Skip to main content

अनि हुन्छन् विच्छेद सम्बन्धहरू !

ai generated image of a nepali couple

छुट्टिने भन्ने थाहा हुन्थ्यो भने सायदै जोडिन्थे कुनै सम्बन्धहरू । 

बाहिरी संसारमा देखाउनका लागि एउटा भएपनि भित्रीरूपमा कति धेरै मान्छेहरूका मान्छेहरूसँग फरक किसिमका सम्बन्धहरू बन्दा रहेछन् । कुनैदिन मलाई एक सज्जनले नभनेका पनि होइनन् कि फेसबुक प्रोफाइलमा बुढाबुढीले चुम्बन साटेको तस्बीर साझा गरेका भएपनि भित्री रूपमा उनीहरूको सम्बन्ध त्यस्तो विशेष नहुन सक्छ । मलाई नलागेको पनि हैन्, कि सारा दुनियाँका अगाडि पतिपत्नीबिचको सम्बन्धको सुमधुरताको माधुर्यता साझा गर्न सक्नेहरू साँच्चिकै जीवनमा झन कति विघ्न माया साटासाट गर्दा हुन् ? एक अर्काप्रति कुन हदसम्म समर्पित हुँदा हुन् ? 

ख्वै, मैले बिर्सिएको हो या सम्झन नचाहेको खासमा भावनाको कुनै ठोस् आकार हुँदैन् । र, माया, स्नेह, आकर्षणमा आधारित हर सम्बन्धहरू क्षणभंगुर हुन्छन् । किनकी, यी सबै आखिर भावनाहरू न हुन् । यसकारण, माया, स्नेह, आकर्षणले ठोस आकार लिन अममर्थ हुन्छन् । तर के निराकार भाव अभिव्यक्त गर्न असम्भव छ र ? पक्कै पनि छैन् । तसर्थ प्रश्न यो होईन् कि निराकार भाव अभिव्यक्त भयो या भएन । प्रश्न त खासमा हामीले आकारविहीन मायाप्रेमलाई किन सधें सादृश्य राख्न खोज्छौं ? 

चल्तिकी एक गायिकाको वैवाहिक जीवन एक वर्ष नपुग्दै विच्छेद हुन पुग्यो । यो हालैको घटना हो, यसको प्रभाव अझै हामीबिच छ । अझै कतिपय मानिसहरूले यस विषयमा कुरा गर्न छाडेका छैनन् । केहि वर्ष पहिले हास्यव्यंग्यका एक उम्दा कलाकारको दुई दशकभन्दा बढिको लामो वैवाहिक स्थिति श्रीमतीसँगको अंशबण्डा र सम्बन्धविच्छेदमा पुगेर टुंगियो । यो सायदै आम मानिसहरूबीच उति चर्चाको विषय बन्ने गर्छ । किनभने यो खबर अब यसबिचमा सार्वजनिक कैयन सम्बन्ध विच्छेदका समाचारहरूको खातमुनि परिसकेको सम्बन्ध विच्छेदको एक अर्को सामान्य समाचार मात्र बन्न पुग्यो । संसारको कुन कुनामा त्यस्तो घटना होला जुन सदाबहार चर्चामा रहेको होस् ? 

