Skip to main content

अनि हुन्छन् विच्छेद सम्बन्धहरू !

ai generated image of a nepali couple

छुट्टिने भन्ने थाहा हुन्थ्यो भने सायदै जोडिन्थे कुनै सम्बन्धहरू । 

बाहिरी संसारमा देखाउनका लागि एउटा भएपनि भित्रीरूपमा कति धेरै मान्छेहरूका मान्छेहरूसँग फरक किसिमका सम्बन्धहरू बन्दा रहेछन् । कुनैदिन मलाई एक सज्जनले नभनेका पनि होइनन् कि फेसबुक प्रोफाइलमा बुढाबुढीले चुम्बन साटेको तस्बीर साझा गरेका भएपनि भित्री रूपमा उनीहरूको सम्बन्ध त्यस्तो विशेष नहुन सक्छ । मलाई नलागेको पनि हैन्, कि सारा दुनियाँका अगाडि पतिपत्नीबिचको सम्बन्धको सुमधुरताको माधुर्यता साझा गर्न सक्नेहरू साँच्चिकै जीवनमा झन कति विघ्न माया साटासाट गर्दा हुन् ? एक अर्काप्रति कुन हदसम्म समर्पित हुँदा हुन् ? 

ख्वै, मैले बिर्सिएको हो या सम्झन नचाहेको खासमा भावनाको कुनै ठोस् आकार हुँदैन् । र, माया, स्नेह, आकर्षणमा आधारित हर सम्बन्धहरू क्षणभंगुर हुन्छन् । किनकी, यी सबै आखिर भावनाहरू न हुन् । यसकारण, माया, स्नेह, आकर्षणले ठोस आकार लिन अममर्थ हुन्छन् । तर के निराकार भाव अभिव्यक्त गर्न असम्भव छ र ? पक्कै पनि छैन् । तसर्थ प्रश्न यो होईन् कि निराकार भाव अभिव्यक्त भयो या भएन । प्रश्न त खासमा हामीले आकारविहीन मायाप्रेमलाई किन सधें सादृश्य राख्न खोज्छौं ? 

चल्तिकी एक गायिकाको वैवाहिक जीवन एक वर्ष नपुग्दै विच्छेद हुन पुग्यो । यो हालैको घटना हो, यसको प्रभाव अझै हामीबिच छ । अझै कतिपय मानिसहरूले यस विषयमा कुरा गर्न छाडेका छैनन् । केहि वर्ष पहिले हास्यव्यंग्यका एक उम्दा कलाकारको दुई दशकभन्दा बढिको लामो वैवाहिक स्थिति श्रीमतीसँगको अंशबण्डा र सम्बन्धविच्छेदमा पुगेर टुंगियो । यो सायदै आम मानिसहरूबीच उति चर्चाको विषय बन्ने गर्छ । किनभने यो खबर अब यसबिचमा सार्वजनिक कैयन सम्बन्ध विच्छेदका समाचारहरूको खातमुनि परिसकेको सम्बन्ध विच्छेदको एक अर्को सामान्य समाचार मात्र बन्न पुग्यो । संसारको कुन कुनामा त्यस्तो घटना होला जुन सदाबहार चर्चामा रहेको होस् ? 

यसकारण पनि जीवनमा अगाडि बढ्नका लागि मानिसका लागि विस्मृति एक भरपर्दो हतियार हो । समयले मानिसको चोटमा खाँटो बसाउन मद्दत गर्दछ, बुढापाकाहरूले यसै भनेका होइनन् । मेरो विचारमा, विस्मृति नामको यो भरपर्दो हतियार हामीले आफ्नो दैन्दिन जीवनमा खासगरिकन वैवाहिक सम्बन्धमा जति धेरै प्रयोग गर्न सक्यो, उति नै प्रगाढ सम्बन्ध बनाउन यसले मद्दत गर्दछ । श्रीमानले तीन वर्ष पहिले के भनेर चित्त दुखाएको थियो भन्ने सम्झिसम्झिकन तीन वर्षपछि पनि झगडा शुरू गर्ने श्रीमती कसरी असल जीवनसाथी होलिन् ? तीन दिन अगाडि श्रीमतीले के विषयमा निहुँ खोजेकी थिइन् याद गरिगरिकन आज पाखुरा सुर्कने लोग्नेले दाम्पत्यजीवनको बाँकी वर्षहरूमा आफ्नी पत्नीलाई कसरी खुशी राख्न सक्ला ? फरगिभ बट नट फरगेट (क्षमा देऊ तर नबिर्स) धेरैले अनगिन्ति सन्दर्भहरूमा यो अङ्ग्रेजी टुक्का उद्दरण गरेको सुनिन्छ, तर विशेष रूपमा वैवाहिक सम्बन्धको माधुर्य* कायम राखिराख्नलाई यस अंग्रेजी वाक्यलाई परिमार्जित गर्नु जरूरी हुन्छ, फरगेट एण्ड फरगिभ (बिर्स र क्षमा देऊ) । 

