Skip to main content

फिनल्याण्ड झर्दा बित्तिकै के गर्ने होला ?


विधार्थी प्रवेशाज्ञा (स्टुडेन्ड भिजा) मा फिनल्याण्ड आउँदै गरेकाहरूका लागि केहि उपयोगी जानकारीहरू बुँदागत रूपमा तल प्रस्तुत गरेको छु ।

👶 के मैले नगदमा युरो लिएर आउनु उचित होला ?

👦फिनल्याण्डको चलनचल्तिको मुद्रा युरो भएकाले केहि सय युरो नगदमा लिएर आउनु उपयुक्त हुन्छ । यसो गर्दा बैंक ड्राफ्ट नसाटिन्जेलसम्मको लागि दैनिक रूपमा उपभोगका सामाग्रीहरू किनमेल गर्न सजिलो हुन्छ । 


👶 मोबाइल सिमको लागि के गर्नुपर्ला ?

👦 युरोपभर नै मोबाइल फोनको सीम पाउनु एकदमै सहज छ । विना कुने झन्झट चकलेट या हल्का पेय पदार्थ किने झैं बस्तुको रूपमा यहाँ मोबाइलको सीमकार्ड प्राप्त गर्न सकिन्छ । फिनल्याण्डको हकमा विमानस्थलमा झरेपछि विमानस्थलभित्रै R- Kioski नामको पसलमा सजिलै प्रिपेडसीम प्राप्त गर्न सकिन्छ । यस्तो सीम प्रायः दुइ खालको हुने गर्छन । एउटा नेटमात्र चलाउन मिल्ने सीम, अर्को फोन पनि गर्न मिल्ने फोन । अतः फोन पनि गर्न मिल्ने सीम लिनु ठीक होला । जसको मूल्य पाँचसात युरोभन्दा बढी पर्दैन । पोस्टपेड सीमको लागि फिनल्याण्डमा कम्तिमा २ बर्षदेखि बसेको हुनुपर्छ । अतः आफ्ना चिनजानका तपाइँलाई विश्वास गर्ने (तपैंले विश्वास आर्जन नगरेको अवस्थामा नहुन सक्छ) ब्यक्तिको नामबाट समेत यस्तो सुविधा लिन सकिन्छ । नेपालमा NTC, Ncell जस्तै यहाँ Telia, DNA, Elisha, Moi नामका दुरसंचार कम्पनीहरू छन । मैले धेरै समय टेलियाको सीम चलाए, हाल डिएनएको चलाउँछु । 

👶 बिमानस्थबाट म पुग्नु पर्ने ठाउँसम्म कसरी पुग्ने ?

👦 सामान्यतयाः हेलसिन्की क्षेत्रमा रहेका कलेज एवं विश्वविधालयहरूमा अध्ययनका लागि आउनेहरूका लागि यो त्यति कठीन अवस्था हैन । तर अन्यको हकमा चाँहि तयारी आवश्यक पर्नसक्छ । सबभन्दा उपयुक्त, फिनल्याण्ड आउनुपूर्व आफूले चिनेको कोही हेलसिन्की, भान्ता या एश्पो क्षेत्रमा बस्ने कोही छन की भनेर पूर्व जानकारी लिइ उनीहरूलाई सम्पर्क गरेर एक या दुई रातका लागि उनीहरूसँग बस्ने प्रबन्ध मिलाउन सके राम्रो । यदि कोही चिनजानमा छैन भने यहाँ बसोबास गर्नेहरू पनि रहेको विभिन्न फेसबुक समूहहरूमा कसैले एक रात बास दिन सक्छ कि भनी सोधखोज गर्दा वेश हुन्छ । यसले गर्दा नेपालबाट आउँदा बित्तिकै यहाँ कोही पनि चिनजानमा नरहेकोले हुनसक्ने होमसिकनेशको अवस्था हुँदैन । साथै, फिनल्याण्ड बसोबास गर्दा के कस्ता व्यवहारीक कुराहरू हुँदा रहिछन् थाहा पनि हुन्छ । यदि, कसैलाई हैन म सिधैं आफ्नो गन्तब्यमा जान्छु भन्ने लाग्छ भने त्यसका लागि विमानस्थलबाट दुईवटा रेल हेलसिन्कीका लागि छुट्छन् । ती दुई फरक बाटा भएर हेलसिन्की सेन्ट्रलमैं पुग्छन् । P र I नामका ती रेलहरूमा चढेर तपाइँ हेलसिन्की सेन्ट्रल या Pasila पासिला भन्ने स्थानमैं झर्न सक्नुहुनेछ । जहाँबाट विभिन्न शहरहरूमा जाने रेल चढ्न सकिन्छ । रेल चढ्नु अगाडि तपाइँसँग रेलको टिकट हुनु जरूरी छ । नत्र ८० युरो अर्थात नेरू ११ हजार २ सय (१ युरो बराबर नेरू १४० को विनिमय दर) जरिवाना तिर्नुपर्ने हुन्छ । 

👶 रेलको टिकट कसरी, कहाँ काट्ने ?

