एनआरएनए - नट रिप्लेशएबल अर नट एसेप्टेबल ? के बनाउने ?

                 हेलसिन्कीबाट ३७ किमी पर अरू डेढ दुई दर्जन नेपाली विधार्थीहरूले जस्तै भर्खर पढाई शुरू गरिरहेको मलाई यो देशमा पनि एनआरएनए भन्ने कुनै संस्था छ भन्ने थाहा थिएन । धरोधर्म, फिनल्याण्डमा गैर आवासीय नेपालीहरूको संस्था जिवित छ, वर्षमा दुईचार कार्यक्रमहरू गर्छ भन्ने कुरो मैले थाहा पाएको मुश्किलले साढे २ वर्ष भए होला । उसो त गैर आवासिय नेपालीहरूको संगठन (एनआरएनए) को २०१७ मा संसोधन हुनुपूर्वको विधानले तोकेको योग्यता अनुसार, २०१३ को मार्चसम्म म यस संस्थाको सदस्य बन्न योग्य गैर आवासीय नेपाली नागरिक थिएँ । 

                   म, यस संस्थाको सदस्य भएको हालै एक वर्ष मात्रै भएको छ । मेरो चिनजानका करिब ९० प्रतिशत फिनल्याण्डबासी नेपाली मित्रहरू यस संस्थामा औपचारिक रूपमा  जोडिसकेका छैनन । यो लेख तयार पार्दै गर्दा एनआरएनएको विश्वभरका राष्ट्रिय संघमा आबद्द सदस्यहरूको केन्द्रिय तथ्याङ्क भण्डारमा खोजी गर्दा फिनल्याण्डबाट मात्र ८३ जना यस संस्थामा आबद्द भएको पाएँ । परन्तु, करिब २ हजार ५ सय नेपालीहरूको बसोबास रहेको भनिएको यस देशमा रहेका नेपालीहरूबीच एनआरएनएको पहुँच किन कमजोर रह्यो त ? संस्थाको आसन्न निर्वाचनका बखत एनआरएनए फिनल्याण्डको कार्यशैली, कार्यसम्पादन, सङ्कुचित सञ्जाल लगायत विविध विषयमा बहसको शुरूवात गरिनु वेशै होला ।

१. संस्था सिमित घेरामा राख्न खोजिनू

उसो त विधान मै संस्थाको उद्देश्य शिर्षकको प्रारम्भ मै "विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराउने‍‍..." वाक्यांश उल्लेख गरिएको छ । तर फिनल्याण्डको हकमा यस उद्देश्यलाई प्राप्त गर्ने गरी कार्य सम्पादन गरिएको पाइएन । कुनै पनि औपचारिक या अनौपचारिक भेटघाटमा संस्थाको मुख्य पदमा रहेका मान्यवरहरूले आफूले देखे भेटेका सामान्य चिनजान भएका या नभएका कसैलाई पनि संस्थाको सदस्यता लिनका लागि आग्रह नगरेको धेरैको गुनासो रह्यो । हुन त, संस्थामा (क्रियाशिल) रहनुभएकाहरूलाई त्यसो भन्दा संस्थाले ब्यक्ति खोज्दै जाने हैन भन्ने पनि लाग्न सक्ला, तर त्यस्तो लागेको छ भने त्यो नीजको गलत बुझाई हो । संस्थाको संगठनको व्यापकताका लागि बागडोर सम्हाल्नेहरू नै बढि जिम्मेवार भएर लाग्नु पर्ने आवश्यकता रहन्छ । बरू, यसै पंक्तिकारले बेलाबखत एनआरएनएका क्रियाकलापहरूलाई विस्तार गर्दै धेरैभन्दा धेरै नेपालीहरू बिच पुग्नुपर्ने राय दिदा केहि पदाधिकारीहरूले घुमाउरो तरिकाले जवाफ दिदै बोर्ड मै आएर काम गर्नुपर्ने सुझाव दिए । तर अँह कहिल्यै पनि कसैले संस्थाको साधारण सदस्यता लिनका लागि एकपटक आग्रह सम्म गर्ने विनम्रता प्रस्तुत गरेनन । विगतदेखि नै सदस्यता वितरणका लागि आवश्यक पहलकदमी नलिने र सिमीत व्यक्तिहरू नै पदाधिकारी र कार्यसमितिमा सर्वसहमतिका नाममा दोहोरिने अवस्था रह्यो । 

