Skip to main content

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?”

“इज नेपाल अ गुड कन्ट्री टू लिभ?” केहि हप्ता पहिले कामबाट ट्राममा फर्कदै गर्दा कोसोभोको एकजना साथीले सोधेको थियो मलाई । संवादका क्रममा मैले ‘दुईचार वर्ष यतै (फिनल्याण्डमा) काम गरेर आफ्नै देशमा फर्कन्छु भन्दैगर्दा उसले राखेको जिज्ञासा थियो यो । र, त्यो साँझ उसलाई मैले उसले राखेको जिज्ञासाको प्रतिउत्तर दिन पाइँन कारण ट्रामबाट झर्नु र जेब्रा क्रसिङमा हरियो बत्ति बल्नु एकैपल्ट भो जसले गर्दा ऊ रेल भेट्न उत्तरतिर रहेको ट्रेन स्टेशन जान ओरालो कुद्यो, म बस भेट्नलाई पूर्वतिर उकालो चढेँ ।
 
मध्यशहर (सिटीसेन्टर) बाट मेरो निवाससम्मको
२५ मिनेटको बसयात्रामा उसको त्यो जिज्ञासा मेरो दिमागमा दिगमिग दिगमिग भैरह्यो ! जवाफ भेटिनँ । खाना खाएर एकछिन खबरहरु हेरेँ । प्रायः बिहान र साँझमा गरी म दुईपटक देशका खबरहरु हेर्ने गर्छु । त्यो साँझ त्यो दिनको मेरो दोश्रो कोटा पूरा गरेँ खबरहरु हेरेँ – नागरिकन्यूज, इकान्तिपूर, माइसंसार, अनलाइनखबर, सेतोपाटी अनि आफ्नै गाउँठाउँको खबर हेर्नलाई बेनीअनलाइनको वेभसाइट खोलेँ । दक्षिण एशियाली फुटबल च्याम्पियनसिपमा उपाधी चुम्ने लक्ष्यसहितको नेपाली टोलीको विशेष तयारी बाहेकको गर्व गर्न लायकको समाचार केहि भेटिनँ मैले ।
 
त्यो साँझ यता मैले बाढीले चिथोरेको गरिव नेपाली बस्तीको ब्यथा, बलात्कार, हत्या, बन्द, विरोध, भ्रष्ट्रचार, अनियमितता अनि ठगीका थुप्रै खबरहरु पढेँ । बिचमा नेपाली फुटबल टोलीको उत्कृष्ट प्रदर्शनीको खबरले निकै उत्साहित म नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको खबर पढेपछि खिस्रिक पर्न विवश बनेँ । कसम त्यो साँझ करोडौं नेपालीहरुको झैं एकदम विचलित र हतास मनस्थिती मेरो पनि भएको थियो । म सन्न भएको थिएँ त्यो साँझ । जब हामीले हाम्रै मैदानमा हामीले जित्दै आएको टोलीसँग खेल हार्नुपर्‍यो, त्यो निकै नै पिडादायी थियो ।
 
यसै बिचमा सहमतिको खिचडी नपाकिरहेको बेला सरकार गठन र चारदलीय संयन्त्रको राजनैतिक रवैयाका विरुद्धमा आन्दोलनरत भनिएका
३३ दलीय मोर्चाहरु सहमति नजिक पुगेको खबर पनि पढेँ । गोलमेच सम्मेलन गर्ने निर्णय भो भन्ने खबर पढेँ । मनमा आशा पलायो अब संविधान जारी गर्ने गरी संविधानसभाको निर्वाचन हुने भो भनेर मन आल्हादित भो । तीनदशकपछिको सुन्दर परिकल्पना गरी मैले लेखिरहेको उपन्यास बि.सं. २१०० को लेखनकार्य राजनैतिक अस्थिरताबिच एकवर्ष यता अगाडि बढाउन सकेको थिइन, राजनीतिक सहमति भएको खबर पढ्दाको साँझ थप तीन पृष्ठ लेखेँ । मनमा लागेको थियो – कि छिट्टै म मेरो कोसोभोको मित्रसामू “ह्वाइ नेपाल इज अ गुड कन्ट्री टू लिभ” विषयमा केहि प्रष्ट र विश्वसनिय आधारहरू प्रस्तुत गर्न पाउनेछु ।
 
गोलमेच सम्मेलन गर्ने सहमति भएको पर्सिपल्ट त्यो सहमति तुहिएको खबर पढेँ । मैले फेरि निराश बन्नुपर्यो । हुँदाहुँदा हिजो त यस्तो पनि खबर पढेँ कि बन्द अवज्ञा गरेको आरोपमा यात्रुवाहक बसमा आगजनी गरेछन् – कथित क्रान्तिकारीहरुले ! हे भगवान ! म एकपल्ट फेरि स्तब्ध भएँ हिजो । कस्तो ताण्डब मच्चाइरहेका हुन् यिनीहरुले ? परिवर्तनका नाममा हिजो
१७ हजारको बलि चढाउने यिनीहरु, ऐतिहासिक धरोहर, पुलपुलैसा, टेलिफोन टावर, प्रशासनिक भवन जलाउने पनि यिनैहरु, अब हुँदाहुँदा क्रान्तिको नाममा मान्छेहरुलाई जिउँदै बसमा जलाउन खोज्ने पनि उनैहरु ! उनीहरुलाई थुक्न मन लाग्यो, थुकेँ । खबर पढेपछि म शौचालय गएँ – उनीहरुको क्रान्तिको अगुवा भनिएको ख्याउटे बृद्ध र राजनैतिक सहमति गर्न नसक्ने दलका कथित शिर्षस्थ नेताहरु मैले दिशा गरिरहेको कमोटभित्र छन भन्ने परिकल्पना गर्दै पन्ध्र मिनेटसम्म दिशा पनि बसेँ । 

