Skip to main content

सुरभित तिमी


म अकिञ्चन*
म नादान*
असमर्थ छु म
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

ख्वै ढाँटेर वा साँच्चिकै
पौडिदै नयनहरुमा
आफ्ना प्रियतमाका
भन्छन् प्रेमीहरु,
अहाँ ! कति सुन्दर ?
नयन प्रियसीका मेरा !
अरुलाई जस्तो लागोस् परन्तु,
तर मलाई लाग्छ तिम्रा दुई चक्षुहरु
ती हुन मरभुमीका एक जोर रोहोटाहरु*
जो छन उस्तै सुप्रदिप्त
जसमा पाउँदछु म प्रेमका अगाध – छालहरू !

हुन्छन् कहाँ सुन्दर ती
कस्मेटिक नागरीहरू*
जो दुर्गन्ध छरिहरहेछन्
हर साँझ – सुन्दरताको !
सुँघ्छु जब म सुरभित* तिमीलाई
लाग्छ फिक्का ती मलाई
प्रशोधित वासनाहरु
कस्मेटिक नागरीहरु !

तिमी शैवाल* झैं सदावहार छ्यौ
तिमी सतिसाल झैं अटल छ्यौ
हो, तिमी अतुलनीय छ्यौ ।

तिम्रो सूक्ति*
तिम्रो सुषमा*
पाइँदैनन् ती खोजेरपनि रत्ति,
कस्मेटिक नागरीहरुमा
किनभने तिमी झैं छैनन तिनीहरू साँच्चि
थाहा छ ?
तिमी प्राकृतिक हौ, उनीहरु निर्मित हुन ।

कृत्रिम झलमलीमा अलमल्ल म,
म अकिञ्चन,
म नादान
त्यसैले छु असमर्थ
सुन्दरताको तिम्रो
गर्नलाई बख्यान ।

*शब्दार्थः
सुरभित – सुगन्धित, सुवासित
रोहोटो – पानी जमेको सानो खाल्टो
सुषमा – परमशोभा
सूक्ति – मधुरवचन
शैवाल – पानी जमेका ठाउँमा पलाउने हरियो रङको झ्याउ
नागरी – सहरमा बसोबास गर्ने स्त्री, सहरिया स्त्री
नादान – उमेर वा अवस्था नपुगेको
अकिञ्चन – धनविहीन, दरिद्र

Comments

  1. तिमी शैवाल* झैं सदावहार छ्यौ
    तिमी सतिसाल झैं अटल छ्यौ
    हो, तिमी अतुलनीय छ्यौ ।

    गजबले शब्द चयन् गर्नु भएको रहेछ । हजुर का हरेक लेखमा खोज्यो भने अनेक चिज भेटाउन सकिन्छ मात्रा खोज्न सक्नु पर्‍यो शायद निराजन त्यसैले निराजन बन्न सफल छ् । माया आँफैमा सुन्दर छ जती शब्दले बर्णन गर्न खोज्यो त्यती त्यस्को आवश्यकता बढ्दै जान्छ र मायालु हरपल सुन्दर, सुगन्धित, मिठास, नयन भित्रै राखेर हिडौ हिडौ हुने आखिर मायामै जिबन छ त मायालुमै जिबित मेरो बुझाई यही हो हुन त हजुर ले भने झै हरेक बुझाई अन्तिम सत्य नहुन पनि सक्छन ।

    हजुर को कलम मा बग्ने मासिको रङ मा तागत छ्, श्रीजना छ् आशा गर्छु यो कलम को गती थोरै अझै बढोस् हामीलाई यस्तै मिठा मिठा रचना हरुले स्वागत गाह्रोस यो सापेक्ष बुझाई मा । शुभकामना तथा धन्यवाद निराजन जि ...

    ReplyDelete
  2. प्रदिपजी, आफ्नो ब्यस्त समयका बाबजुद पनि मेरो आग्रहलार्इ सहर्ष स्वीकार गरी सृजना अध्ययनगरी यति मीठो टिप्पणी लेखिदिनुभएकोमा म यहाँप्रति अत्यन्तै कृतज्ञ छु । यहाँको माया सदैव रहिरहोस्, अझ सुधार गर्नुपर्ने पक्षहरूका बारेमा लेखिदिनुभयो भने म साँच्चीकै आभारी हुने थिएँ ।

    ReplyDelete
  3. शान्ति गुरू, यहाँको सुझावको लागि हार्दिक आभार प्रकट गर्दछु । शब्दकोषमा भएका गहन अर्थ राख्ने शब्दहरूको खोजी शुरूवात गरेको छु ।

    ReplyDelete

Post a Comment

प्रतिक्रिया ब्यक्त गर्दा सभ्य र सुसंस्कृत शैली प्रयोग गर्नका लागि सम्पूर्णमा सविनय अनुरोध गर्दछु ।

Popular posts from this blog

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...