Skip to main content

Posts

त्यो एक दिन

रेलभित्र यात्रुहरु पस्दै थिए । म भित्र छिरे लगत्तै एउटी मगन्ते फिनिश बुढीआमा पनि रेलभित्र पसीन । रेलको टिकट बेच्ने मानिसले मलाई पुलुक्क हेर्दै, आँखा झिम्काउँदै ती बुढी आमालाई टिकट छ ? भनेर सोध्यो ! टिकट बेच्नेलाई जाँच्ने अधिकार भएपनि उनीहरुले त्यसो गरेको मैले देखेको थिइँन । उसले मलाई आँखा सन्काएका हिसावले मैले के बुझेँ भने – ऊ सायद रेलका यात्रुहरु ती बुढी आमाको माग्नेकामले आजित नहुन भन्ने चाहन्थ्यो । बुढीआमा टिकटको वैधानिकता जाँच गर्ने यन्त्र भएको ठाउँमा पुगिन, यन्त्रमा यात्रुकार्ड राखेपछि हरियो बत्ति बल्यो । बुढीआमा यथास्थानमा फर्किन । ऊ मुसुक्क हाँस्यो । बुढी आमालाई धन्यवाद भनेर चालक कक्षभित्र छिर्यो । म ट्वा परेँ ! माग्नेमान्छे समेत टिकट लिएर यात्रा गर्छ । माग्ने मान्छेलाई पनि सम्मानपूर्वक व्यवहार गरिन्छ । हाम्रो र यिनीहरुको संसार कति फरक ?! नियमका कुरा सबैलाई बरावरी लागू हुन्छ । र, नियमको सम्मान पनि त सबैले नै गर्छन । यहाँका मान्छेहरुको “सभ्य व्यवहार” को उत्कृष्ट नमुनाहरुको दृश्यपान गरेपछि मैले धेरैपटक यसरी नै ट्वा पर्नु परेको छ ।  *** एकदिन जेब्रा पारमा म, एकजना युवती...

त्यत्तिकै देश बन्दैन् हजुर!

समय मैं ऋतुकालमा प्रविष्ट नहुने असाध्य नारी रोगले आक्रान्त मेरी धर्मपत्नीको व्यथा नेपाल छाड्दा पनि उस्तै नै रह्यो । त्यसकारण , उनले यो विदेशी भूमीमा पहिलो पटक यहाँको चिकित्सकसँग चेकजाँच गराउनु पर्ने भयो । त्यस हेतू नजिकैको सरकारी स्वास्थ्य केन्द्रमा फोन मार्फत हामीले चेकजाँचको लागि समयको अग्रीम प्रबन्ध ग र्‍ यौं । उनका लागि आकस्मिक सेवा आवश्यक नभएका कारण , स्वास्थ्यकेन्द्रले तीन हप्तापछिको समयको ब्यवस्था गरिदियो ! तीन हप्तापछि बिहान आठ बजे उनी स्वास्थ्य केन्द्र पुगीन । “ नयाँ ठाउँ , नयाँ परिवेश , नयाँ हावापानीका कारण सिर्जित तनावका कारणले त्यस्तो भएको रे डाक्टरले भनेकी ! ” स्वास्थ्यकेन्द्रबाट फर्केर आफ्नो झोला समेत नबिसाई एकै श्वासमा पत्नीले सुनाईन । “ ए , ए ! हामी त्यसै के के सोचेर आत्तिएछौं ! ठीकै छ नी त उसोभए । ” मैले यतिभनेपछि आफूले स्वास्थ्यकेन्द्रमा बिताएको आधा घण्टाभन्दा बढीको समयमा के के भयो र कस्तो अनुभव रह्यो उनले सविस्तार सुनाइँन । जुन मेरा लागि नौलो विषय थिएनन् । “ म तल बसिरहेकी थिएँ , मेरो नाम लिदैँ डाक्टर आइन । मलाई ह्युभा हुवामेन्ता (शुभप्रभात) भन्दै अभिवादन...