अहँ मैले मेरो कोसोभोको साथीलाई चित्त बुझ्ने गरी उसको सवाल, “इज नेपाल अ गुड कन्ट्री टू लिभ” को जवाफ दिनलाई कुनै त्यस्तो जवाफ भेट्टाउन सकेको छैन ! के मेरो परिवारका अन्य सदस्यहरु नेपालमै भएका आधारमा मैले नेपाल फर्किनु पर्ने हो ? के नेपाल मेरो जन्मभूमि भएकै कारण मैले मेरो देश बस्नयोग्य देश भन्नुपर्ने हो ? म सन्न भएको छु । हो, म बिलखबन्द भएको छु ! कठै मेरो हविगति ! बिचरा म नेपाली !

Comments

Popular posts from this blog

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

बोई, बार्ह वर्षमा खोलो किन फर्किएन् ?

हिजो भर्खर जस्तो लाग्छ, २७ औं वसन्तमा हिड्दै गरेको म विना कुनै योजना देश छाडेर परदेश हिडेको । आज १२ वर्ष नाघिसकेछ, परदेश भनिएको ठाम देशजस्तै अनि देश ठानिएको ठाम परदेशजस्तै भएको । मेरी बोइ भन्नुहुन्थ्यो, "बार्ह बर्षमा खोलो फर्किन्छ ।" बार्है बर्ष वितिसकेछन्, म मान्छे भएर होला सायद आफूले आएको बाटैबाटो घर फर्किन नसकेको ! बोइ नफर्किने गरी गएको पनि ५ वर्ष त नाघिसकेछ, सायद अझै हुनुहुन्थ्यो भने फोन गरेर म सोध्दो हुँ, - बोइ बार्ह वर्षमा खोलो कसरी फर्किन्छ ? सिकाइमाग्दो हुँ फर्किने सुत्र, शिरोपर गर्दो हुँ ती सुत्रहरू र लाग्दो हुँ ढोडेनीको पक्की पुल तरेर किनारै किनार तेर्सिएर घैयारासम्म अनि अलिकति माथि उक्लिएर हाम्रा जिजुको पालादेखिको हाम्रो स्थायी ठेगाना उही ढुंगेपाली टोलमा । छिर्दो हुँ आफ्नै मेहनतले बनाएको साढे दुई तले पक्की घरको दैलोभित्र ।           दिनहरू यस्ता पनि थिए, जहिले म कविताहरू लेख्ने गर्थेँ । मेरा कविताहरूमा देश छाड्नेहरूलाई स्वदेशमैं बस्नु भनेर आव्हान हुने गर्थे । अहिले म तीनै कविताहरूका पात्र बनेर आफैले बाँच्नु परेको परिस्थितीलाई पचाउने प्रयत्न गर्दै...

घामको आरती पनि घण्टी बजाएरै हुन्छ

पछिल्लो पल्ट ब्लगपोष्ट सार्वजनिक गरेपछि ब्लगै नलेखी बसेको पनि तीन महिना बितिसकेछ । एउटै काममा स्थिरतापूर्वक लागिरहने बानी कहिल्यै परेन मेरो ! यस्तो बेला म मेरा एक मित्रलाई बेस्सरी याद गर्छु । कतिपय ब्लगपोष्टमा उनको नाम मैले उल्लेख गर्दै आएको छु, उनी प्रत्येक पल्ट त्यसमा असहमत हुँदै भन्छ्न् - "ह्या बुढो मान्छे! मेरो नाम आफ्ना पोष्टहरूमा उल्लेख नगर्नुस् न यार ।" उनले जति भनेपनि मैले बेला बेला उनको नाम उल्लेख गर्न छाडेको छैन्, ती मेरा मित्र लक्ष्मी भन्ने गर्छन्, "Consistency is key."  बडो विस्मयको कुरा यो छ कि मेरो मित्रले कुनै बेला (सायद अहिले पनि) बडो आदर्श मान्ने नेता प्रचण्ड सम्भवतः अहिले सम्मको नेपाली राजनैतिक इतिहासमा सबभन्दा बढी अस्थिरताको आरोप लागेका नेपाली नेता हुनुपर्छ । 'यस्ता अस्थिरताका नायक नै आदर्श नेता मान्ने मेरा मित्रका मुखारबिन्दबाट सुनेको भएकै कारण मैले ब्लग लेखनमा स्थिरता कायम गर्ने प्रयत्न नगरेको हुँ' भन्ने मेरो स्वीकारोक्ति हैन् । बरू, मित्रले भन्दाभन्दै पनि उनको नाम उल्लेख गरिराख्ने स्थिरता मैले कायम गरेको छु, जस्तो प्रचण्डले अस्थिर हुने ...