Skip to main content

अनि मलाई खुबै राजनीति लाग्छ ...

people standing outside in chilling weather
कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ । 

राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"  

मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी ।

यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो । 

खुबै चुनाव लाग्ने आफत मलाई बेलाबेलामा आइबस्छ । जस्तै आफत मलाई बिक्रमादित्यको ७० को दशकको उत्तरार्धमा खुब लाग्या थियो । मभित्रको देशभक्तिको ज्वाला दन्दनी दन्केपछि मैले कत्रो उत्साहका साथ #लक्ष्य२०७९ को शंखघोष गर्न पुगेथेँ । मैले चुनाव नउठेरै जितेको महशुस दिलाउने चुनाव थियो त्यो नेपालको । र, मलाई खुबै लागेको फिनल्याण्डको यसपालीको स्थानीय चुनावमा उम्मेदवार नभैकन पनि बिजेता महशुस भएको अनुभूति दिलाएको चुनाव थियो, यो । 

उताको चुनावमा मेरो उम्मेदवारीको घोषणाले, एक थरीका मानिसहरूको दिमागमा म एक सन्काहा, घामड र पिता पिडक पुत्र र खलनायकको रूपमा चित्रित थिएँ, अर्काथरीका लागि म विद्रोहको नायक बनेको थिएँ । उम्मेदवार बन्ने सार्वजनिक घोषणाले एउटा ब्यक्तिको पहिचानमा यति धेरै उथलपुथल लेराउँदो रहिछ भन्ने मैले त्यतिबेला साक्षात अनुभूत गरेको विषय रह्यो । अहिले यसो यदाकदा म मनोवाद गर्दछु, त्यो समय साँच्चिकै म उम्मेदवार भएको भए त्यसले के कस्ता परिणतिहरू सृजना गर्दो हो या नगर्दो हो ? ती परिणामहरूसँग मेरो साक्षात्कारले मलाई कुन मनोदशामा पुर्याउँदो हो ?  कति सायद त्यस्ता परिणतिहरूबाट निर्मित चक्रब्युहहरू हुन सक्थे, जुन मैले तोड्न त्यो समयमा सम्भव थिएन् । त्यस कारण मैले कायरतापूर्वक पछाडि हट्नुपरेको थियो ।

एकदिन जम्काभेट भो मित्र शेखरजीसँग । नजिकैको बजारकेन्द्रमा हाम्रो त्यो अचानकको जम्काभेट थियो । मुश्किलले दुई मिनेट जति कुरा भएथ्यो, नम्बर साटासाट भएको केहि हप्तापछि वहाँको फोन पनि आएथ्यो । धेरै लामो कुराकानी पनि भएन । त्यसपछि पनि खासै कुरा भएन । 

तर एकदिन जगन्नाथ दाईले मलाई हठात् सुनाउनुभएथ्यो, "अँ बाबु, शेखरजी नगरपालिकाको चुनावमा उठ्तै हुनुहुन्छ, भाइले पनि सहयोग गर्नुपर्छ ।" 

बानी अझै त्यतिबिधी मेरो सुधार भएकै छैन्, सदा विनम्रतापूर्वक प्रस्तुत हुने शालिन जग्गु दाईलाई समेत मैले गाउँघरतिरकी चोथाले आइमाइको शैलीमा जवाफ फर्काएथेँ, ह्या, हाम्ले दिन सक्ने योगदान के छ यो देशमा ? सबै ठिक छ त ? नेपाली नै चुनाव किन उठ्नु पर्या छ ? 

