काठमाडौमा

१. सबेरै
पशुपतिबाट
एउटा थालिभरी
फूल, चन्दन र आशिष लिएर
कुदेको हुन्छ, शिवराम
बस स्टपहरुमा ।
बेलुकी,
बस स्टपहरुबाट
त्यही थालिमा
दाम, गाली र घृणा भरेर
निस्केको हुन्छ, शिवराम
सोमरसको खोजीमा ।

२. बिहानै,
चिम्सा आँखा मिच्दै
कुर्ता सलवारमा
सीता झैं सजिएर
हिडेकी हुन्छे, मेनका
पाठशालामा ।
सम्साँझै
पाठशाला–घर–बजार
सबैतिरबाट फर्केर
सीर्फ छालाका कपडामा
नाचेकी हुन्छे, मेनका
नाँगा डान्सबारमा ।

३. रात ननिख्रिदै,
झिसमिसे मै
ठेलामा राखेर सामल
भोक बेच्नको लागि
निस्केको हुन्छ, कर्मसिंह
चोक, चौतारी र चौरस्ताहरुमा ।
धेरै अबेरसम्म
ननिख्रिन्जेल बटुवा बाटोहरुमा
निख्राएर आफ्नो ठेला
पसिनाको पाइ पाइ हिसाब राखेर
रमेको हुन्छ, कर्मसिंह
परिवारसित डेरामा ।

Comments

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)