यसकारण पनि जीवनमा अगाडि बढ्नका लागि मानिसका लागि विस्मृति एक भरपर्दो हतियार हो । समयले मानिसको चोटमा खाँटो बसाउन मद्दत गर्दछ, बुढापाकाहरूले यसै भनेका होइनन् । मेरो विचारमा, विस्मृति नामको यो भरपर्दो हतियार हामीले आफ्नो दैन्दिन जीवनमा खासगरिकन वैवाहिक सम्बन्धमा जति धेरै प्रयोग गर्न सक्यो, उति नै प्रगाढ सम्बन्ध बनाउन यसले मद्दत गर्दछ । श्रीमानले तीन वर्ष पहिले के भनेर चित्त दुखाएको थियो भन्ने सम्झिसम्झिकन तीन वर्षपछि पनि झगडा शुरू गर्ने श्रीमती कसरी असल जीवनसाथी होलिन् ? तीन दिन अगाडि श्रीमतीले के विषयमा निहुँ खोजेकी थिइन् याद गरिगरिकन आज पाखुरा सुर्कने लोग्नेले दाम्पत्यजीवनको बाँकी वर्षहरूमा आफ्नी पत्नीलाई कसरी खुशी राख्न सक्ला ? फरगिभ बट नट फरगेट (क्षमा देऊ तर नबिर्स) धेरैले अनगिन्ति सन्दर्भहरूमा यो अङ्ग्रेजी टुक्का उद्दरण गरेको सुनिन्छ, तर विशेष रूपमा वैवाहिक सम्बन्धको माधुर्य* कायम राखिराख्नलाई यस अंग्रेजी वाक्यलाई परिमार्जित गर्नु जरूरी हुन्छ, फरगेट एण्ड फरगिभ (बिर्स र क्षमा देऊ) । 

मलाई थाहा छैन्, मेरी बुढीले जीवनमा मसँग कति धेरै ल्याङ् हानेकीछिन् । मलाई यत्ति चाहिँ थाहा छ, मैले जति ल्याङ् उनलाई हानेको छु, ती सबै उनलाई राम्ररी याद छ । मैले यादै गरेको छैन्, अतः उनलाई माफ गर्नुपरेको छैन् मैले । उनले याद गरेका मेरा सबै ल्याङ्हरूका लागि उनले मलाई सधैं माफि दिएकीछिन् । एकदम कलिलो उमेरमा वैवाहिक जीवनमा प्रवेश गरेका हामी हाम्रा बच्चाहरू सँगसँगै हुर्किदै आएका छौं । विवाहको अठार वर्ष बित्नै लागेको छ, तर अहिलेसम्म त्यस्तो घोत्लिने गरी कम्तिमा पनि अठारै घण्टा सही बोलचाल बन्द हुने गरी कुनै मनमुटाव भएको छैन् । त्यसको खास कारण उनको क्षमाशील सामर्थ्य र मेरो विस्मृतीको क्षमता नै हो । 

हाम्रा हुर्काइहरूमा अक्सर छोरीहरूलाई कडा अनुशासन तर छोराहरूलाई विशेष स्वतन्त्रता दिइने भएकाले पनि हुनुपर्छ, हामी कमै पुरूषहरू श्रीमतीसँगको सम्बन्धमा आउने उतारचढावको मुख्य कारक आफूलाई मान्छौं । तर के सम्बन्धहरू ज्यादातार स्त्रीहरूका कारण समस्यामा छन् त ? मैले देखेका प्रायः सम्बन्धहरूमा आउने उतारचढावमा पुरूष अहमताको मुख्य भूमिका छन् ।  तर फेरि मनमा यो प्रश्न सृजित भै रहन्छ कि मैले बुढीलाई दिएको दुख, कहिलेकाही बुढीले मलाई गर्ने व्यंग्यबाणबारे आपसमा चर्चा गर्नु के स्वस्थ सम्बन्ध कायम राखिराख्न यो सब अपरिहार्य छ ?

श्रीमतीप्रति विशेष कृतज्ञ म यसकारण पनि छु कि कतिपय अवस्थामा उनले मलाई आमाले दिने प्रेम दिन्छिन् । आमाले जस्तै उनले पनि मेरा पीरचिन्ताबारे कति सजिलै अड्कल काट्न सक्छिन् । आमाले जस्तो ख्याल गर्ने श्रीमती हरकोहीको भाग्यमा हुँदैन् । उसो त बाबाले जस्तै सुरक्षाको अनुभूति गराउने श्रीमान् पनि हर कोही स्त्रीका भाग्यमा नहुन सक्छ । तर कुनै पनि लोग्ने मान्छेले आफ्नी श्रीमती सधैं आमा जस्तै बनुन् भन्ने चाहँदैन् । त्यस्तै कुनै पनि स्त्री आफ्नो पति सधैंजसो बाबाकै रूप धारण गरोस् भन्ने सायदै चाहन्छन् । यस्तो गर, उस्तो नगर, त्योसँग नबोल, यो खाऊ, त्यो नलगाऊ ! यी निर्देशनात्मक सल्लाह सुझावहरू अबको जमानामा प्रचलनयोग्य छैनन् ।