"अरू त विशेष कारण केहि होइन्, तर हामी दशौं हजारको संख्यामा भैसकेको अवस्थामा समेत हाम्रो समुदायको प्रभावकारी प्रतिनिधित्व हुने गरी राजनीतिमा उपस्थिती नदेखिएकाले त्यसको परिपूर्ति गर्ने प्रयत्न हो मित्र ।" जग्गुदाईसँग विमति राखेको मलाई उम्मेदवार मित्र शेखरले एउटा अपरान्ह फोन संवादमा बताउनुभएथ्यो ।  

अनि म केहिबेर सन्न भएथेँ । हो पनि, जुन देशमा युवावयका दशकभन्दा बढि उर्जाशिल समय व्यतित गरिएको छ, त्यो देशलाई अब कसरी परदेशको नाम दिइराख्न सकिन्छ ? घरदेश बनिसकेको देशमा अब एक हिसाबले यतैको नागरिक पनि त भैसकियो । नागरिक भैसकेपछि केहि जिम्मेवारी हाम्रा पनि बनेका छन् । अतः एक अल्पसंख्यक समुदायको सदस्य भएका नाताले उहि समुदायको प्रतिनिधित्व गरेर कोही त्यसमा पनि आफूले राम्रै चिनेको मान्छे उम्मेदवार बन्ने कुराले नछुने भन्ने थिएन । मलाई बेस्सरी छोयो । 

बिहारबाट बटौलीको बाटो हुँदै बेनी आइपुगेका दशरथ मेरा साथी बनेका थिए । बेनीमा मैले डेरा गरी बसेकै घरमा उनको सानो जेरी पसल थियो । कहाँ कहाँबाट बरालिदै बेनी आइपुगेका उनले केहि वर्ष बिताएपछि कुरै कुरैमा एकदिन मलाई सुनाएथेँ, "सर, मलाई त म नेपालकै भएँ जस्तो लाग्छ ।" गैर्ह सरकारी संस्थामा कार्यक्रम संयोजकमा कार्यरत मैले उनलाई तत्कालिन संवैधानिक प्रावधान नसुनाएको पनि होइन् कि नेपालमा पन्ध्र बर्षमा पेशा वा व्यवसाय गरेको र नेपाली भाषा लेख पढ गर्न सक्ने विदेशी मान्छेले नेपाली नागरिक हुन पाउँछ । 

उनले नेपाली नागरिकता त लिएका थिएनन्, तर स्थानीय निर्वाचनमा उनलाई अलिअलि चासो थियो । नारा जुलुश तिर कतै नलागे पनि, पछिल्लो जनआन्दोलनमा घोक्रो फुलाएर जिन्दाबाद र मुर्दाबादको नारा लगाउँदै गरेको मलाई र मेरा केही साथीलाई यिनै दशरथले आफ्नो जेरी पसलभित्र बोलाएर भनेका थिएँ, "सर बाहिर गर्मी छ आउनुस् कुल्फी खाएर जानुस् ।" 

अल्पसंख्यक नेपालीहरूको आवाजलाई नगरपालिकाको बैठकमा उठाउने एउटा प्रतिनिधि निर्वाचित गरेर पठाउन सकिने अवस्था देखेपछि हाम्रो साझा आवाज बन्न सक्ने व्यक्तित्वलाई आवश्यक योगदान दिनुपर्ने मैले मेरो दायित्व सम्झिएँ । अनि त चैतको उखरमाउलो गर्मीमा बेनीका सडकमा घोक्रो फुलाउँदै नारा लगाउँदै हिडेको मलाई आफ्नो जेरी पसलभित्र बोलाएर कुल्फी खुवाउने भारतीय मित्र दशरथलाई सम्झेर मैले मित्र शेखरलाई मेरो क्षमताले भ्याउने मद्दत गरेथेँ । 

जनआन्दोलनको त्यो रापतापमा म जस्तो आन्दोलनकारीलाई कुल्फि खुवाउने दशरथहरूको भूमिका अखबारका पानाहरूमा आएका थिएनन् तर पनि उनको योगदान मेरा लागि सदा स्मरणीय रहनेछ । त्यस्तै, शेखरजीको प्राप्त गरेको जितमा कति धेरै नेपाली सहृदयीहरूको ठोस योगदान छ, जो वहाँले मसँगको भेटमा विशेष स्मरण गर्नुभएको छ । मत परिणाम आउँदै गर्दा १३ अप्रिलका रात सोकोस् होटलको सभाकक्षमा हामीहरू कति धेरै उत्साहित थियौं । हामीले निर्वाचन जित्ने करिब करिब सुनिश्चित हुँदा राष्ट्रिय मिडिया हाउसका पत्रकारहरूले हाम्रा उम्मेदवारको विशेष अन्तरवार्ता मात्र लिएनन् कि निर्वाचनमा उम्मेदवारको प्रचार अभियानलाई विशेष सहयोग गर्ने हाम्रा तस्बीरहरू पनि खिचेँ । भलै छापिएको तस्बीरमा हामी सबै अटेनौं, म पनि पुरै अटाइन् । 

