुके पहिचान) हरू नै असमर्थ रहे । बरू उनीहरू नै सहज राज्यप्रणालीलाई जबरजस्त निकम्मा बनाउन लागिपरेका छन । मलाई सबभन्दा खेद (😒) त ती सरकारी साहबहरूप्रति छ,  जसले नेपाल सरकारको नुन खाएर जिल्लाका केहि तथाकथित 'जी'हरूको सेवा गर्छन । यो खेदजनक कृयाकलापले हाम्रो राज्य संयन्त्रलाई खोस्टो बनाउँदै गएको छ । के खोस्टो संयन्त्रमाथि आममानिसको आस्था सधैं उस्तै रहन्छ त? दुर्भाग्यवशः त्यस्तो हुँदैन । त्यसकारण, कुन महाशयले कस्तो समाजसेवा गरेर राज्यलाई कत्रो गुण लगाउनुभो भन्ने नभैं महत्वपूर्ण यो छ कि राज्यप्रणालीले संकटको सामना गर्नलाई नागरिकलाई कस्तो सहायता गर्यो ? अझ त्यो भन्दा गहन विषय के हामीले त्यस्तो प्रणाली विकास गर्न नागरिकका तर्फबाट हुनुपर्ने खबरदारी गर्यौ त? वा, दुई चार कामको तस्बीर सामाजिक संजालमा छरप्रष्ट पार्दै आफ्नो नायकत्वको रूमानी संसार सृजना गर्दैछौं ?

के हामीले चाहेको राज्यप्रणालीमा आफूलाई समस्या पर्दा फलानोजीलाई सम्पर्क गर्ने हो ? के हामीहरू जनताको यावत समस्याको निकास राज्यको संयन्त्रमा नभै टाँकुरे साइँला, टुकिघरे जेठा वा भिमसेन टोलका कान्छासँग छ भन्ने विश्वास बाड्न चाहिरहेका छौं ? बिरामी अस्पताल पुर्याउने एम्बुलेन्सका लागि १० अंकको मोबाइल नम्बर थिचेर फलानो संस्थाको ढिस्कानालाई फोन गरेर डाक्नुपर्ने ? कस्तो दुर्भाग्य लिएर मानिसहरू बाँच्न विवश छन ? एम्बुलेन्स माग्ने निम्छरो र उपलब्ध गराउने चैं महान दाता बन्ने भाष्य कहिलेसम्म निर्माण गर्ने हो ? कहिलेसम्म संस्थैपिच्छे एम्बुलेन्स अनि एम्बुलेन्सपिच्छे फरक फरक १० अंकको मोबाइल नम्बर सम्झनुपर्ने हो ? यस्तो सामान्य समस्या सम्बोधनका लागि सरकारले यत्रो वर्ष खेर फालेको छ, अहिले बल्ल एकिकृत एम्बुलेन्स सेवाको अवधारणा सारेको छ । यस्तो किन भयो त ? किनकी, बिरामी मान्छेलाई अस्पताल पुर्याउन महान (!) आत्माहरू इतिहासदेखि वर्तमानसम्म देशैभरी भडकिरहेछन् ।

अघिल्लोदिन सम्चार लेखिन्छ - मान्छेले भोकै बस्नुपर्यो, भोलीपल्टदेखि महान (!) आत्माहरू छटपटिन थाल्छन् । सहयोग रकम आव्हान गर्दै फेसबुकका भित्ताहरू रंग्याउँछन्, विदेशतिर बस्ने म्याग्देलीहरूको खल्तीभित्र मानवताको काउँसो छिर्छ,  दुईचार हजार नपठाएसम्म त्यो काउँसोले मन चिलाइराख्न छाड्दैन । उता खाल्डोमा घाममा भुँडी सुकाएका भ्यागुताहरूको तेस्रो नेत्र खुल्न थाल्छ । तीनले अरूबाट उठाएको रकमी सहयोगको खास प्रभावभन्दा बढ्ता फेसबुके प्रचारको प्रभाव विशेष बनाउन थाल्छन् । यता गोजीभित्र काउँसो छिराएकोहरूको चिलाई बिस्तारै नामेट हुँदै जान्छ, उता घामको न्यानो पाएको भुँडीको हड्डी हाँस्छ । हड्डीमात्र हाँस्दैन, महान (!) आत्माले झन बढी फुल्ने मौका प्राप्त गर्दछ । देशका नयाँ राजाले तीन बर्ष भो कोही पनि जनता भोकै बस्नुनपर्ने गुड्डी हाँकेको तर जिल्लामा आफ्नै भारदारहरूले भोका जनताका भोक मेटाउनका लागि कत्रो कष्ट खेप्नुपरेको छ महाराजलाई पत्तो छैन । राज्यप्रणालीलाई निकम्मा कसले बनाउँदैछ? कुरो छर्लङ्गै छ !

जिल्लामा राज्यप्रणालीको निकम्मापन हिजोदेखि आजसम्म बिस्तारै बिस्फारित हुँदै गएको छ । यो लगभग धरासयी हुने अवस्थामा पुगेको छ । सरकारी साहबहरूले बेलैमा गम्भीर नहोइदिने हो भने राज्यप्रणाली माथिको यो तारन्तारको आक्रमण यसै रोकिनेवाला छैन । जिल्ला भित्रिदा पाइने खाँदा र अबिर जिल्ला बाहिरिदा मिल्ने अबिर र फूलमालाको भारले साहबहरूलाई नथिचोस् । किनकी, ती 'सीनोमा भन्किने झिंगा' जस्ताहरूले यहाँहरूलाई माला पहिराएको भएपनि, उन्नेहरू साहबहरूलाई साँच्चिकै समानयोग्य ब्यक्तित्व ठान्छन, ती माला उन्नेहरू परिवर्तन चाहने वर्गहरू हुन । साहबहरू नै रोज्नुस् - सेवा माला उन्नेहरूको गर्ने या माला पहिराउनेहरूको ?!

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...