हाम्रो बच्चा हुर्काउने काइदा

तस्वीरमा छोरी  चार बर्षपहिलेको एउटा घटना याद भो, “आमा, अब मलाई ज्यामिति बाकस चाहिन्छ है, पर्सीबाट ज्यामितीको पढाई हुन लाइच्च !” म त्यहीबाटो भएर कतै जाँदै थिएँ, एकजना गाउँले भाईले आफ्नी आमासँग ज्यामिति बाकसको माग गर्दैथिए । उनकी आमाले झर्किदै भनिन् – “तेरो बाउले पैसा नपठाएको पाँच महिना भैसक्यो, मैले कहाँबाट ल्याएर दिने हो ?” म बाटोमा टक्क रोकिएँ, आमा–छोराको वार्तालाप सुन्नलाई । बच्चाले माग राखिनै राख्यो, उसलाई बाबुले पैसा पठाउनु या नपठाउनुसँग सम्बन्ध थिएन । आमाले प्रतिजवाफ दिईराखीन् । एकछिन पछि पट्यांग आवाज आयो । आवाजसँगै अर्को करुण आवाज आयो । त्यो रुवाईको आवाज थियो । लगत्तै, म निशब्द त्यहाँबाट हिडेँ । एकपटक अमेरिका घुमेर फर्केपछि नयिका रेखा थापाले सार्वजनिक टिप्पणी गरेकी थिईन – “अमेरिकामा अरु त सबै ठीक लाग्यो तर आफ्नो बच्चालाई एक दुई झापड लगाउन पनि नपाइने कुरोले ताजुब बनायो । त्यो कस्तो नियम हो ?” आमा पनि नबनेकी उनले गरेको सार्वजनिक टिप्पणीले एउटी छोरीको बाबु बनिसकेको मलाई चाँहि आश्चर्यचकित बनायो । त्यो अलिकति स्वभाविक टिप्पणी भैकन पनि त्यसले नेपाली संस्कारको दुर्बल पाटोलाई...

मैले एकदिन श्रीमतीलाई खाजा बनाएर खुवाएँ

गएको हप्ता त हो नी छोरीले आफ्नी आमा (ममी) को मोबाइल फोनमा ‘मिस्ड कल’ गरेको, अनि मेरी दुलहीले छोरीलाई फोन गरेको । आमा–छोरीको मोबाइल वार्ता सुन्दै गर्दा बोलीरहेका दुईजनामा मैले प्रशन्नताको स्पष्ट भाव पाएथेँ, तर मलाई अलि धेरै गम्भीर बनाईदिए मेरा दुई परीहरुले ! “के गर्दैहुनुहुन्छ नी ?” हामीले यताबाट “छोरी” भनेपछि उताबाट छोरीले बोल्ने पहिलो वाक्य नै यहि हो ! त्योदिन पनि छोरीले उनकी आमाले “छोरी” सम्बोधन गरेलगत्तै यहि प्रश्न गरीन् । “तिमीसँग कुरा गर्दैछु ।” वा “भर्खर खाजा खाएँ ।” भनेको भएपनि आज म यसरी सायदै यो लेखिरहेको हुनेथिएँ । तर मेरी पत्नीले भनीन – “म भर्खर पढेर आएको, बाबाले खाजा बनाउनु भयो अनि हामीले खायौं !” यसो भनेर सकेपछि उनले पुलुक्क मतिर फर्केर हेरीन् । उनको त्यो हेराईमा मैले असीम अनुग्रहीत भाव पाएथेँ । उनीहरु अरु धेरै कुराहरु गर्दै थिए, मलाई चाँहि पत्नीले बोलेको पहिलो वाक्यले नै एक हिसाबले स्तब्ध बनायो । अझ यस्तो भनूँ कि त्यसले मेरो भावुक हृदयलाई क्षतविक्षत पार्‍यो । उनको तात्कालिक अनुग्रहीत भावले मेरो हृदयमा ल्याएर आएको कम्पनको अहिले म वर्णन गर्न सक्दिनँ । प्रायःजसो म कामबाट ...

मेरो नानीलाई नेपाली बोल्नै आएन

म बस्ने घरबाट रेल बिसौनीतिर जाने बाटोको मध्य भागतिर बालबालिकाहरुको स्याहार गर्ने पाइभा कोटी (बालबालिका दिवा स्याहार गृह) छ । किनमेलका लागि पसलहरुमा जाँदा म त्यहीबाटो भएर हिड्ने गर्छु । ग्रिश्मकालीन सन्ध्याहरू यति रोमाञ्चक हुन्छन कि राती एघारबजेसम्म घामको उज्यालो हुन्छ । र, एक साँझको ७ बजेतिर म किनमेलका लागि पसल जादैँ थिएँ । मैले एक फिनिश स्वास्नीमान्छेलाई आफ्ना दुईजना बच्चाहरुसँग त्यही स्याहार गृहको खेलमैदानमा खेलिरहेको देखेँ । “आइती...” लामो लेघ्रो तान्दै उनको सानो बच्चा आफ्नी आमालाई केही सोध्दै थियो । उसले “आइती” भनेर आमालाई बोलाएको मात्र मैले बुझेँ । किनकी फिनिशमा “आइती” भनेको आमालाई भनिन्छ भन्ने मैले यहाँ आउँदाको पहिलो महिनातिरै थाहा पाइसकेको थियो । बाँकी उसले के सोध्यो मैले बुझिनँ । उसकी आमाले केहि बताइन । ऊ “कितोस” भन्दै खुरुरु दौडियो । उसले आमालाई धन्यवाद भनेको थियो । तत्क्षण मैले मेरी ७ बर्षीया छोरीलाई याद गरेँ । उनले आफ्नी हजुरआमा (मेरी आमा) लाई आमा, र आफ्नी आमालाई ममी भनेर सम्बोधन गर्ने गरेको सम्झेँ । अनि मैले यो पनि सम्झेँ कि मैले मिठाईहरु लगिदिदा वा वार्षिक तथा त्रैमासि...