👦 रेलको टिकटका लागि प्रायः सबै रेल स्टेशनहरूमा टिकट मेशिनहरू हुन्छन् (तल चित्रमा हेर्नुस्) जहाँबाट सजिलै आफ्नो गन्तव्यसम्मको टिकट लिन सकिन्छ । विमानस्थलबाट हेलसिन्की या पासिला पुग्नलाई ABC zone को टिकट लिनुपर्छ, जसको मूल्य ४ यूरो १० सेन्ट पर्छ (नेपालीमा कति पर्छ हिसाब गर्नु भो ? केहि छैन शुरू शुरूमा यस्तो हुन्छ । बिस्तारै बानी पर्छ ।) तपाइँसँग खुद्रा नोट ५, १०, २० को भयो भने गज्जप । नत्र शुरूमा ५०, १०० को नोट छ भने R-Kioski मा सीम किनेपछि चानचुन फिर्ता आउँछ, त्यो पैसा टिकट किन्न काम लाग्छ । यदि तपाइँलाई कता कता जाँदा के कस्तो तरिकाले यात्रा गर्नुपर्ने रहिछ भन्ने थाहा पाउनु मन लागेको छ भने यहाँ क्लिक गर्नुस् ।  
लामो दुरीको रेल सेवाको लागि अनलाइन टिकट लिंकबाट  टिकट लिन सकिन्छ । टिकटको शुल्कका लागि फिनिश बैंकको कार्ड मात्र प्रयोग गर्न मिल्ने भएकाले उत्तम उपाय आफ्नो चिनजानको कसैलाई अग्रिम टिकट लिन लगाउनु वेश हुन्छ । उदाहरणका लागि Pasila बाट Jyväskylä को रेलको टिकट भोली मिति १७ अगस्ट २०२१  र अर्को दिन १ सेप्टेम्बर २०२१ मा टिकटको मूल्य तुलना गर्दा यस्तो देखिन्छ । 
Snapshot of train's ticket prices taken on 16.08
छोटो समयमा टिकट लिनु अलि महंगो पर्न जाने यी स्न्यापसटहरूबाट नै देखिन्छ । माथिको मूल्य केहि घण्टा अगाडि लिदा खेरी पर्न जाने मूल्य सूची हो भने तलको टिकटको मूल्य चाँहि करिब आधा महिना पहिले नै टिकट लिदा पर्ने मूल्य हो । हुन त विद्यार्थिका लागि अलि सस्तोमा टिकट पाइने भएता पनि नेपालबाट आउने बेलामा बिधार्थी परिचयपत्र साथमा नहुने हुँदा वयस्क (Adult) वाला टिकट लिनु पर्ने हुन्छ ।

Snapshot of train's ticket prices taken on 16.08

👶 मैले थाहा पाउनुपर्ने अर्को व्यवहारिक कुरो केहि छ ?

👦 अवश्य । नेपालबाट भर्खर भर्खर आएका नेपालीहरूलाई पहिलेदेखि नै यहाँ बसेका केहि नेपालीहरूले ड्राफ्ट साटेको थाहा पाएपछि केहि रकम सापट माग्ने र कतिले फिर्ता नदिने, सम्पर्कविहीन हुने र कतिले चाँहि एकदमै झुलाएर पछिमात्र पैसा फिर्ता गर्ने भएको घटनाहरू सुन्नमा आएका छन । अतः दुईचार दिनको चिनजानको भरमा कसैसँग पनि आर्थिक कारोबार नगरेको नै वेश । 

