ह्यानिबल क्लव, युवतीहरु र अनियन्त्रित मन – (अन्तिम भाग)



“ह्या कस्ता झारे केटीहरु मात्र आ’का होलान् !” केहि साथीहरु नमिठोसँग आफ्नो तिक्तता पोखेर क्लबबाट बाहिरिए । त्यसपछि त्यहाँ हामी चारजना मात्र रह्यौं । साथीहरु वियरले भरिएको ठूल्ठूलो तीन गिलास र अर्को चाँहि कोकको गिलास समातेर एक कुनामा थुप्रिएका थियौं । रंगीबिरंगी प्रकाशले वातावरणलाई अलिकति रोमाञ्चक पनि बनाईरहेको थियो । तर, हामीले पूर्वानुमान गरे झैं त्यहाँ वैंशले उन्मत्तभएका नवयौवनाहरुको उति बाक्लो उपस्थिति थिएन । जसकारण मध्यरातमा ०० बजेर २५ मिनेट जाँदा हामीलाई छाडेर हामीसँगै आएका केहि थान साथीहरु अर्को क्लबमा गएका थिए । हुन त बाँकी रहेका दुईतीन जना हामी पनि उनीहरुसँगै जान खोजिरहेका थियौं अपितु एकजना साथी दुई फिनिस तरुनीहरुसँग दुईचार बात गर्नका लागि संघर्षरत देखिए । त्यसकारण पनि मध्यरातमा उनलाई एक्लै छाडेर हामी त्यहाँबाट निस्कनु उचीत लागेन । बरु, चढ्दो रातसँगै बढ्दो युवतीहरुको आगमनमा अझ अरू उत्साहित हुँदै त्यहि रहनुमा उचीत ठान्यौं । र, त्यहि बस्यौं । 
साथीहरु अलिकति लाखापाखा लागिसकेपछि, मलाई पनि सजिलो भयो – उनीहरुलाई झैं । आँखा चारैतिर दौडाएँ – केहि जोडिहरु देखिन्थे । प्रायः आलिङ्गनमा बाँधिएका वा चुम्बन साटासाट गरिरहेका । एउटा कुनामा अर्को विजोग देखेँ – दुई जोडी युवतीहरु चुम्बन वर्षा गरिरहेथेँ । उनीहरुको व्यवहारले विज्ञानलाई चूनौति दिदैथियो – विपरीत लिङ्गीप्रतिको आकर्षणको सिद्धान्त ‘पूरापुर फ्लप’ थियो त्यसबखत मैले एकतमास हेरिहेको त्यो कुनोमा ! थकथक पनि लाग्यो – यी समलिङ्गी हुन्थेनन् भने त कम्तिमा पनि चारजना अरु युवाहरु “डान्सिङ फ्लोर” मा सायद उनीहरुकै हात समातेर नाचिरहेका हुँदा हुन (त्यसमा एक म पनि हुँदो हुँ !) त रात अझ कति रंगीन बन्थ्यो होला ? “भैगो यी कल्पनाका कुराहरू के गर्नु ?” यस्तो लागेपछि मेरो ध्यान पूरापूर नृत्य गरिरहेका केहि थान जोडिहरुमै निरन्तर ठोक्किरह्यो ! विशेषगरी, त्यहाँ बेमज्जासँग नाचिरहेकी एक युवतीले मेरो शतप्रतिशत ध्यान आकृष्ट गरिरही । उसको नृत्यको म यहाँ बख्यान गर्न समर्थ छैन । उसले यति विमुक्त नृत्य गरेकी थिई संगीतको तालमा उसको मुन्टो घुमाई हेर्नलायकको थियो । ऊ सारै नै मातेकी थिई । उसको साथमा दुईजना युवाहरु पनि थिए – एउटा मोटोमोटो, अर्को चाँहि लिखुरे अनि चश्मा लगाएको । तर ऊ विशेषगरी लिखुरेकै हातमा झुण्डेकी देखिन्थी । आफ्नो लेडिज ब्याग घरि आफू बोक्थी, घरि त्यही लिखुरेलाई दिन्थी । लिखुरे चाँहि ब्यागमा घाँटीमा त्यो तरुनी ब्याग भिरेर आफ्नै तालमा नाचिरहन्थ्यो । बेलाबेलामा तरुनी आफ्नो उदात्त वक्ष टेबलमै जोतिने गरी केहि मान्छेहरु छेऊ उनीहरुलाई तान्न पुग्थी । यसरी ऊ तीनजना ठिटाहरुकोमा पुगेको मैले देखेँ । ती मध्ये एकलाई उसले कसैगरी नाच्ने ठाउँसम्म ल्याउन सफल भईने । दुईजना चाँहि ऊसँग नाचे । तर त्यो लिखुरे केटोले केहि प्रतिक्रिया जनाएन । ऊ आफ्नै तालमा नाचिरह्यो । हाम्रोमा जस्तो स्वामित्वको विषय नहुँदा रैछन् यहाँ – प्रेमिकाहरु, श्रीमतीहरु ! आफ्नो मनलाग्दी गर्न सबैलाई छुट छ । तर त्यसले अरुलाई खलल् पुर्‍याउनु भएन ! 