सायद पत्रकारको फोकश म मा उति परेन । त्यसैले, मेरो मुहार देखिने तस्बीर छापिएन । तर गज्जबको कुरा अलिकति फोकस मेरो हातमा चाँहि परेछ । पत्रिकामा छापिएको तस्बीरमा मेरो हात देखिएको छ । प्रिय राजन दाई, त्यो हात मेरै हो जसमा मैले मेरो श्रीमतीको नाम कोरेको छु । थाहा छ? आजैको दिन हो १८ बर्ष पहिले मैले उनको हात समातेर मेरो घरतिर भगाएर लगेको पनि । कस्तो संयोग, हगी !

कहिले काही फोकश अनपेक्षित स्थानमा पर्न जान्छ । अनपेक्षित नतिजा पनि हात पर्दोरहिछ । त्यसले अनपेक्षित खुशी पनि दिदोरहिछ । अहिले म त्यहि स्थितीमा छु । हो, मलाई चुनाब बेस्सरी लाग्यो यो पाली । 

मित्र शेखरजीलाई बधाई, अनि बधाई अन्य दुई नेपाली अल्पसंख्यक उम्मेदवारहरू जो निर्वाचित हुन सफल हुनुभयो । खासमा बधाई, फिनल्याण्डबासी सम्पूर्ण नेपालीहरूलाई पनि एक हिसाबले हाम्रो पहिचान स्थापित गर्ने सुनौलो मौका जुन प्राप्त गरेका छौं । 

Comments

  1. चुनाब त मलाइ पनि लाग्यो बेस्करी। झन्डै ४ घण्टा भएछ फोन को स्क्रिन हेर्न पनि नभ्याएको। एउटा धन्यबाद दिने कार्यक्रममा थिएँ। घर आएर पहिलो सम्भावनामै मोबाइल स्क्रिनमा खुल्यो यहि ब्लग भएको मुहार पुस्तिकाको पानो।

    साँच्ची भन्ने हो भने तपाइँलाइ नेपालको राजनीतिले चिनेन वा के मिलेन कुनै दिन दाजु भाइ बसेर मज्जाले गन्थन गर्नु छ। तर तपाइँको नेपालको (शायद नलागेको ) राजनीतिले मलाइ भने ठुलो उपकार गर्यो। तपाइँ ढिला आउनु भो तर उही हिन्दि फिल्ममा अन्तिममा आउने हिरो जसरि आउनुभो।
    दाजु भाइ जेरी कुल्फी जे जुर्छ त्यो खाँदै फेरि गन्थन गर्नु छ।
    धन्यबाद तपाइको लागेको राजनीतिलाई अनि त्यो राजनीति लागेको बखान गर्ने यति राम्रो ब्लगको लागि।

    ReplyDelete
    Replies
    1. प्रिय शेखरजी, चुनाव जरूर तपाइँलाई लाग्नु नै थियो, लाग्यो । हामीलाई पनि त्यो नशा लाग्नु नै थियो, लाग्यो । हामीले जित्नु थियो, जित्यौं पनि । विजयको यो शिलशिलालाई नियमित गर्न सक्ने क्षमता अभिवृद्वि हुँदै जाओस् हामी सबैलाई शुभकामना । फेरि पनि मीठो टिप्पणीका लागि हार्दिक आभार ।