मलाई थाहा छैन्, मेरी बुढीले जीवनमा मसँग कति धेरै ल्याङ् हानेकीछिन् । मलाई यत्ति चाहिँ थाहा छ, मैले जति ल्याङ् उनलाई हानेको छु, ती सबै उनलाई राम्ररी याद छ । मैले यादै गरेको छैन्, अतः उनलाई माफ गर्नुपरेको छैन् मैले । उनले याद गरेका मेरा सबै ल्याङ्हरूका लागि उनले मलाई सधैं माफि दिएकीछिन् । एकदम कलिलो उमेरमा वैवाहिक जीवनमा प्रवेश गरेका हामी हाम्रा बच्चाहरू सँगसँगै हुर्किदै आएका छौं । विवाहको अठार वर्ष बित्नै लागेको छ, तर अहिलेसम्म त्यस्तो घोत्लिने गरी कम्तिमा पनि अठारै घण्टा सही बोलचाल बन्द हुने गरी कुनै मनमुटाव भएको छैन् । त्यसको खास कारण उनको क्षमाशील सामर्थ्य र मेरो विस्मृतीको क्षमता नै हो । 

हाम्रा हुर्काइहरूमा अक्सर छोरीहरूलाई कडा अनुशासन तर छोराहरूलाई विशेष स्वतन्त्रता दिइने भएकाले पनि हुनुपर्छ, हामी कमै पुरूषहरू श्रीमतीसँगको सम्बन्धमा आउने उतारचढावको मुख्य कारक आफूलाई मान्छौं । तर के सम्बन्धहरू ज्यादातार स्त्रीहरूका कारण समस्यामा छन् त ? मैले देखेका प्रायः सम्बन्धहरूमा आउने उतारचढावमा पुरूष अहमताको मुख्य भूमिका छन् ।  तर फेरि मनमा यो प्रश्न सृजित भै रहन्छ कि मैले बुढीलाई दिएको दुख, कहिलेकाही बुढीले मलाई गर्ने व्यंग्यबाणबारे आपसमा चर्चा गर्नु के स्वस्थ सम्बन्ध कायम राखिराख्न यो सब अपरिहार्य छ ?

श्रीमतीप्रति विशेष कृतज्ञ म यसकारण पनि छु कि कतिपय अवस्थामा उनले मलाई आमाले दिने प्रेम दिन्छिन् । आमाले जस्तै उनले पनि मेरा पीरचिन्ताबारे कति सजिलै अड्कल काट्न सक्छिन् । आमाले जस्तो ख्याल गर्ने श्रीमती हरकोहीको भाग्यमा हुँदैन् । उसो त बाबाले जस्तै सुरक्षाको अनुभूति गराउने श्रीमान् पनि हर कोही स्त्रीका भाग्यमा नहुन सक्छ । तर कुनै पनि लोग्ने मान्छेले आफ्नी श्रीमती सधैं आमा जस्तै बनुन् भन्ने चाहँदैन् । त्यस्तै कुनै पनि स्त्री आफ्नो पति सधैंजसो बाबाकै रूप धारण गरोस् भन्ने सायदै चाहन्छन् । यस्तो गर, उस्तो नगर, त्योसँग नबोल, यो खाऊ, त्यो नलगाऊ ! यी निर्देशनात्मक सल्लाह सुझावहरू अबको जमानामा प्रचलनयोग्य छैनन् ।