श्रीमानश्रीमतीका रूपमा हाम्रा बाआमाका सम्बन्ध र हामी श्रीमानश्रीमतीका सम्बन्धका आयामहरूमा भिन्नताका स्पष्ट रेखाहरू देखिन थालेका छन् । अबको समय दुई वयस्क युवायुवतीले एकाघ वर्षसँगै बिताउँदैमा बिहे भएको मानिदैन् । बिबाह पछाडि जीवनको रथ हाँकनमा दुबैले के कति मेहनत गर्यो, एक अर्काको परिपुरक भएर कसरी काम गर्यो, एक अर्काको भावनाको कदर कति सम्म गरियो भन्ने परख नगरिकन विवाह भएको मानिदैन । सँगै वर्षहरू बिताउदैमा श्रीमान् श्रीमतीको सम्बन्ध कायम हुन्थ्यो भने पच्चिस छब्बिस वर्षसम्म वैवाहिक जीवनमा रहेका जोडीहरू बुढेसकालमा किन छुट्टिन्थे ? श्रीमानको मृत्युपछि सारा संसार ध्वस्त भो भन्दै चित्कार गर्ने नव यौवनाहरू वर्ष दिन, दुई वर्षमा फेरि किन अर्को विवाह बन्धनमा बाधिन्थे र ? दिवंगत श्रीमतीका यादमा काव्य लेख्ने महान् लेखकहरूले दोस्रो विवाह पनि नगर्दा हुन् । 

अनि सम्बन्धहरू स्वार्थरहित हुन्थे भने सन्तान भएन भनेर श्रीमती माथि सौता हाल्ने लोग्नेमान्छेहरू हुन्थेनन् । श्रीमानले गरिवीबाट मुक्ति दिन नसकेका कारण ऊसँगको सम्बन्धबाट मुक्त नहुने श्रीमतीहरू भेटिन्थे होला । अरूहरू सम्बन्धहरू जस्तै श्रीमान श्रीमतीबिचको सम्बन्धपनि आपसी स्वार्थको गठजोड न रहेछ । एकअर्काको स्वार्थ नबाँझिदाको हदसम्म सम्बन्ध सुमधुर, नत्र च्वाट्टै ! 

सबभन्दा महत्वपूर्ण सिकाई भनेको श्रीमान् श्रीमतीको सम्बन्ध दबाब र प्रभावबाट मुक्त नहुने हो भने समस्याग्रस्त हुन्छन् ।  पतिले पत्निको स्वतन्त्रता र पत्नीले पतिको स्वतन्त्रताको कदर गर्न सक्नु जति महत्वपूर्ण छ, आफ्नो स्वतन्त्रताको रसस्वादन गरिरहँदा आफ्नो जीवनसाथीलाई तनाव हुने स्थिति बन्नु दिनुभएन् । यदि यस्तो गर्न सकिदैन् भने, सबभन्दा उत्तम विकल्प भनेको अलग हुनू नै हो । तेल र पानीजस्तो स्वभाव लिएर अन्तरघुलनको अपेक्षा राख्नु गलत मात्रै हैन् मुर्खतापूर्ण हुन्छ । कि कसो हो ? 
*यस अघि अन्यथा पर्न गएकोमा सच्चाइएको। धन्यवाद मित्र मुक्ति।