      Delete
  2. प्रदेश बसाइको झण्डै दुई दशक गुमनाम एउटा पात्र जसलाई निराजन ब्लगमा यसरी प्रस्तुत गरियो कि सायद त्यो पात्रलाई त्यति महत्वका साथ नलिएको भएपनि ब्लकको भाव मर्म र सन्देशको ओजमा खासै फरक पर्ने थिएन होला । धन्यवाद कमसेकम कोही त रहेछ ती वचन वा बाणलाई सकारात्मक रुपमा लिएर यतिको लामो पाण्डुलिपि तयार भयो। त्यस अर्थमा निराजन भाइलाई साधुवाद तिमी साँच्चिकै भाइ नै हो त्यसमा कुनै शंका रहेन।
    रह्यो चुनावी माहोल हो म र निराजनमा समाजलाई हेर्ने दृष्टिकोणमा धेरै असहमतिहरू छन्। साँच्चिकै भन्ने हो भने एकात कुरा बाहेक सबै कुरामा असहमति छ। छ त केवल हामी विगत २०१२ सालदेखि दाजुभाइको सम्बन्धमा छौ । कुनै बेला केवल आफू इच्छित समाजमा मात्र रम्न चाहने निराजन अकस्मात सामाजिक सञ्जालमा भर्खर बामे सर्दै गरेको छोरा अनि साथी जस्तै भइसकेकी छोरी र श्रीमतीको तस्बिरको सट्टा एउटा अमुक (लेखक स्वयंले नचिनेको भनेको हुनाले )व्यक्तिलाई नगरपालिकाको चुनावमा जिताउँ भन्दै पोस्ट गरेको देख्दा अचम्म नलाग्ने कुरा नै भएन। त्यसै पृष्ठभूमिमा मैले एकपटक भनेको थिएँ। चुनाव त बेसरी लागेको छ है। कसैले मलाई तेरो मनपर्ने विषय के हो भनेर सोधिदियो भने सायद मैले पनि भन्नेछु। राजनीति नै हो किनकि म राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएको हुँ। र यसमा निराजन र मेरो पारिवारिक पृष्ठभूमि एकै छ थियो पनि। नेपाली उम्मेदवारले जित्न हुँदैन भन्ने मेरो कहिल्यै आशय रहेन जित्नुपर्छ। तर जुन अर्थमा अहिले नेपाली समाजिक सञ्जालमा निर्वाचित उम्मेदवारलाई चित्रित गरिएको छ कहिँ कतै हामी फेरि नेपाली घृणित राजनीतिको संस्कारबाट ग्रसित भएका त छैन एउटा विकसित प्रणाली भित्र हाम्रा प्रतिनिधिहरुले गर्न सक्ने कामको पनि दायरा रहन्छ भन्ने कुरामा हामी सबै सचेत रहौ भन्ने मात्र हो।
    तस्बिरको प्रसङ्गमा मेरो एकजना साथी अस्ट्रेलियामा बस्नुहुन्छ एकदिन उहाँले एउटा फोटो सामाजिक सञ्जालमा राख्नुभयो त्यसमा उहाँको अनुहारभन्दा पनि उहाँको घडी बढी प्रष्ट थियो। त्यसैले मैले तस्बिरको प्रतिक्रियामा भने घडी राम्रो छ त्यसको लगत्तै उहाँले फोन गर्नुभयो र भन्नुभयो धन्यवाद कोही त रहेछ देखाउन चाहेको देखिदिने। यस अर्थमा मलाई माफ गर भाइ मैले तिम्रो प्यारको चिनारी भनेर बनाएको टाटुलाई देखिन ।देखे त केवल उम्मेदवारको नजिक रहनुभएका तिमीबाहेकका मेरा साथीहरू मात्र देखेँ। अनि मनमनै भनेको थिएँ चुनावमा त बडो चुरीफुरी गर्दै थिए हाम्रा भाइ आज विजय उत्सवको फोटोमा त कतै देखिएनन्। र अन्त्यमा विजयी उम्मेदवारहरूलाई हार्दिक शुभकामना

