Skip to main content

यिनका नौटंकीले कम पीर पार्‍या छ ?

हाम्रो भविष्य सुनिश्चित छ त ः दुर्गम गाउँमा भेडा चराउँदै बालकहरू
गत वर्ष फाल्गुणको चीसो ठिहीलाग्दो समय ताका आधारभूत युवा तालिम लिन आउँदा उक्त तालिममा सहभागी एकजना नर्वेजियन साथीसँग कुरा हुँदै गर्दा मैले उसलार्इ सोधेको थिएँ - हैन तिमर्का कतिवटा राजनैतिक पार्टि  छन् हँ ? उसको पालो उसले भन्यो ‍- नर्वेजियन लेवर, प्रोगेश, कन्जरभेटिभ, सोसलिष्ट लेफ्ट, सेन्टर, क्रिश्चियन डेमोक्रेटिक र लिवरल पार्टी एकै सासमा सात वटा पार्टीको नाम भनि सिध्यापछि उसले मलार्इ सोध्यो - मेरो त थाहा पार्इहालिस तेरो देशको भन्न कति छन् ?
लौ, अब धर्म संकटमा पारिहाल्यो नी बजियोले । अब क्यार्नी होला ? 
अनि मैले शुरू गरेथेँ - "माओवादी, कांग्रेस, एमाले, मधेसी जन अधिकार फोरम, मधेसी जन अधिकार फोरम (लोकतान्त्रीक), तरार्इ मधेस लोकतान्त्रीक पार्टि, ने.क.पा. (माले) सदभावना, ने.क.पा. संयुक्त, नेपाल मजदुर किसान पार्टी ........" 
नाम भन्दै जाँदा मेरो पसिना चुहिन थालेपछि उसले मलार्इ रोक्दै सोधेथ्यो - "हैन् खास कतिवटा छन् तेरा देशमा पार्टी ?" अब कतिवटा भन्ने ? मलार्इ यति आपद परेको थियो कि त्यतिबेला मैले सानो स्वरमा उसलार्इ भनेथेँ ‌- "सरकार मात्र २२ दलको छ हाम्रो, तेराँ जस्तो दुर्इ‌/तीनटाले हुने हो र ?" ऊ केही बोल्न सकेन र मुखभरी बुझो लाएको बाख्राले झैं एकतमासले मलार्इ हेरिरहेथ्यो ।
आज त्यही साथीसँग फेसबुकमा भेट भयो, मेरो । 
उसले सोध्यो - "प्रधानमन्त्रीको चुनाव हुँदैछ भन्थिस् । भयो त प्रधानमन्त्री ?" 
"अँ प्रधानमन्त्रीको चुनाब त भयो देशले प्रधानमन्त्री पाएन ।" मैले जवाफ फर्काएँ । हुन त दुर्इ ठूला बामदल माओवादी र एमालेबीचको समझदारीले  केही आशा जगाएको पनि हो हेर्नुस मैले कुनै दिन लेखेको कुरो
"यो कतिपल्टको चुनाव रे ?" मुटुमै तीर हाने झैं गरी बिझायो उसको प्रश्नले । झनक्क रिस पनि उठ्याथ्यो - ह्या जतिपल्ट भएनी एल्लार्इ के मतलब ? तर के गर्नु ब्यक्त गर्न मिलेन, जवाफ दिएँ - दुर्इचार दिनपछि १ दर्जन पल्ट पुग्छ । 
अरू फेरि के के सोध्ला भन्ने पीरले म साइन आउट भर्इदिएँ । तर मनमा भने एउटा कुरो खेलिरह्यो, र्इ हाम्रा देशका नौटंकी भातमाराहरूलार्इ के नाटक देखाउनु परेको नी ? प्रधानमन्त्री छनोट नै नहुने भए यी सभासदहरू पनि किन जाँदा हुन् संविधानसभा भवनमा ? के खाले नाटक हो कुन्नी ? १०९ पक्षमा रे, ४६ जना तटस्थ रे अनि १ जना चाँहि विपक्ष रे । हैन के अचम्म हो यो ? १ जना मात्र विपक्ष हुँदा पनि फेरि चुनाव नजित्ने नियम । अनि ती तटस्थ बस्नेहरू फेरि किन जानु त्यहाँ ? हुन त काम नभए पछि के भयो र ? बैठक भत्ता २०० मरिहाल्छ, ट्याक्सी भाडा भनेर १५० पनि कम्ल्याउन पार्इहालिन्छ । तपाइँहरूलार्इ त के लायो कुन्नी ? सायद देशले प्रधानमन्त्री पाएन भन्नी नै लाग्या होला । तर मलार्इ त आज उपस्थित १५६ जना सभासदले ३५० को दरले बझ्दा हुन आउने रू.५४,६०० ले पो मुटु दुखायो । 

Comments

Popular posts from this blog

को नायक? खलनायक को ?

बुडापेष्टको एउटा बगैंचामा राता र सेता गुलाफहरूबीच रहेको एक मूर्ति मुनि बसेर गिटार बजाउँदै गीत गाउँदै गरेका एक बुढा बाजेलाई खल्ति रित्ताएर पैसा दिन मन भएथ्यो । मसँग खल्ती भरी रूपैयाँ थिएन्, बुढीमाउलाई २ यूरो मागेर उनलाई दिएँ ।  बुढा बाजेले जर्मनमा केहि बोले, मैले नबुझेको अड्कल गरेर होला, उनले सोधे अङ्ग्रेजीमा "ह्वेय आर यू फ्रम ?" "नेपाल" मैले भनेँ । "वाउ क्याट्मान्डु ? यू केम फ्रम क्याटमान्डु टु बुडापेष्ट?" उनले बडो उत्साहित हुँदै प्रश्न गरे ।  मलाई झुटो बोल्न प्रायः सकस पर्छ, यसैकारण, मैले सत्य बोलिदिएँ - "नो सर। इट इज नट लाइक द्याट, आइ लिभ इन हेलसिन्की डिस्पाइट विइङ्ग ए नेपाली ।" (होइन् नी महोदय त्यसो । मान्छे नेपालको भएपनि क्याटमान्डु नभै हेलसिन्की बस्छु, म ।) छोटो तर यादगार कुराकानीमा ती बुढा बाजे आफूले नेपालका अग्ला हिमालहरू सम्झिएर, मलाई चाँहि मेरो घर सम्झाए । मैले नबुझ्ने भाषामा मन छुने संगित भरेर ती बाजेले  पूर्ववतः   गीतको भाका हाल्न थाले । उनको गायकी र उनले झंकार निकालेको गिटारको धुन पर पर सम्म पुगिरहेथ्यो, मानिसहरू प्रायः फर्केर एकपटक उ...

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...