Comments

  1. आज फेरि धमकेदार लेखसहित हाम्रा निराजन भाइ आएछन्। खुसी लाग्यो। सम्बन्धहरूको आयाम को बारेमा हो सम्बन्धको आकार हुँदैन त्यसैले यसलाई निराकार भनिन्छ तर के पनि होइन भने सम्बन्ध त्यस्तो आकारै नभएको पनि हुँदैन। यसका आफ्नै विशेषताहरु सहितको आकार हुन्छ जुन हामीलाई भौतिक विज्ञानले व्याख्या गरेजस्तो गर्न नमिल्ने भएको मात्र न हो। विवाह पूर्वको सम्बन्ध र विवाहपछिको सम्बन्ध को बारेमा थोरै पनि ज्ञान नभएका लठ्ठकहरू जसले विवाह गरेको छोटो समय पछाडि नै वैवाहिक जीवनमा द्वन्दका आएका कारण सम्बन्ध विच्छेद भएका कुराहरु लाई खासै ध्यान दिनु जरुरी छैन वैवाहिक जीवन एउटा विश्वासमा अडेको हुन्छ जस्तो लाग्छ न कि श्रीमानल/ श्रीमतीले आफ्ना सहपाठी साथीहरूको फोटोमा लाइक बटन थिचेकै कारण झगडा भएर सामाजिक सञ्जालबाट बेपत्ता भएको न किन नहोस्।
    बाँकी रह्यो स्वतन्त्रता र सम्मानका कुरा वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले लेखेका छन् श्रीमान र श्रीमतीको भनेको त त्यस्तो सम्बन्ध हो जहाँ जसले जसलाई जतिखेर मन लाग्छ उसलाई घचघच्याउन पाओस् जस्तै आधा रातमा बिउँझेर उठाउन पाओस्। त्यो नै हो सम्बन्ध। आखिर स्वतन्त्रता नै खोज्ने हो भने त वैवाहिक जीवन जस्तो एक खालको स्वतन्त्रतै नभएको बन्धनमा किन बाँधिनु त्यसैले स्वतन्त्रताका आफ्नै दायरा हुन्छन् जुन सहमतिमा कोर्नुपर्छ।
    जब सम्बन्धमा सीमारहित माया स्नेह रहन्छ नि त्यहाँ फर्गिभ फर्गेट भन्ने शब्दको स्थान रहन्छ जस्तो लाग्दैन।
    लेखकसँग धेरै सहमतिका बावजुद पनि केही विमतिहरू रहेका कारण प्रतिक्रियामा यति कुरा लेख्न सम्भव रह्यो निराजन भाइलाई फेरि पनि। धन्यवाद

    ReplyDelete
    Replies
    1. प्रिय दाजु, यहाँले भनेजस्तै वैवाहिक जीवन निःसन्देह विश्वासमा अडेको हुन्छ । तर विश्वास दुईतर्फि हुनु जरूरी हुन्छ । विश्वासको हिसाब विशेषतः प्रायशः लोग्नेले स्वास्नीसँग माग्ने जस्तो देखिएको सन्दर्भमा यस्तो हिसाब किताब दोहोरो हुनुपर्छ भन्ने मेरो तर्क हो । सीमारहित माया स्नेह मीठो कल्पना मात्र हो दाजु, हरेक सम्बन्धहरूका सिमा छन् । अतः ती सिमाहरूको घेरो कहाँ, कसरी कोर्ने भन्ने सम्बन्धमा भएका पक्षहरूले आपसी समझदारीमा निर्धारण गर्ने विषय होला । अन्त्यमा, "फरगिभ" र "फरगेट" सम्बन्धमा माधुर्य कायम गर्नलाई आवश्यक औजार हुन् भन्नेमा म विश्वस्त छु ।

      Delete
  2. मलाइ पनि केहि भन्न मन लाग्यो

    मानबिय त्रुटीबाट कोहि पर रहन सक्दैन।
    मेरो बिचारमा सम्पूर्ण नाताहरुमा केहि कमि कमजोरी हुन्छन।
    एक त बैबाहिक सम्बन्ध अलि कति सांस्कृतिक र अलि कति धार्मिक बन्धन पनि हो, कमसेकम मेरो हकमा।
    र हाम्रो समाजको धेरै सम्बन्धहरु यिनै कारणले थेगिएका छन्। बैबाहिक मात्र होइन नि पारिवारिक सम्बन्धमा पनि हामि थुप्रै नैतिक र धार्मिक आधारमा रही सहनशिल भएका हुन्छम। त्यो कुनै पनि सम्बंधमा जायज हुन्छ। जुन एउटा राम्रो पक्ष्य पनि हो नत्र भने आमाको एक चड्कन खाएर घर त छोडेनम हामीले वा बाबा को गालि आज सम्म पनि सह्य हुन्छ।