    ReplyDelete
    Replies
    1. प्रिय दाई, सदाको झैं आफ्नो अत्यन्तै व्यस्त दैनिकी बाबजुद पनि फुर्सद निकालेर मज्जाको टिप्पणी लेख्नुभएकोमा हृदयदेखि नै हार्दिक आभार प्रकट गर्न चाहन्छु । दाजुले लेखे जस्तै म स्वंय पनि अनपेक्षित रूपमा यस निर्वाचनमा जोडिनु पुगेको हुँ, विशेषतः हाम्रा उम्मेदवार शेखरजीको जुन सञ्चार सम्पर्कको कौशलता, निर्वाचनमा भिड्ने दृढता, चुनावमा राम्रो परिणाम ल्याउनका लागि आवश्यक रणनीतिमा उहाँमा भएको एक खालको व्यवस्थित तयारीले मलाई साँच्चिकै प्रभावित पारेको हो । अतः जीवनमा कहिले काही आफू रहेको आरामदायी क्षेत्रबाट बाहिर निक्लन सक्नु पनि एक खालको विजय हासिल गर्नु जस्तै रहेछ ।
      फेरि पनि भाइप्रतिको विशेष प्रेमका लागि दाईलाई धेरै धेरै धन्यबाद । यो मौलिक बन्धुत्वको भाव सदा रहोस् । भाइप्रतिको स्नेह अझै बढेर जाओस् ।

      Delete
  3. लेख अर्को समसामयिक विषयमा गहकिलो कदमको रुपमा आएको देखियो। सामाजिक व्यक्तिको पहिचान नै त्यो हो, जो जुनसुकै समय परिस्थितिमा पनि उ सधैँ अग्रभागमा उभिन तमतयार रहन्छौ। यस्तै कर्मशील र सहयोगी व्यक्तित्व मध्येका लेखक निराजन थापा चुनावी प्रचारप्रसारमा महाभारतको युद्धमा जस्तै पाण्डवको सारथीको रूपमा कृष्ण बनी निरन्तर सहयोग गर्दै नेपाली मूलका उम्मेदवार शेखर आचार्यलाई जिताउन कम्मर कसेर लागि परेको मैले पनि महसुस गरेको छु। अबको चार बर्ष पछि हुने निर्वाचनमा निराजनको पनि अभियान २०२९ दरो रूपमा आउनेछ भन्ने मलाई लाग्दछ र यसको लागि हामी पनि सहयोगी बन्न तमतयार छौ। जो जसरी जहाँ भएपनि नेपाल र नेपाली को उन्नति प्रगति तथा आप्रवासीहरूको समस्या र विकासमा हातेमालो गर्दै आफ्नो अभियानलाई अगाडि बढाउन हालका विजेता बनेका व्यक्तित्वहरू कृष्ण रेग्मी तथा शेखर आचार्य दत्तचित्त भएर लाग्नु नै हुनेछ, यसको लागि उहाँ हरुलाई शुभकामना। जय नेपाल,जय नेपाली

    ReplyDelete
    Replies
    1. प्रिय भिनाजु, निरन्तरको यहाँको प्रेमका लागि म आभारी छु । एक सामाजिक व्यक्तित्वको रूपमा मलाई चित्रण गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दछु । यस निर्वाचनमा हाम्रा उम्मेदवारहरूलाई बिजयी बनाउन मात्र नभै बिजयपछिको पहिलो औपचारिक कार्यक्रम आयोजना गर्न यहाँले खेल्नुभएको नेतृत्वदायी भूमिका प्रशंसनीय थियो । कुरो रह्यो आगामी स्थानीय निर्वाचनमा मेरो ब्यक्तिगत उम्मेदवारीको विषय, त्यसमा चाँहि अहिलेको समयसम्म ममा त्यस्तो विशेष कुनै अभिरूची नरहेको विनम्रतापूर्वक निवेदन गर्दछु ।