२. नेपाली व्यवसायीहरूसँग सहकार्यको अभाव

हेलसिन्कीमा राम्रो व्यवसाय गर्दै आएका (हालै व्यवसायमा केहि नकारात्मक प्रभाव परेको भएपनि) नेपाली रेष्टुरेन्ट व्यवसायीहरूसँग संस्थाको आवश्यक सहकार्य, समन्वयको अभावका कारण संस्थाले संचालन गर्ने विभिन्न कार्यक्रम एवं संस्थाको भैपरी आउने खर्चको व्यवस्थापनका लागि प्रायोजनस्वरूप उपलब्ध हुन सक्ने नियमित आर्थिक स्रोतको जोहो गर्ने अवस्था निर्माण गर्न सकिरहेको छैन । बरू पछिल्लो घटनापछि संस्था र व्यवसायीहरूबीचको दूरी बढ्दै गएर आपसी विश्वासमा भिमकाय खाडल निर्माण हुने परिस्थिति निर्माण हुँदै गएको छ ।

३. कार्यक्रमहरूको अभाव

सामान्यतयाः एनआरएनए फिनल्याण्डको क्रियाकलापहरू यहि फिनल्याण्डमा रहेका नेपालीहरूको वृहत्तर विकास एवं उनीहरूले भोग्दै आएका विविध समस्याहरूका समाधानका लागि सघाउ पुग्ने गरी कार्यक्रमहरू बनाउने दिशातिर उद्यत भएको पाइँदैन । जस्तो कि कुलतमा फसेका युवाहरूलाई मद्दत पुग्ने खालका कार्यक्रम, त्यस्तै नेपाली कला,संस्कृति महत्व बुझाउने कार्यक्रमको अभाव । अझ, भर्खर उच्च शिक्षाका लागि फिनल्याण्ड आएका या अध्ययनरत विधार्थीहरूबिच त एनआरएनए फिनल्याण्ड नपुगेको मात्र हैन पुग्ने कोशिस सम्म नगरेको व्यापक जन गुनासो रहेको छ। 

अबको बाटो ?

मेरो ब्रम्हले देखेका मुख्य समस्याहरू माथि उल्लेख गरिसके, अतः हामीबिच एउटा यक्ष प्रश्न छ - अबको बाटो के हुनुपर्छ ? यसमा मेरो अति सामान्य जवाफ छ, आसन्न निर्वाचनमा निर्वाचित भएर जाने समूहले यी उल्लेखित समस्या समाधानका लागि पहलकदमी लिने । हुन त मुख्य पदहरूमा नै निर्वाचित भएका केहि मान्यवरहरूले बिजयको झोंकमा निकै आदर्शका गुड्डी हाँकेर दुई, तीन पटक मात्र बैठकमा उपस्थित भैं दुई बर्षको स्वर्णीम समय त्यसै खेर फालेको इतिहास पनि यहिँको एनआरएनएसँग सुरक्षित रहेको कुरा अहिले स्मरण गराउनु उपयुक्त नै होला । अन्त्यमा, निर्वाचनमा सरिक सबै उम्मेदवारहरूलाई एउटा ब्रम्हज्ञान मिलोस् - एनआरएनए जस्तो संस्थालाई आफ्नो फुर्सदको समयको प्रयोग गर्ने थलो नभै फुर्सद निकालेर समाज सेवा गर्ने संस्थाको रूपमा विकास गर्ने ब्रम्हज्ञान मिलोस्, हामी सबैको आशीरबाद छ । 

Comments

Bishnu said…
Great article dada keep it up. Aagami din haru ma pani yastai. Lekh rachana haru ko aapekshya rahane Cha.
Nirajan Thapa said…
मीठो प्रतिक्रियाका लागि हार्दिक धन्यबाद भाई । यस्तै माया र सदभाव रहिरहोस् । सप्रेम !

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)