फिनल्याण्डमा जागिर कसरी खोज्ने भन्ने बारेको ब्लग पढ्न यहाँ थिच्न्रुस् 

फिनल्याण्डकाबारे रमाइला कुराहरू बारेको ब्लग पढ्न यहाँ थिच्नुस्

फिनल्याण्डमा पहिलो पटक क्लब जाँदाको मेरो अनुभवबारे यहाँ पढ्नुस्

Comments

लोकप्रिय पोष्टहरू

अनि रोशन भाइले टिपेछन् ६ बाल्टिन बेरी

गएको साल, हेर्दै कलिला देखिने दुई जना ठिटाहरू तिक्कुरिला रेल बिसौनीको कुनामा मस्त चुरोटको पफ लिदैं गरेका बेला, "भाइहरू नेपाली हो ?" भनेर मैले सोधेको थिएँ । मेरो प्रश्न भुँइमा झर्न नपाउँदै, आफूले तान्दै गरेको चुरोट आफ्नो साथीलाई दिदैँ, झन कलिलो देखिने ठिटोले भनेथ्यो, "हो दाई । कसरी पो ठम्याउनु भो ?"  दुई फरक मुहारको बनोट लिएका मानिसहरू सँगै बसेर एउटै चुरोट तान्दैछन् भने ती पक्कै नेपालीहरू हुनुपर्छ, त्यसमाथि तिमीहरू नेपाली मैं बातचित गर्दै थियौ नी त । मेरो जवाफ सुनेपछि त्यो ठिटोले कपाल कन्याउँदै भनेथ्यो, "हाउ दाजु पनि, सारै मजाको पो हुनुहुदोँ रहिछ !" मैले बात मार्न खोज्दा, निसंकोच बात मार्न खोज्ने ठिटो त पूर्वतिरको लिम्बु भाइ रहेछन् । अनि खासै बात मार्न नचाहने चाँहि रहिछन् - काठतिरका बाहुन भाइ ।  त्यो दिन ती भाइहरू हेलसिन्कीबाट सवा घण्टाको रेल यात्रामा पुगिने ठाउँबाट काम पाइने आशामा साथीलाई भेट्न आएका रहेछन् । आफूलाई भेट्न निम्ता दिएको साथीसँग भेट  नभएपछि  कामको खोजीमा हेलसिन्की झरेका उनीहरूलाई  आफू बस्ने ठाउँतिर फर्कने क्रममा मैले भेट्न पुगेको थिएँ । छोटो भ...

घर कहाँ हो दाजुको ?

अन्तिम पटक ह्वाट्स एपकलमा तेर्ह मिनेट कुराकानी भएको ठ्याक्कै तीन महिनापछि ह्वाट्स एपमा तिमीलाई मेरो पछिल्लो ब्लग पोष्टको लिंक साझा गरेथेँ, करिब तीन हप्तापछि आजै बुनेले मीठो टिप्पणीसहितको सन्देश प्रवाह गर्ने क्रममा अम्रिकाबाट सोधी पठायौ, "Dai, I have a question, where is home? Nepal or Finland?" सायदै बुने तिम्रो प्रश्न यत्तिमै मात्र सक्किन्थ्यो भनेपनि मैले सजिलै भनिदिन सक्थेँ होला जसरी हाम्रै म्याग्दीका लोकगायक खड्ग गर्बुजाले आफ्नो ' पिरती ' एल्बमको एक गीतमा सोध्दा प्रश्न, "घर कहाँ हो मायालु?" कति सजिलै जवाफ दिएथीन् गायिकाले, "हिमालको काखैमा ।" तर तिम्रो प्रश्नमा जवाफ मात्र दिएर पुग्थेन्, त्यसले अन्तःस्करणको भाव पनि जान्न चाहन्थ्यो किनकी त्यसमा तिमीले थपेर पठाएथ्यौ - "What is your feeling since you've lived so many years in Finland?" म फिनल्याण्ड टेकेको वर्षदिन पनि त पुगेको थिएन् जतिबेला सन् २०१३ को हिउँदमा फिनल्याण्डमा मलाई पहिलो कामका लागि भनसुन गर्दिनुभएका दाजु राजन सुवेदीले, तिम्रो जत्तिकै गम्भीर त होईन् तर सिधा प्रश्न गर्नु भएथ्...

खाल्डोमा गाडी, जेलमा साथीः एक आत्मसंवाद

सधैं पुगिरहेको गन्तव्य थियो । गन्तव्यमा गुगल म्याप्सले सिफारीश गरेको बाटो भएर जाँदा मैले हठात गाडी मोड्नुपर्ने अवस्था बन्यो । हतपत गाडीलाई पार्किङमा छिर्ने बाटोतिर छिराउँदा, मैले हाँकेको गाडीको भाग त्यस बाटोको छेउमा कम, बाटोको छेउतिरको खाल्डोमा बढी पर्न जाँदा पछाडिको एउटा पाङ्ग्रोले भुँइ छाडेको विचित्रको स्थितिमा पुग्यो । यो आजैको घटना हो, केहि घण्टा अगाडिको । मलाई कुनै चोटपटक लागेन । गाडीमा विशेष क्षति पनि भएन । तर गाडीलाई त्यस विचित्रको स्थितीबाट बाहिर ननिकाल्दासम्मको मेरो जीवनको त्यो पूरा १ घण्टा १५ मिनेटले मलाई केहि विशेष ज्ञान भने अवश्य दिलायो ।  म जुन विचित्रको स्थितीबाट गुज्रिएर अहिले यो ब्लगपोष्ट लेख्तैछु, सम्झनामा मेरा केहि चिनजानका र केहि घनिष्ट मित्रहरूको तस्बीर एकतमास मेरो दिमागमा घुमिरहेको छ जो केहि समय अगाडिदेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । के ति मेरा साथीहरूले पनि यस वयमा जुन स्थितिको सामना गरिरहेका छन् त्यसका बारे दैनिकी लेख्दै होलान् ? थाहा छैन्, कसले कहिलेदेखि सहकारीमा जम्मा हुन आएको बचतकर्ताको रकमलाई मनोमानी तवरले आफ्नो नीजि लाभको लागि प्रयोग...