श्रीमानश्रीमतीका रूपमा हाम्रा बाआमाका सम्बन्ध र हामी श्रीमानश्रीमतीका सम्बन्धका आयामहरूमा भिन्नताका स्पष्ट रेखाहरू देखिन थालेका छन् । अबको समय दुई वयस्क युवायुवतीले एकाघ वर्षसँगै बिताउँदैमा बिहे भएको मानिदैन् । बिबाह पछाडि जीवनको रथ हाँकनमा दुबैले के कति मेहनत गर्यो, एक अर्काको परिपुरक भएर कसरी काम गर्यो, एक अर्काको भावनाको कदर कति सम्म गरियो भन्ने परख नगरिकन विवाह भएको मानिदैन । सँगै वर्षहरू बिताउदैमा श्रीमान् श्रीमतीको सम्बन्ध कायम हुन्थ्यो भने पच्चिस छब्बिस वर्षसम्म वैवाहिक जीवनमा रहेका जोडीहरू बुढेसकालमा किन छुट्टिन्थे ? श्रीमानको मृत्युपछि सारा संसार ध्वस्त भो भन्दै चित्कार गर्ने नव यौवनाहरू वर्ष दिन, दुई वर्षमा फेरि किन अर्को विवाह बन्धनमा बाधिन्थे र ? दिवंगत श्रीमतीका यादमा काव्य लेख्ने महान् लेखकहरूले दोस्रो विवाह पनि नगर्दा हुन् । 

अनि सम्बन्धहरू स्वार्थरहित हुन्थे भने सन्तान भएन भनेर श्रीमती माथि सौता हाल्ने लोग्नेमान्छेहरू हुन्थेनन् । श्रीमानले गरिवीबाट मुक्ति दिन नसकेका कारण ऊसँगको सम्बन्धबाट मुक्त नहुने श्रीमतीहरू भेटिन्थे होला । अरूहरू सम्बन्धहरू जस्तै श्रीमान श्रीमतीबिचको सम्बन्धपनि आपसी स्वार्थको गठजोड न रहेछ । एकअर्काको स्वार्थ नबाँझिदाको हदसम्म सम्बन्ध सुमधुर, नत्र च्वाट्टै ! 

सबभन्दा महत्वपूर्ण सिकाई भनेको श्रीमान् श्रीमतीको सम्बन्ध दबाब र प्रभावबाट मुक्त नहुने हो भने समस्याग्रस्त हुन्छन् ।  पतिले पत्निको स्वतन्त्रता र पत्नीले पतिको स्वतन्त्रताको कदर गर्न सक्नु जति महत्वपूर्ण छ, आफ्नो स्वतन्त्रताको रसस्वादन गरिरहँदा आफ्नो जीवनसाथीलाई तनाव हुने स्थिति बन्नु दिनुभएन् । यदि यस्तो गर्न सकिदैन् भने, सबभन्दा उत्तम विकल्प भनेको अलग हुनू नै हो । तेल र पानीजस्तो स्वभाव लिएर अन्तरघुलनको अपेक्षा राख्नु गलत मात्रै हैन् मुर्खतापूर्ण हुन्छ । कि कसो हो ? 
*यस अघि अन्यथा पर्न गएकोमा सच्चाइएको। धन्यवाद मित्र मुक्ति।

Comments

  1. आज फेरि धमकेदार लेखसहित हाम्रा निराजन भाइ आएछन्। खुसी लाग्यो। सम्बन्धहरूको आयाम को बारेमा हो सम्बन्धको आकार हुँदैन त्यसैले यसलाई निराकार भनिन्छ तर के पनि होइन भने सम्बन्ध त्यस्तो आकारै नभएको पनि हुँदैन। यसका आफ्नै विशेषताहरु सहितको आकार हुन्छ जुन हामीलाई भौतिक विज्ञानले व्याख्या गरेजस्तो गर्न नमिल्ने भएको मात्र न हो। विवाह पूर्वको सम्बन्ध र विवाहपछिको सम्बन्ध को बारेमा थोरै पनि ज्ञान नभएका लठ्ठकहरू जसले विवाह गरेको छोटो समय पछाडि नै वैवाहिक जीवनमा द्वन्दका आएका कारण सम्बन्ध विच्छेद भएका कुराहरु लाई खासै ध्यान दिनु जरुरी छैन वैवाहिक जीवन एउटा विश्वासमा अडेको हुन्छ जस्तो लाग्छ न कि श्रीमानल/ श्रीमतीले आफ्ना सहपाठी साथीहरूको फोटोमा लाइक बटन थिचेकै कारण झगडा भएर सामाजिक सञ्जालबाट बेपत्ता भएको न किन नहोस्।
    बाँकी रह्यो स्वतन्त्रता र सम्मानका कुरा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले लेखेका छन् श्रीमान र श्रीमतीको भनेको त त्यस्तो सम्बन्ध हो जहाँ जसले जसलाई जतिखेर मन लाग्छ उसलाई घचघच्याउन पाओस् जस्तै आधा रातमा बिउँझेर उठाउन पाओस्। त्यो नै हो सम्बन्ध। आखिर स्वतन्त्रता नै खोज्ने हो भने त वैवाहिक जीवन जस्तो एक खालको स्वतन्त्रतै नभएको बन्धनमा किन बाँधिनु त्यसैले स्वतन्त्रताका आफ्नै दायरा हुन्छन् जुन सहमतिमा कोर्नुपर्छ।
    जब सम्बन्धमा सीमारहित माया स्नेह रहन्छ नि त्यहाँ फर्गिभ फर्गेट भन्ने शब्दको स्थान रहन्छ जस्तो लाग्दैन।
    लेखकसँग धेरै सहमतिका बावजुद पनि केही विमतिहरू रहेका कारण प्रतिक्रियामा यति कुरा लेख्न सम्भव रह्यो निराजन भाइलाई फेरि पनि। धन्यवाद