      Delete
  4. मलाई निराजन भाईको आलोचनात्मक टिप्पणी गर्ने र बुझ्ने शैली बडो गज्जबको लाग्छ। कुनै पनि बिषयमा छलफल होस् त सम्वादकै क्रममा चाहिँ मेरो भन्दा पृथक शैलीबाट सोचेर उत्तर दिन्छन्। तर रोचक पक्ष उनले अरुका तर्कलाई सम्वाद पछाडि पनि फेरी आफै भित्र गहन मनोसम्वाद गर्छन्त आफ्नो सोचाई र गराईमा निख्खार ल्याउँछ; वयस्क बनाउछन् र आवश्यक परेको वेला परिपक्व निर्णय गर्न सक्छन्। कुशल मानिसमा हुनु पर्ने सच्चा गुण नै यहि हो। वास्तवमा उनको निरपेक्ष बुझाई भन्दा सापेक्ष बुझाई अत्यन्तै गहन र ब्यबहारिक हुन्छ। जुन हामी सबैको लागि अनुकरणीय र अनुसरणीय छ जस्तो लाग्छ मलाई। अत्यन्तै रोचक, चट्नी जस्तै चखिलो उनको प्रस्तुती त सतुती योग्य नै छ। राजनका झर्रा तर्कले जहिले पनि यथार्थवादी बनाउन प्रेरणा दिन्छ, वास्तवमा असल र सत्साय थिमा हुनु पर्ने गुण चाहिँ यहि हो; तितो होस तर सत्य होस्! यसपलीका हाम्रो समाजका प्रतिनिधि शरखर, कृष्ण र गोविन्दलाई यो परदेशी भूमीमा आएर प्रतिनिधित्व गर्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा उत्कृष्ठ कार्यकालको शुभकामना ब्यक्त गर्दछु!

    ReplyDelete
    Replies
    1. प्रिय दाजु, यस्तो मिठो, मन छुने टिप्पणी पाउनु नै मेरा लागि एउटा सौभाग्यको विषय हो! तपाईंको शब्दहरूले मलाई झन गहिरो सोच्न, अझ जिम्मेवार भएर लेख्न र संवाद गर्न प्रेरित गरेका छन्। म सधैं प्रयास गर्नेछु—हरेक दृष्टिकोणलाई खुलेर बुझ्न, आलोचनालाई आत्मसात् गर्न, अनि संवादमार्फत आफैलाई निखार्दै लैजान। तपाईंले महसुस गर्नुभएको कुरा मेरो लागि ठूलो सन्तोषको विषय हो।

      दाजु, तपाईं जस्ता आत्मीय पाठकको साथले यो यात्रालाई अझ अर्थपूर्ण बनाउँछ। तपाईंका यथार्थवादी विचार र स्पष्ट दृष्टिकोण सधैं सराहनीय छन्।

      Delete
  5. प्रथमतः: यो नगर चुनावमा विजयी हुनुभएका तीनजना नेपाली प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको अग्रिम शुभकामना ।
    यो चुनावमा उहाँहरूलाई विजयी गराउन प्रत्यक्ष र परोक्ष भूमिका निर्वाह गर्नुभएका सम्पूर्णलाई पनि बधाई र शुभकामना।

    दाजु, प्रत्यक्ष वा परोक्ष रूपमा राजनीतिबाट अलग हुनुहुने सोच्न पनि सकिन्न जस्तो लाग्छ।

    यो लेखको सन्दर्भमा भन्नुपर्दा, मलाई यो लेख निकै नै उम्दा लाग्यो। राम्रो कुन अर्थमा लाग्यो भने—
    पहिलोः समयसन्दर्भिक विषयवस्तु,
    दोस्रोः साहित्यिक बहाव, अत्यन्त राम्रो सुरुवात र अन्त्य,
    र तेस्रोः लेखनमा पूर्वाभासको सटीक प्रयोग।

    यस्तै लेखहरू आउँदै जाउन् दाजु। धेरै धेरै शुभकामना।

    ReplyDelete
    Replies
    1. प्यारो भाइ, तिमीले जुन समय दिएर लेख पढ्यौ, त्यसमा टिप्पणी गर्यौ, अनि यति मन छुने शब्दहरूमा हौसला दियौ—यो साँच्चिकै मेरो लागि प्रेरणादायक छ।
      लेखको समयसापेक्षता, साहित्यिक बहाव, र पूर्वाभासको प्रयोग जस्ता पक्षलाई छुट्टाएर मूल्याङ्कन गरेको कुराले मलाई अझ सजग र सचेत भएर लेखिरहन उत्साहित बनाएको छ। म सधैं लेखमार्फत विचारमात्र होइन, अनुभूति पनि बाँड्न चाहन्छु— भाइको प्रतिक्रिया त्यस प्रयासको मूल्याङ्कन जस्तो लाग्यो।

