सरकारी साहबहरू, राज्यप्रणाली अनि झिंगाहरू

यो ब्लग पढिरहँदा कतिपयलाई नमज्जा लाग्नसक्छ, लागोस् । तर आफ्ना विचारलाई निस्पृह गर्नु आवश्यक ठानेकाले यो ब्लग लेख्दैछु । यो ब्लग यस कारण पनि लेख्नु आवश्यक ठानेँ कि आम मानिसहरूले आफ्ना भूमिका र दायित्वका बीचको भिन्नता थाहा पाउनै पर्छ । मानिसहरूले यो पनि बुझ्नुपर्छ कि राज्यप्रणाली भन्दा माथि देशको कार्यकारी समेत हुँदैन, दुई चार करोडका कारोबार अनि चार पाँचजना अरौटे भरौटे अघिपछि लगाउनेहरूको कुरै भएन । अतः तीनले मात्र हैन आम मान्छेहरूले पनि बुझ्नु जरूरी छ, नागरिकको सेवामा राज्यप्रणाली जिम्मेवार हुन्छ, कोही कसैको लहड होईन ।

उसो त देशभर यो विषय सामान्य अभ्यासमा नै छ । तर म्याग्दीमा यो अति सामान्यकृत गरिएको छ । मानिसहरूलाई न राज्यको भूमिकाका बारे ज्ञात छ, न उनीहरूले आफ्ना दायित्वका बारे बोध नै गरेका छन । यसो किन पनि भो भने पछिल्ला बर्षहरूमा बेनी खाल्डोको साँघुरो घेराभन्दा फराकिलो सोंच निर्माणमा समाजमा चिनिएका (फेसबुके पहिचान) हरू नै असमर्थ रहे । बरू उनीहरू नै सहज राज्यप्रणालीलाई जबरजस्त निकम्मा बनाउन लागिपरेका छन । मलाई सबभन्दा खेद (😒) त ती सरकारी साहबहरूप्रति छ,  जसले नेपाल सरकारको नुन खाएर जिल्लाका केहि तथाकथित 'जी'हरूको सेवा गर्छन । यो खेदजनक कृयाकलापले हाम्रो राज्य संयन्त्रलाई खोस्टो बनाउँदै गएको छ । के खोस्टो संयन्त्रमाथि आममानिसको आस्था सधैं उस्तै रहन्छ त? दुर्भाग्यवशः त्यस्तो हुँदैन । त्यसकारण, कुन महाशयले कस्तो समाजसेवा गरेर राज्यलाई कत्रो गुण लगाउनुभो भन्ने नभैं महत्वपूर्ण यो छ कि राज्यप्रणालीले संकटको सामना गर्नलाई नागरिकलाई कस्तो सहायता गर्यो ? अझ त्यो भन्दा गहन विषय के हामीले त्यस्तो प्रणाली विकास गर्न नागरिकका तर्फबाट हुनुपर्ने खबरदारी गर्यौ त? वा, दुई चार कामको तस्बीर सामाजिक संजालमा छरप्रष्ट पार्दै आफ्नो नायकत्वको रूमानी संसार सृजना गर्दैछौं ?

के हामीले चाहेको राज्यप्रणालीमा आफूलाई समस्या पर्दा फलानोजीलाई सम्पर्क गर्ने हो ? के हामीहरू जनताको यावत समस्याको निकास राज्यको संयन्त्रमा नभै टाँकुरे साइँला, टुकिघरे जेठा वा भिमसेन टोलका कान्छासँग छ भन्ने विश्वास बाड्न चाहिरहेका छौं ? बिरामी अस्पताल पुर्याउने एम्बुलेन्सका लागि १० अंकको मोबाइल नम्बर थिचेर फलानो संस्थाको ढिस्कानालाई फोन गरेर डाक्नुपर्ने ? कस्तो दुर्भाग्य लिएर मानिसहरू बाँच्न विवश छन ? एम्बुलेन्स माग्ने निम्छरो र उपलब्ध गराउने चैं महान दाता बन्ने भाष्य कहिलेसम्म निर्माण गर्ने हो ? कहिलेसम्म संस्थैपिच्छे एम्बुलेन्स अनि एम्बुलेन्सपिच्छे फरक फरक १० अंकको मोबाइल नम्बर सम्झनुपर्ने हो ? यस्तो सामान्य समस्या सम्बोधनका लागि सरकारले यत्रो वर्ष खेर फालेको छ, अहिले बल्ल एकिकृत एम्बुलेन्स सेवाको अवधारणा सारेको छ । यस्तो किन भयो त ? किनकी, बिरामी मान्छेलाई अस्पताल पुर्याउन महान (!) आत्माहरू इतिहासदेखि वर्तमानसम्म देशैभरी भडकिरहेछन् ।

अघिल्लोदिन सम्चार लेखिन्छ - मान्छेले भोकै बस्नुपर्यो, भोलीपल्टदेखि महान (!) आत्माहरू छटपटिन थाल्छन् । सहयोग रकम आव्हान गर्दै फेसबुकका भित्ताहरू रंग्याउँछन्, विदेशतिर बस्ने म्याग्देलीहरूको खल्तीभित्र मानवताको काउँसो छिर्छ,  दुईचार हजार नपठाएसम्म त्यो काउँसोले मन चिलाइराख्न छाड्दैन । उता खाल्डोमा घाममा भुँडी सुकाएका भ्यागुताहरूको तेस्रो नेत्र खुल्न थाल्छ । तीनले अरूबाट उठाएको रकमी सहयोगको खास प्रभावभन्दा बढ्ता फेसबुके प्रचारको प्रभाव विशेष बनाउन थाल्छन् । यता गोजीभित्र काउँसो छिराएकोहरूको चिलाई बिस्तारै नामेट हुँदै जान्छ, उता घामको न्यानो पाएको भुँडीको हड्डी हाँस्छ । हड्डीमात्र हाँस्दैन, महान (!) आत्माले झन बढी फुल्ने मौका प्राप्त गर्दछ । देशका नयाँ राजाले तीन बर्ष भो कोही पनि जनता भोकै बस्नुनपर्ने गुड्डी हाँकेको तर जिल्लामा आफ्नै भारदारहरूले भोका जनताका भोक मेटाउनका लागि कत्रो कष्ट खेप्नुपरेको छ महाराजलाई पत्तो छैन । राज्यप्रणालीलाई निकम्मा कसले बनाउँदैछ? कुरो छर्लङ्गै छ !

जिल्लामा राज्यप्रणालीको निकम्मापन हिजोदेखि आजसम्म बिस्तारै बिस्फारित हुँदै गएको छ । यो लगभग धरासयी हुने अवस्थामा पुगेको छ । सरकारी साहबहरूले बेलैमा गम्भीर नहोइदिने हो भने राज्यप्रणाली माथिको यो तारन्तारको आक्रमण यसै रोकिनेवाला छैन । जिल्ला भित्रिदा पाइने खाँदा र अबिर जिल्ला बाहिरिदा मिल्ने अबिर र फूलमालाको भारले साहबहरूलाई नथिचोस् । किनकी, ती 'सीनोमा भन्किने झिंगा' जस्ताहरूले यहाँहरूलाई माला पहिराएको भएपनि, उन्नेहरू साहबहरूलाई साँच्चिकै समानयोग्य ब्यक्तित्व ठान्छन, ती माला उन्नेहरू परिवर्तन चाहने वर्गहरू हुन । साहबहरू नै रोज्नुस् - सेवा माला उन्नेहरूको गर्ने या माला पहिराउनेहरूको ?!

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)