    ReplyDelete
    Replies
    1. प्रिय दाजु, यहाँले भनेजस्तै वैवाहिक जीवन निःसन्देह विश्वासमा अडेको हुन्छ । तर विश्वास दुईतर्फि हुनु जरूरी हुन्छ । विश्वासको हिसाब विशेषतः प्रायशः लोग्नेले स्वास्नीसँग माग्ने जस्तो देखिएको सन्दर्भमा यस्तो हिसाब किताब दोहोरो हुनुपर्छ भन्ने मेरो तर्क हो । सीमारहित माया स्नेह मीठो कल्पना मात्र हो दाजु, हरेक सम्बन्धहरूका सिमा छन् । अतः ती सिमाहरूको घेरो कहाँ, कसरी कोर्ने भन्ने सम्बन्धमा भएका पक्षहरूले आपसी समझदारीमा निर्धारण गर्ने विषय होला । अन्त्यमा, "फरगिभ" र "फरगेट" सम्बन्धमा माधुर्य कायम गर्नलाई आवश्यक औजार हुन् भन्नेमा म विश्वस्त छु ।

      Delete
  2. मलाइ पनि केहि भन्न मन लाग्यो

    मानबिय त्रुटीबाट कोहि पर रहन सक्दैन।
    मेरो बिचारमा सम्पूर्ण नाताहरुमा केहि कमि कमजोरी हुन्छन।
    एक त बैबाहिक सम्बन्ध अलि कति सांस्कृतिक र अलि कति धार्मिक बन्धन पनि हो, कमसेकम मेरो हकमा।
    र हाम्रो समाजको धेरै सम्बन्धहरु यिनै कारणले थेगिएका छन्। बैबाहिक मात्र होइन नि पारिवारिक सम्बन्धमा पनि हामि थुप्रै नैतिक र धार्मिक आधारमा रही सहनशिल भएका हुन्छम। त्यो कुनै पनि सम्बंधमा जायज हुन्छ। जुन एउटा राम्रो पक्ष्य पनि हो नत्र भने आमाको एक चड्कन खाएर घर त छोडेनम हामीले वा बाबा को गालि आज सम्म पनि सह्य हुन्छ।

    मलाइ लाग्दछ, एक अर्का प्रति सम्मान गर्न सिक्नु महत्वपूर्ण छ। स्वाबलंबन हुनु आवस्क्यक छ तर यो भयो भन्दैमा सम्झौता गर्न छाडी दिनु र गर्न नसक्नु आजको मूल समस्या हो जस्तो लाग्दछ। सम्बन्ध आखिरमा एक ढेर हो, मायाको, सहयोगको , सम्झनाको अनि एक अर्का सँग जिउने बानीको। अडाउने वा गिराउने त्यो आफ्नो मानसिक खेल हो। चर्किएको घरको गाह्रो बेलामा टाले राम्रो, नत्र घर भात्किनछ र त्यो स्वाभाविक हो।

    ReplyDelete
  3. श्रीमान श्रीमती भनेका भनिन्छ एक रथ का दुई पाङ्ग्रा हुन। सम्बन्ध जब सँग रहिरहन्छ तब एक अर्का सँग को बुझाइ विश्वास अनि अनुशासन कायम रहिरहन्छ यहि मूल मन्त्र ले जिन्दगी को रथ दौडी रहेको हुन्छ। सायद कति पाए जोडीहरुमा अनुशासनको कमीले गर्दा सम्बन्ध बिग्रिएको जस्तो लाग्छ। बिगार्न त कति सजिलो छ कति तर त्यो सम्बन्ध ताजा स्वस्थ बनाइराख्न पो कम्मर कस्ने हो नकिन भत्काउन। लेख पढेर मज्जा आयो। अर्को लेखको व्यग्र प्रतीक्षामा।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।