मेरो एउटा साथी छ (हुनुहुन्छ)

 " नीराजन, मेरो बेस्ट फ्रेन्ड हो ।" जन्मेर २६ वर्ष बिताएको देश नेपालमा मलाई यस्तो भन्ने कोही थिएन् । तर यतै फिनल्याण्ड आइपुगेपछि,  मलाई यस्तो भन्ने एक जना भेट्टिएकी थिइन् ।  जोसँग बसेर एकै कप चिया वा कफि पिएकै थिइँन्, मैले । मनभरीका बह न मैले उनीसँग केहि पोखेकै थिएँ, न त उनले विशेष केही त्यस्त्तो साझा गरेकी थिइन् मसँग । तर मलाई चिन्ने र मसँग सम्पर्कमा रहेका धेरै साथीभाइसँग उनले सुनाउन बिर्सेकी रहिन्छिन् कि निराजन उनको बेस्ट फ्रेन्ड हो ।  यो पढ्दै गर्दा यहाँलाई लाग्ला, कि आफूलाई बेस्ट फ्रेन्ड बताउने साथीका सम्बन्धमा लेख्ता पनि यसले किन भूतकालको प्रयोग गर्यो ? प्रश्न स्वभाविकै हो तर मेरो जवाफ अलिकति अस्वभाविक लाग्न सक्ला यहाँलाई । कि मलाई बेस्ट फ्रेन्ड भन्ने उनको, खासमा म  फ्रेन्ड पनि थिइँन् । न उनी थिइन्, मेरो कुनै त्यस्तो विशेष मित्र । बस्, हाम्रो सामान्य चिनजान मात्र थियो । केहि मानिसहरू हुँदारहेछन्, जो सामान्य चिनजानलाई मित्रताको नाम दिदाँरहिछन्, उनले जस्तै । अनि कोही यस्ता पनि हुँदा रहिछन् कि जोसँग हामी विशेष सामिप्यतामा भएको ठानेका हुन्छौं, तर उनीहरूका ...

अनि मलाई खुबै राजनीति लाग्छ ...

कहिले काही मैले फोकस गुमाएको जस्तो मेरा नजिकका प्रिय मान्छेहरूले महशुस गर्नुहुन्छ ।  राजन दाईले अस्ति फोन गरेपछि पो झल्याँस्स भएँ । वहाँको गुनासो मिश्रित प्रश्नले सिधै मेरो दिमागमा झड्का दिन पुग्यो, दाईसँग खास घुलमिल नभएकाहरूलाई चाँहि वहाँको प्रश्नले दिमागमा हैन् सिधैं मुटुमा हान्न सक्छ । वहाँका प्रायः प्रश्नहरू तारा खेलमा निशाना लगाउन प्रयोग हुने वाण जस्तो सिधा र तिखो हुन्छन् । जस्तो मेरो दिमाग मैं झङ्कार लेराउने प्रश्न थियो वहाँको,  "हैन पाक्षिक रूपमा ब्लग अद्यावद्यिक (अपडेट) गर्छु भन्या हैन् ? एक महिना पुग्न लाग्यो त सर !"    मलाई व्यंग्य गर्नुपर्दा दाइले सर भन्नुहुन्छ, अनि वहाँलाई चाहिँ म भन्छु, साहुजी । यत्तिमा मात्र दाजुको प्रश्न सिमित हुन्थ्यो भने, सायदै म आजको यो ब्लग लेख्न बस्थेँ । तर वहाँको प्रश्नसँग व्यंग्यमिश्रित सानो जिज्ञासा पनि थियो, "खुबै चुनाव लाग्या छ हैन् तिमीलाई !?" यो जिज्ञासामिश्रित व्यंग्य हो या व्यंग्य मिसिएको जिज्ञासा । या यो जिज्ञासा हुँदै नभएर केवल व्यंग्य मात्र थियो । तर जेहोस् यो केहि न केहि चाँहि पक्कै थियो ।  खुबै चुनाव लाग्ने आफत ...