      राजनीति प्रत्यक्ष वा परोक्ष रूपमा हाम्रो जीवनसँग गाँसिएको विषय हो भन्ने भाइको भनाइमा म पनि पूर्णतः सहमत छु। हाम्रो उपस्थितिले चाहे ठूला कुरा बदल्न नसके पनि सानोतिनो चेतना फैलाउन सकिन्छ भन्ने विश्वास लिएको छु।

      आशा छ, भाइको साथ र सुझाव सधैं पाइरहनेछु। फेरि धन्यवाद र हार्दिक आभार!

      Delete
  6. प्रीय गुरु, अब मैले लेखन शैलीको भन्दा विषयवस्तुमा केन्द्रित हुनुपर्ने बेला आएछ । एउटा सचेत नागरिकले "मलाई राजनीतिमा चासो छैन भन्नुको मतलब म खराब शासकबाट शासित हुन तत्पर छु भन्ने हो" भन्ने कुनै विद्वानको भनाइलाई अधिकाँश नेपालीले अनुसरण गरेको पाउँछु तर अत्याधिक चासोले पनि विपरीत नतिजा दिने कुराको साक्षी हामी नै छौ । अँ एउटा राजनीतिक परिवारमा हुर्केको मान्छे हजुरलाई त राजनीति नलाग्ने कुरै भएन । हजुरलाई लागेको राजतीति त ०७४को चुनावमा देखेको छु । त्यसबेला मलाई समेत दलको राजनीति लागेको थियो । अनि त्यहाँको राजनीतिक संस्कार यहाँ प्रयोग गर्ने उद्देश्यले ०७९को चुनावको चासो अझ गहिरो र महत्वपूर्ण थियो । भलै नेपालीको चेतनास्तर भन्दा अग्रगामी भएकाले त्यस अवस्था यहाँ स्वीकार्य भएन । जे होस् हजुरलाई राजनीति लाग्छ र राजनीति परिवर्तनको लागि जे उद्देश्यको लागि गरिन्छ त्यसको लागि प्रतिवद्ध भएर नैतिकता र इमान्दारिताको लगाम लगाएर नै गर्नुपर्छ भन्ने मेरो पनि मान्यता हो । हामी राजनीतिमा अग्रपङ्तिमा नलाग्नेले त्यसको पालना जसले गरेको देखिन्छ उसैलाई समर्थन पनि गर्ने हो । जे होस् जसलाई समर्थन गर्नुभएछ उहाँले जित्नुभएछ अझ खुशीको कुरो पनि हो । नेपालीले राजनीतिबारे बोल्न लेख्न लाग्यो भने धेरै बोल्ने लेख्ने गर्छ भन्ने लेख्दालेख्दै सम्झेँ । त्यही गरेँ । अझ आजभोलि मलाई जुनसुकै लेखमा प्रतिक्रिया पढ्ने बानी परेको छ । यहाँ प्रतिक्रिया दिन ढिलो गर्नुको एउटा कारण यो पनि हो है ।।

    ReplyDelete
    Replies
    1. प्रिय गुरू, आफ्नो व्यस्त समयका बावजुद पनि सदा मेरा सम्प्रेषणहरुमा दिलचस्पी राखेर बडो प्रेमपूर्वक टिप्पणीहरू लेखिपठाउनु हुन्छ, त्यसका लागि विशेष धन्यवाद। अरु त यहाँले भनेजस्तै अहिले मेरो पनि प्रतिक्रियात्मक भन्दा बढी अवलोकन अनि स्वमूल्यांकन गर्नमा ध्यान जान खोजेको छ ।

      Delete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...