    मलाइ लाग्दछ, एक अर्का प्रति सम्मान गर्न सिक्नु महत्वपूर्ण छ। स्वाबलंबन हुनु आवस्क्यक छ तर यो भयो भन्दैमा सम्झौता गर्न छाडी दिनु र गर्न नसक्नु आजको मूल समस्या हो जस्तो लाग्दछ। सम्बन्ध आखिरमा एक ढेर हो, मायाको, सहयोगको , सम्झनाको अनि एक अर्का सँग जिउने बानीको। अडाउने वा गिराउने त्यो आफ्नो मानसिक खेल हो। चर्किएको घरको गाह्रो बेलामा टाले राम्रो, नत्र घर भात्किनछ र त्यो स्वाभाविक हो।

    ReplyDelete
  3. श्रीमान श्रीमती भनेका भनिन्छ एक रथ का दुई पाङ्ग्रा हुन। सम्बन्ध जब सँग रहिरहन्छ तब एक अर्का सँग को बुझाइ विश्वास अनि अनुशासन कायम रहिरहन्छ यहि मूल मन्त्र ले जिन्दगी को रथ दौडी रहेको हुन्छ। सायद कति पाए जोडीहरुमा अनुशासनको कमीले गर्दा सम्बन्ध बिग्रिएको जस्तो लाग्छ। बिगार्न त कति सजिलो छ कति तर त्यो सम्बन्ध ताजा स्वस्थ बनाइराख्न पो कम्मर कस्ने हो नकिन भत्काउन। लेख पढेर मज्जा आयो। अर्को लेखको व्यग्र प्रतीक्षामा।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइको मुड्की

मेरो बाल्यकाल लगभग बोईसँगै बित्यो । त्यो चकचक गर्ने समय भएकाले मेरो चकचकसँग बोईलाई बेलाबेलामा झिझो लाग्नु स्वभाविक नै थियो । त्यसैले मैले अति नै अटेर गरेपछि बोईले मलाई भन्नुहुन्थ्यो -  "अहिले गाडूँला मुड्की (मुड्कीले हान्छु) ।" तर अहँ कहिल्यै पनि एक झापड खानुपरेन । मुड्की नै खानु नपरेपछि मेरो चकचक थामिने कुरै थिएन, त्यसैले बोईले पनि मुड्की गाडूँला भन्न छाड्नुभएन अनि मैले चकचक गर्न । मेरी बोईले यस धरा छोडेको पनि यहि हिउँदमा बर्षदिन पुग्दैछ, तर बोईले भन्ने गरेको "अहिले गाडूँला मुड्की" मेरो मनमा गडिरहेको छ, अनि यसो सोच्छु, दुईचार पटक बोईले साँच्चिकै मुड्की गाड्नुभएको भए, मेरा चकचक उहिले पहिले नै खत्तम हुन्थे कि ?  तर खासमा चकचक भन्ने जिनिस त्यत्तिकै खत्तम भएर गैहाल्ने कुरो हैन रहेछ । न त यो उमेर बढ्दै गएपछि आफै घट्दै र पछि निस्तेज नै हुने रहेछ । यसले खासमा उमेर बढ्दै गएर केश पाक्दै गएपनि आफ्नो स्वरूपमा अलिकति फेरिदै तरह तरहका रूपमा प्रकट हुँदै पो जाँदो रहेछ कि ? भन्ने निचोडमा पुगेको छु । यस्तै केहि केश पाक्नै थालेका मान्छेहरूको चकचक कोरोनको त्रास बढ्दै गएपछि अलिकति भि...