शिशा पुछ्दै गर्दा आएथ्यो देशको याद

यो नेपालमा विनाशकारी भूकम्प गएको ३ दिन पछिको घटना थियो ।  पश्चिमतिरको काम्पिनतोरी जाने ढोकाको शिशा उति पुछ्नु पर्दैन । सफा नै हुन्छ । तर आज त्यो ढोकामा जानु मन लाग्यो मलाई । म गएँ पनि । अलिअलि औंलाहरुका डोब परेछन् । नीलो फाइबरमा सुमा र्‍यापिड १  छर्केर एकै फिटिक हात लम्काएपछि ती नामेट भए । शिशा टलक्कै भो । टल्केको शिशाबाट साठी सत्तरी हात पर रेडक्रसको स्वयंसेवी पोशाकमा एउटा फिनिश अधवैशेंलाई हातमा बट्टा समातेर सहयोग उठाईरहेको देखेँ । मोबाइल निकालेर हेरेँ – नौ बज्न तीन मिनेट थियो । अलिकति अगाडि बढेर यसो चिहाएपछि देखेँ, फिनिशमा लेखेको रहिछ – नेपाललाई सहयोग गरौं !  हप्ताको मध्य दिन अलि बढी मात्रामा शिशा पुछ्नु पर्छ मलाई । र, नेपाललाई सहयोग गरौं लेखेको बट्टा बोक्ने फिनिशलाई देखेको दिन पनि हप्ताको मध्य दिन नै थियो । त्यो यस बर्षको अठारौं हप्ताको बुधबार थियो । केहि शिशाहरु पुछपाछ पारेपछि मेरो खाना खाने समय भो । आधा घण्टाको खाना खाने अवधीभर मनमा धेरै तर्कनाहरु उठेँ । खाना पनि नरुचे जस्तो भो । र, फेरि एकपल्ट मैले खाँदाखाँदैको भाग पूरा गर्न सकिनँ । पत्नीले प्रेमपूर्वक तयार पा...

म शिशा पुछ्दिन

“पश्चिमतिरको खालीभाग पनि सफा गर्नुपर्ने तिम्रै भागमा पर्ने भो’ हैं ।” – एक भोर काम गर्ने ठाउँको प्यालेस्टाइनी नाइकेले सफाई कोठाको शौचालय सफा गरेर निस्किदै गर्दा भन्यो । काम उति धेरै त होईन तर च्याँठ्ठिदै मैले प्रतिप्रश्न गरेँ – “त्यो बेल्जियन क्याफेको साइडको ?” “अँ, त्यो भुइँतलादेखि माथि टाइगर बारसम्मको ।” फेरि सम्झे झैं गरेर भन्यो – “जम्मा ५ वटा तलाको कुनाकुना परेको भाग न हो, धेरै छैन । त्यहि पनि त्यो भित्ताको काला निला धर्साधर्सी केहि भए त्यो तिम्ले गर्नुपर्दैन, त्यो अर्कैले गर्छ ।” मैले केहि आपत्ति जनाइँन । पोछा लगाएर कनिकनि गर्नुपर्ने होइन । मेसिन चलाउने न हो । त्यो पनि हप्ताको दुईदिन गर्दे हुन्छ । त्यति फोहोर पनि त हुँदैन त्यतातिर । एल्ले थाहा पाउने हैन ! म मनमनै खुशी भएँ । म मुस्कुराएको देखेपछि ऊ पनि मुस्कुरायो । खासमा ऊ नमुस्कुराउने खालको मान्छे नै हैन । मुस्कुराएरै ऊ त्यहाँबाट ओझेल हुन लाग्यो, भन्यो – “सिसाहरु राम्ररी टल्काउनु हैं । मैले त्यसलाई पनि भन्या छु ।” अनि ऊ त्यहाँबाट हिड्यो । म, मेरो ट्रलि गुडाएर सिसा पुछ्न हिडेँ । त्यो दिउँसो आफैले टलक्क पारेको शिशाको झ्यालबाट मैल...