“हन्टिङ” सामन्यतयाः यस्तै भनिन्छन् – क्लबहरूमा गएर एक रातका लागि केटीले केटा वा केटाले केटी खोजिने कामलाई । धेरै जना यसै हेतू त्यहाँ पुग्ने गर्दा रहेछन् । तर त्यस रात हामी साथीहरू चाँहि त्यहाँको क्लबको रात्रीजीवन अनुभव गर्नका लागि पुगेका थियौं । यो बाहेक हाम्रो कुनै लुप्त चाहना थिएन । किन्तु, मौका मिलिहाले नछाड्ने हामीमध्ये केहीको मनशाय पनि थियो होला । तर यहाँका युवतीहरुको पहिलो रोजाईमा अफ्रिकीहरु पर्दा रहेछन् ! कारणहरु धेरै हुन सक्लान । प्रायः नेपाली विधार्थीहरु चाँहि फिनिस केटीहरुको रोजाई अफ्रिकीहरु हुनुमा एउटै कारण औंल्याउँछन् जुन उनीहरुकै हिनताबोधको द्योतक हो भन्नेमा म पूर्ण विश्वस्त छु । तर ह्यानिबलमा त्यस्तो भएन । कि तिनीहरु आफ्नै केटाहरु थिए, वा कि उनीहरु ‘त्यो’ मनशायका साथ त्यहाँ आएका थिएनन् । त्यसैले पनि हुन सक्छ, बिहानीको डेढ बज्दै गर्दा सम्म हामी चारजना मध्ये तीन जना कोक वा वियरको चुस्की लिनमै मस्तै थियौं । एकजना मित्र चाँहि झुमिरहेथेँ – एउटी किशोरी वयकी केटीसँग ! त्यो केटीसँग उसकी अर्की संगी पनि थिई । मलाई जाउँ जाउँ लागेको थियो, तर मञ्चमा उक्लने हिम्मत जुटाउन सकिरहेको थिइँन ।
वाइनले पूरै ध्वस्त भएकी तरुनी केटीलाई उसको लिखुरेले तान्दा तान्दै भुइँमा ढली । र, अगाडि ढल्दा खेरी जस्तै यो पटक पनि ऊ आफै उठी । ऊ उठ्ने र म नाच्ने ठाउँमा पुग्ने करिबकरिब एकैपटक भो । मेरा साथीसँग कुरा गरिरहेकी युवतीको साथीसँग मैले परिचयको हात बढाएँ । मैले भनेको नाम उसले सुनी कि नाइँ, उसले एउटा नाम त भनेकी थिई त्यो मैले सुनिनँ । मैले अङ्ग्रेजीमा उसलाई मसँग नाच्छे कि भनेर सोधेको थिएँ, उसले बुझिने र फिनिसमा भनी – “मिता (के)?” उसले मसँग नाच्नलाई उति चाख देखाईने र त्यहाँबाट अलप भई म पूर्ववतः मसँगै बाँकी रहेका मेरा दुईथान साथीहरु नेर पुगे । उनीहरुले केहि सान्त्वना प्रकट गर्न बिर्सेनन् । म चुप बसेँ ! घडिले बिहानको सबा दुईबज्दै थियो – हामी तीनजना एउटा कुनामा बसेर साथीलाई चिहाईरहेका थियौं – ऊ घरि युवतीसँग नाच्थ्यो त घरि कानै नेर मुख जोडाएर ख्वै केके गुन्गुनाईरहेको जस्तो देखिन्थ्यो – एकदमै ईश्र्या लाग्दो तरिकाले !

Comments

Laxmi said…
Dami chha, tara malai hamro guru le yasto hunting garnuhunchha jasto laageko thiyena ;)

Popular posts from this blog

क्लोरिनको झोल, वैज्ञानिकहरू र मेरी बोइकी मुड्की

नांगो नाच, यौनधन्दा र राजधानी

एउटा सग्लो रात(कथा)